राष्ट्र बैंकमा झर्ने र खाने दाउको लडाईं, प्रवक्तामा को ? « Arthapath.com
४ पुष २०७६, शुक्रबार

राष्ट्र बैंकमा झर्ने र खाने दाउको लडाईं, प्रवक्तामा को ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका हाकिमहरुबीच अनौठो प्रतिस्पर्धा हुने गरेको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन लगत्तै रिक्त हुने डेपुटीको कुर्सीमा बस्नको लागि बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौला सबैभन्दा अगाडी दौडिए । उनको दौड अझै जारी रहेको उनी निकटस्थहरु बताउँछन् । तर, ३० वर्षे सेवा अवधीका कारण निरौला आगामी माघ ८ गतेदेखि अवकाश हुँदैछन् भने पर्सि पुस ८ गतेदेखि एक महिने बिदामा बस्दै छन् । अवकाश हुनुअघि श्रेष्ठको पद रिक्त हुने आशामा रहेका निरौला सरकारले जतिसक्दो छिटो बर्खास्त गरिदिए हुने भन्दै विभिन्न शक्तिकेन्द्रमा धाएपनि घिऊ लागेको नदेखिएपछि अस्ति शुक्रबारदेखि निराश देखिएका हुन् । यसैबीच श्रेष्ठको छानबीन पछि सरकारले थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागलाई अनुरोध गर्ने सम्भावना देखेपछि निरौला थप सशंकित बनेका हुन् ।
उनी केही समयअघि विकास बैंक सुपरीवेक्षण विभागको कार्यकारी निर्देशकमा रहँदा एनसीसी बैंक व्यवस्थापन समूहको संयोजक समेत थिए । एनसीसीमा एपेक्स डेभलपमेण्ट बैंक गाभिँदा एपेक्सको डीडीए नै नगराई एनसीसीमा गाभ्ने प्रपञ्च रच्ने व्यक्ति स्वयम लक्ष्मी प्रसाद निरौला रहेको निश्कर्ष निस्किएपछि आफू पनि उक्त विषयमा स्वतः तानिने आशंकाले थप निराश बनेका हुन् । माघ ८ गते अगावै डेपुटीको पद रिक्त भएमा अर्का कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ पनि डेपुटी गभर्नर हुनसक्ने सम्भावनालाई भने काठमाडौंको नेवार समूदायका पूूराना वामपन्थीहरुले समेत नकारेका छैनन् । बैंकका अन्य १५ जना कार्यकारी निर्देशकहरु भने पाए अर्को वर्ष नियुक्त हुने पाँच वर्षे डेपुटीको लागि मुख मिठाएर बसेका छन् । तर, श्रेष्ठको ठाउँमा पदपूर्ति हुने एक वर्षको लागि डेपुटी गभर्नर नबन्नको लागि लक्ष्मी र महेश्वर बाहेक अन्य सबै कार्यकारी निर्देशक तर्किएका स्रोतले बताएको छ ।
उता, ३० वर्षे सेवा अवधिका कारण यहि पुस २१ गतेदेखि अवकाश हुन लागेका बैंकका केही कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशक तहका कर्मचारी पनि गत मंसीर २१ गतेदेखि एक महिने बिदामा बसेका छन् । यसरी बिदामा बसेका कर्मचारीहरुमध्ये कार्यकारी निर्देशकद्वय सुनिल उदास र सरिता अधिकारी तथा निर्देशकद्वयमा पोमनाथ गौतम र नरेन्द्रसिंह विष्ट रहेका छन् । उदास र अधिकारीको अनुपस्थितिमा अहिले क्रमशः वित्त कम्पनी सुपरीवेक्षण विभाग र विदेशी विनिमय व्यवस्थापन विभागमा रविन्द्र महर्जन र गुरुप्रसाद पौडेलले कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन् । उदास र अधिकारीको अवकाश पछि क्रमशः रेवतीप्रसाद नेपाल र रामु पौडेल नयाँ कार्यकारी निर्देशक बन्नेछन् ।
प्रवक्तामा को ?
निरौलाको अवकाश वा डेपुटी गभर्नरमा सम्भावित पदोन्नती पछि बैंकभित्र आकर्षणको रुपमा रहेको प्रवक्ता पद पनि रिक्त हुने पक्कापक्की नै छ । उक्त पदमा सम्भवतः भुवन कँडेल नियुक्त हुनेछन् । स्रोतका अनुसार कथम्कदाचित रिक्त हुने एक वर्षे अवधीका डेपुटीमा नियुक्त भएमा कँडेलको सट्टा निलम ढुंगाना पनि प्रवक्ता हुनसक्ने आँकलन गरिएको छ । यसबाट मूलतः कार्यकारी निर्देशकद्वय कँडेल र ढुंगानाबीच नै डेपुटी र प्रवक्तामध्ये कुनमा कसको नियुक्ती हुने भन्ने रस्साकस्सी देखिएको एकजना निर्देशकले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्