श्रीलङ्काको पुनरागमनदेखि भियतनामको निर्यातसम्म: ५ देश उच्च-मध्यम आयकाे सूचीमा उक्लिँदा कहाँ छ नेपाल ? « Arthapath.com
२१ असार २०८३, आइतबार

श्रीलङ्काको पुनरागमनदेखि भियतनामको निर्यातसम्म: ५ देश उच्च-मध्यम आयकाे सूचीमा उक्लिँदा कहाँ छ नेपाल ?



काठमाडौं । विश्व बैंकको पछिल्लो देशगत आय वर्गीकरणमा श्रीलङ्का, भियतनाम, फिलिपिन्स, जोर्डन र माइक्रोनेसिया ‘निम्न-मध्यम आय’ भएका अर्थतन्त्रबाट ‘उच्च-मध्यम आय’ भएका देशको सूचीमा उक्लिएका छन्।

यस्तै, अफ्रिकी मुलुक टोगो ‘निम्न आय’ समूहबाट ‘निम्न-मध्यम आय’ समूहमा स्तरोन्नति भएको छ। यस वर्ष कुनै पनि देशको आय वर्गीकरण तल झरेको छैन भने नेपाल र छिमेकी बङ्गलादेशको वर्गीकरण भने यथावत् रहेको छ।

विश्व बैंकले जुलाई १ मा सार्वजनिक गरेको वार्षिक आय वर्गीकरणअनुसार यी परिवर्तनहरू सन् २०२४ को प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) लाई एटलस विधिबाट गणना गरेर गरिएको हो।

विश्व बैंकले हरेक वर्ष जुलाईमा अघिल्लो क्यालेन्डर वर्षको प्रतिव्यक्ति कुल राष्ट्रिय आयका आधारमा विश्वका २१८ अर्थतन्त्रलाई निम्न आय, निम्न-मध्यम आय, उच्च-मध्यम आय र उच्च आय गरी चार समूहमा वर्गीकरण गर्ने गर्दछ। यही वर्गीकरण विकास सहायता, सहुलियतपूर्ण वित्तीय सहयोग तथा अन्तर्राष्ट्रिय आर्थिक विश्लेषणका लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

विश्व बैंकका अनुसार यस वर्षको मूल्याङ्कनले देशहरू माथिल्लो आय समूहमा पुग्ने बाटो एउटै नहुने स्पष्ट पारेको छ। कतिपय देश तीव्र आर्थिक वृद्धिका कारण माथि उक्लिए भने केही देशमा राष्ट्रिय खाताको पुनरावलोकन, जनसङ्ख्या तथ्याङ्कमा भएको परिवर्तन वा विनिमय दरको प्रभावले पनि वर्गीकरण परिवर्तन गराएको छ।

भियतनामको स्तरोन्नति निरन्तर निर्यातमुखी आर्थिक नीतिको प्रतिफल मानिएको छ। सन् २०२४ र २०२५ दुवै वर्षमा यसको निर्यात १५ प्रतिशतभन्दा बढीले बढेको थियो भने अर्थतन्त्र क्रमशः ७ र ८ प्रतिशतले विस्तार भएको थियो। सन् २०२१ देखि २०२५ सम्म प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक औसत १० प्रतिशतले बढ्दै जाँदा भियतनाम एसियाकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थतन्त्रमध्ये एक बनेको विश्व बैंकले उल्लेख गरेको छ।

फिलिपिन्सले भने कुनै एक क्षेत्रमा मात्र निर्भर नभई फराकिलो आर्थिक विस्तारका आधारमा उच्च-मध्यम आयको सूचीमा प्रवेश गरेको हो। उत्पादनमूलक उद्योग, सेवा क्षेत्र तथा अन्य प्रमुख आर्थिक गतिविधिको बलियो प्रदर्शनका कारण विगत पाँच वर्षमा फिलिपिन्सको अर्थतन्त्र औसत ५.८ प्रतिशतका दरले विस्तार भएको थियो। यही निरन्तर वृद्धिले प्रतिव्यक्ति आय बढाउँदै विश्व बैंकको उच्च-मध्यम आयको मापदण्ड पार गर्न सहयोग पुर्‍याएको हो।

श्रीलङ्काको स्तरोन्नति सबैभन्दा उल्लेखनीय मानिएको छ। सन् २०२२ मा गम्भीर विदेशी मुद्रा सङ्कट, ऋण संकट र आर्थिक अव्यवस्थाका कारण टाट पल्टिने अवस्थासम्म पुगेको श्रीलङ्काले तीन वर्षभित्रै उल्लेखनीय पुनरागमन गरेको हो। औद्योगिक गतिविधिमा सुधार, पर्यटन क्षेत्रको पुनर्जीवन, वित्तीय सेवाको विस्तार तथा आर्थिक स्थिरताले सन् २०२५ मा श्रीलङ्काको आर्थिक वृद्धि ५ प्रतिशत पुगेको थियो। यही सुधारसँगै प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर देश उच्च-मध्यम आयको समूहमा प्रवेश गर्न सफल भएको छ।

जोर्डनको स्तरोन्नति भने तीव्र आर्थिक वृद्धिको प्रत्यक्ष परिणाम होइन। विश्व बैंकका अनुसार राष्ट्रिय खाताहरूको विस्तृत पुनरावलोकनपछि जोर्डनको अर्थतन्त्र पहिले अनुमान गरिएकोभन्दा झन्डै १० प्रतिशत ठूलो देखिएको थियो। सन् २०२५ मा २.८ प्रतिशतको आर्थिक वृद्धिसँगै परिमार्जित तथ्याङ्कले प्रतिव्यक्ति आयलाई आवश्यक सीमाभन्दा माथि पुर्‍याएको हो।

माइक्रोनेसियाले भने महामारीपछिको क्रमिक आर्थिक पुनरुत्थानका कारण उच्च-मध्यम आयको सूचीमा स्थान बनाएको हो। विशेषगरी निर्माण तथा कृषि क्षेत्रमा आएको सुधारले आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्‍याएको विश्व बैंकले जनाएको छ।

यसैबीच, अफ्रिकी मुलुक टोगो यस वर्ष निम्न आयबाट निम्न-मध्यम आयमा स्तरोन्नति हुने एकमात्र देश बनेको छ। यसको प्रमुख कारण सन् २०२२ को राष्ट्रिय जनगणनापछि जनसङ्ख्याको तथ्याङ्क ११.७ प्रतिशतले घटाइएको हो। प्रतिव्यक्ति आय कुल राष्ट्रिय आयलाई जनसङ्ख्याले भाग गरेर निकालिने भएकाले जनसङ्ख्या घटेपछि प्रतिव्यक्ति आय उल्लेख्य रूपमा बढेको देखिएको थियो। यसबाहेक ५.९ प्रतिशतको आर्थिक वृद्धि र विनिमय दरको प्रभावले पनि टोगोलाई माथिल्लो वर्गमा पुग्न सहयोग गरेको विश्व बैंकले जनाएको छ।

अर्कोतर्फ नेपाल र छिमेकी बङ्गलादेशको वर्गीकरणमा भने यस वर्ष पनि कुनै परिवर्तन भएको छैन। दुवै देश विश्व बैंकको निम्न-मध्यम आय भएका अर्थतन्त्रको सूचीमै रहेका छन्। विश्व बैंकले वर्गीकरणका लागि प्रयोग गर्ने प्रतिव्यक्ति कुल राष्ट्रिय आयको एटलस विधिअनुसार उच्च-मध्यम आयको समूहमा प्रवेश गर्न आवश्यक न्यूनतम सीमा दुवै देशले अझै पार गर्न सकेका छैनन्।

विश्व बैंकका अनुसार कुनै देशको आय वर्गीकरण आर्थिक वृद्धिले मात्रै निर्धारण हुँदैन। प्रतिव्यक्ति आयको सीमा, मुद्रास्फीतिको प्रभाव, विनिमय दरमा हुने उतारचढाव, जनसङ्ख्या परिवर्तन तथा राष्ट्रिय खातामा गरिने संशोधनजस्ता पक्षहरूले पनि वर्गीकरणमा प्रभाव पार्ने गर्छन्। त्यसैले एउटै वर्षमा राम्रो आर्थिक वृद्धि हासिल गरेका सबै देश स्वतः माथिल्लो आय समूहमा पुग्ने अवस्था हुँदैन।

विश्व बैंकले सन् १९८७ यता विश्व अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन आएको पनि औंल्याएको छ। त्यसबेला विश्वका करिब ३० प्रतिशत अर्थतन्त्र निम्न आय समूहमा थिए भने अहिले यो अनुपात घटेर ११ प्रतिशतमा झरेको छ। यसले पछिल्ला चार दशकमा विश्वव्यापी रूपमा जीवनस्तरमा सुधार भएको देखाए पनि विभिन्न देशले समृद्धितर्फ यात्रा गर्ने गति र आधार भने फरक–फरक रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ।


प्रतिक्रिया दिनुहोस्