एलआरआरले पायो स्काईवेलको डिलरशिप, नाडा अटो शोमा नयाँ गाडी ‘लञ्च’ गर्दै « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

एलआरआरले पायो स्काईवेलको डिलरशिप, नाडा अटो शोमा नयाँ गाडी ‘लञ्च’ गर्दै



नेपाली अटो बजारमा आक्रामक बन्दै गएको एलआरआर मोटरले पुराना ग्राहकको सेवा सुल्झाउने प्रतिबद्धतासहित चिनियाँ प्रिमियम ब्रान्ड ‘स्काईवेल’ भित्र्याउने भएको छ।

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा एलआरआर मोटरले एकपछि अर्को ठूलो व्यावसायिक सफलता हात पार्दै आफ्नो उपस्थितिलाई थप बलियो बनाएको छ। विगत दुई वर्षदेखि नेपाली अटो बजारमा फरक पहिचान बनाउँदै आएको यस कम्पनीले चिनियाँ प्रिमियम ब्रान्ड स्काईवेलको आधिकारिक बिक्रेता (डिलरशिप) प्राप्त गरेको छ।

गत वर्षको नाडा अटो शोमा जीली ईएक्स५ भित्र्याएर बजारमा धमाकेदार उपस्थिति जनाएको एलआरआरले एक वर्षभित्रै अर्को बहुचर्चित ब्रान्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो। कम्पनीले आगामी भदौमा हुने नाडा अटो शोमा स्काईवेलको ‘बीई ११’ मोडलको गाडी आधिकारिक रूपमा लञ्च गर्ने गरी तीव्रताका साथ काम गरिरहेको बताएको छ।

पुराना ग्राहकलाई राहत र पार्टपूर्जाको ग्यारेन्टी

यसअघि नेपाली बजारमा स्काईवेलका गाडीहरू जी मोटर्सले आयात गरी बिक्री वितरण गर्दै आएको थियो। हाल बजारमा गुडिरहेका ६० देखि ७० वटा स्काईवेल गाडीका ग्राहकहरूले विभिन्न समस्या झेल्नुपरिरहेको पृष्ठभूमिमा एलआरआरले पहिले सेवा सुधार्ने योजना अघि सारेको छ।

कम्पनीले नयाँ गाडी आयात गर्नुभन्दा अगाडि नै चीनबाट धेरै परिमाणमा पार्टपूर्जाहरू नेपाल ल्याउन लागिएको जानकारी दिएको छ। यसका लागि स्काईवेलका उपाध्यक्षलाई नाइमा अटोशो भन्दा अघि नै नेपाल ल्याउने तयारी भएको एलआरआरका अधिकारीहरुले अर्थपथलाई बताएका छन् ।

यसअघि गाडी किनेका ग्राहकहरूले अहिलेसम्म गाडी नामसारी गर्न समेत नपाएको जटिलतातर्फ इंगित गर्दै एलआरआरले नामसारीको प्राविधिक काम पुरानै बिक्रेता जी मोटर्सले गरिदिनुपर्ने स्पष्ट पारेको छ।

तर, ती गाडीहरूको गुणस्तरीय सर्भिस र आवश्यक पार्टपूर्जाको जिम्मा भने अब एलआरआर आफैँले लिने बताएको छ।

कम्पनीका अनुसार पार्टपूर्जा आयातका लागि अर्डर भइसकेको र सामान नेपाल आइपुग्नेबित्तिकै ग्राहकलाई स्तरीय सेवा दिन सुरु गरिनेछ। नेपाली बजारमा गुडिरहेका पुराना गाडीलाई पूर्ण रूपमा व्यवस्थित र भरपर्दो सेवा दिएपछि मात्रै नयाँ गाडी बजारमा ल्याउने एलआरआरको रणनीति देखिन्छ।

सिधै उत्पादकसँग सम्झौता

विगतमा जी मोटर्सले सहायक कम्पनीमार्फत स्काईवेलका गाडी आयात गरेको भए पनि यसपटक एलआरआरले सिधै मूल उत्पादक कम्पनीसँग सम्झौता गरेर गाडी ल्याउन लागेको हो। विगतमा जी मोटर्सले ‘नाल्जिङ गोल्डेन ड्रागन’ कम्पनीबाट गाडी आयात गरेको थियो, जसले खासगरी बस, भ्यान र कमर्सियल सवारी साधन उत्पादन गर्छ।

तर, एलआरआरले भने स्काईवेल समूहकै विद्युतीय यात्रुवाहक (प्यासेन्जर) गाडी उत्पादन गर्ने मुख्य कम्पनी ‘जियाङ्सु स्काईवेल’ बाट सिधै आयात गर्न लागेको कम्पनीका पदाधिकारीले स्पष्ट पारेका छन्।

एलआरआर मोटरले प्रिमियम श्रेणीको यो गाडीलाई नेपाली ग्राहकका लागि अत्यन्तै किफायती र व्यावहारिक मूल्यमा उपलब्ध गराउने कसरत गरिरहेको छ।

कम्पनीले विश्वप्रसिद्ध सीएटीएलको अत्याधुनिक ब्याट्री जडित स्काईवेलको बी११ मोडललाई सरप्राइज मुल्यमा सार्वजनिक गर्ने तयारी गरेको छ । सर्भिसलाई फोकस गर्ने प्रान बनाएको एलआरआरले नयाँ विई ११ गाडीलाई आकर्षक ५० लाख भन्दा कम मूल्यमा नेपाली बजारमा उतार्ने तयारी गरिरहेको छ। यो मूल्य र विशेषताका कारण नेपाली बजारमा यसले बीवाईडी एट्टो २ सँग कडा प्रतिस्पर्धा गर्ने अटो क्षेत्रका जानकारहरू बताउँछन्।

गैरीधाराबाटै चार ब्रान्डको सेवा

दुई वर्षअघि बीएडब्ल्यूको बिक्रीबाट नेपाली बजारमा पाइला चालेको एलआरआर मोटरले छोटो समयमै ईभी बजारमा आफ्नो बलियो साम्राज्य खडा गरेको छ।

जीलीको मुख्य ब्रान्ड र बीएडब्ल्यू बाहेक जुनयाओ मोटरको बिक्री पनि एलआरआरले नै गर्दै आएको छ। अब यसमा प्रिमियम ब्रान्ड स्काईवेल पनि थपिएको छ।

स्काईवेलको आगमनसँगै अब काठमाडौँको गैरीधारास्थित एउटै छानामुनिबाट एलआरआरले आफ्ना चारवटा बलिया ब्रान्डका गाडीहरूको बिक्री तथा सेवा उपलब्ध गराउनेछ, जसले ग्राहकलाई बहुविकल्प र उत्कृष्ट ईभी अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्