राष्ट्र बैंकको दवाबपछि हिमालयन बैंकले सञ्चालक समितिको निर्वाचन गर्ने « Arthapath.com
१९ माघ २०७६, आईतवार

राष्ट्र बैंकको दवाबपछि हिमालयन बैंकले सञ्चालक समितिको निर्वाचन गर्ने



काठमाडौं ।  राष्ट्र बैंकको चर्को दवाबपछि बल्लबल्ल हिमालयन बैंकले सञ्चालक निर्वाचन गर्न लागेको छ । राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिनुअघि नै सञ्चालक निर्वाचन र कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा हुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सोहीअनुसार बैंकले सञ्चालक निर्वाचनको कार्यतालिकासहित सूचना प्रकाशित गरेको छ । सञ्चालक निर्वाचनको विवादमा हिमालयन बैंकभित्र लामो समयदेखि विवाद छ । जुन विवाद अदालतमा समेत विचाराधिन अवस्थामा छ । खेतान समूहले एकजना सञ्चालकको हिस्सा पाउने सेयर स्वामित्व भए पनि सञ्चालकबाट हटाएको भन्दै विभिन्न लनिकायमा उजुरी दिएको छ । यसमा अदालतले सञ्चालक निर्वाचन गर्न आदेश दिए पनि बैंकले अटेर गर्दै आएको थियो ।

हिमालयन बैंकको स्थापना नेपालका ३ लगानीकर्ता समूह र विदेशी बैंकसहितको साझेदारीमा भएको हो । नेपालका पहिला गभर्नर हिमालय शमशेर राणाको अगुवाईमा उनका मित्रहरू नरसिंहबहादुर श्रेष्ठ र मोहनगोपाल खेतानसहितको लगानीमा बैंकको स्थापना भएको थियो । त्यसबेलाको कानुनअनुसार विदेशी साझेदार बैंक नभइकन लाइसेन्स नपाउने हुनाले राणाले पाकिस्तानी हबिब बैंकलाई साझेदार बनाएका थिए । सो बैंकको २० प्रतिशत लगानी रहेकोमा अहिले पनि कायम छ ।

बैंक स्थापनाको सहमतिअनुसार संस्थापक अध्यक्षको रुपमा हिमालय शमशेर रहे भने त्यसपछि पालैपालो श्रेष्ठ र खेतानलाई अध्यक्ष दिने सहमति थियो । तर, राणा र श्रेष्ठले अध्यक्ष पाएपछि खेतानको पालोमा उनलाई अध्यक्ष बन्न दिइएन । राणा र श्रेष्ठ समूह मिलेर पुनः उनीहरूले नै पालैपालो बंैकको नेतृत्व गरिरहे । हिमालयन बैंकमा धोका पाएका खेतानले त्यसपछि आफ्नै लगानीमा लक्ष्मी बैंकको स्थापना गरे । स्वर्गीय खेतानले आफ्नो छोरीको नाममा सो बैंक खोलेको बताउने गरिन्छ । अहिले पनि लक्ष्मी बैंकमा खेतान समूहको एकलौटी हालिमुहाली छ ।

हिमालय बैंक बाबुहरूले खोले पनि अहिले छोरापुस्ताले चलाउँदै आएको छ । खेतान र श्रेष्ठको निधन भैसकेको छ भने संस्थापक राणा बैंकको प्रमुख सल्लाहकारको रुपमा अझै क्रियाशील छन् । यता हिमालयन बैंकमा रहेको खेतानको लगानी प्रेमप्रकाश खेतानले हेर्दै आएका थिए । उनी लामो समयदेखि सञ्चालक रहेकोमा ३ वर्षअघि उनलाई अध्यक्ष चयन गरिने सहमतिसमेत भएको थियो । तर, अन्तिम समयमा पुनः खेतान र राणा समूहबीच सहमति भएर मनोज बहादुर श्रेष्ठ अध्यक्ष बने भने राणा समूहका अशोक शमशेर राणा सीईओ पदमा दोहोरिए । त्यसो त हिमालयन बैंकको पहिलो सीईओ रहेका पृथ्वी बहादुर पाण्डे जो हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष छन् । उनले इन्भेष्टमेन्ट बैंकमा लगानी गर्ने बेलामा आफ्नो भागमा रहेको सेयर आफ्नो ससुराली राणा समूहलाई बिक्री नगरी श्रेष्ठ समुहलाई बिक्री गरेपछी बैंकमा श्रेष्ठ समूहको बर्चस्व बढ्यो । विगत १४ वर्षदेखि श्रेष्ठ अध्यक्ष छन् भने राणा सीईओ छन् ।

राणा र श्रेष्ठ समूहबीच राम्रो सम्बन्ध छैन । उनीहरूबीच वैमश्यताका कारण बैंकको ग्रोथमा समेत असर परेको खेतान समूहले दाबी गर्दैआइरहेको छ । तर, राणा र श्रेष्ठ समूहको विवादका कारण बैंकमा अनियमितता हुन भने नपाएको एकाथरिको भनाई छ । एकले–अर्कालाई चेक एण्ड ब्यालेन्स गरेका कारण बैंकमा प्राविधिकबाहेक खासै समस्या नरहेको बताइन्छ । तर, विवादले गर्दा जति ग्रोथ हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । राणाले व्यवस्थापनको नेतृत्व गरेको भए पनि खरिद–बिक्री, निर्माणलगायतका काममा बोर्डले सिधैँ हस्तक्षेप गर्ने गरेको छ । बोर्डमा अध्यक्ष श्रेष्ठका भाइ प्रचण्डबहादर श्रेष्ठ पनि सञ्चालक छन् । उनैलाई अघि सारेर निर्माण र खरिदका काममा कमिशन खाने गरेको आरोप श्रेष्ठ समूहमाथि छ ।

तर, रोचक विगत के छ भने जतिसुकै विवाद र झगडा गरे पनि सीईओ नियुक्ति र सञ्चालक निर्वाचनको समयमा भने यी दुई समूह मिल्ने गरेका छन् । पद र पावर बाँडफाँडमा सहमति गरेर यी दुई समूहले एकले–अर्कालाई सघाएरै बैंकमा १२ वर्ष चलाइसकेका छन् । तर, अहिले भने अवस्था फरक देखिएको छ । श्रेष्ठ समूहबाट एकजना सञ्चालक बाहिरिने अवस्थामा अध्यक्ष मनोजबहादुर श्रेष्ठकै पद धरापमा परेको छ । खेतान समूहले समर्थन नगर्नासाथ उनी बाहिरिने निश्चित छ । खेतान समूहबाट एक सञ्चालक चुनिएमा श्रेष्ठको भाइ सञ्चालकबाट हट्नेछन् । त्यसपछि उनी अल्पमतमा पर्नेछन् ।

अहिले सो बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चयकोषको १४ प्रतिशत, मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१ प्रतिशत, खेतान समूहको म्युचूअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत तथा राणा समूहको आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत सेयर छ । यसअघि पृथ्बीबहादुर पाण्डेको स्वामित्वमा रहेको छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत सेयर छ । जसको प्रतिनिधित्व अध्यक्ष श्रेष्ठका भाइ प्रचण्डबहादुरले गर्छन् । यसबाहेक शशीकान्त अग्रवालको २.६५ प्रतिशत र अन्य लगानीकर्ताको १ प्रतिशतभन्दा कम सेयर छ ।

अहिले मनोज र प्रचण्ड दाजुभाइ, हबिब बैंकका प्रतिनिधि, राणा र सञ्चयकोषबाट १÷१ जना तथा एकजना विज्ञ गरी ७ जना सञ्चालक रहे पनि राष्ट्र बैंकको नयाँ नियमअनुसार सञ्चालकबाट श्रेष्ठ दाजुभाइमध्ये एकजना बाहिरिनुपर्ने हुन्छ । एउटै परिवारबाट दुई सन्चालक हुन नपाउने मात्रै हैन की सेयर हिस्साकै आधारमा पनि खेतान समुहले एक सन्चालक पाउने निश्चित नै छ ।् दाजुभाइमध्ये एकजना सञ्चालकबाट हट्दा मनोज बहादुरले अध्यक्ष पद समेत धरापमा पर्छ ।

सीडीसी किन रोकियो ?
हिमालयन बैंक पाकिस्तानी हबिब बैंकको लगानीमा खुलेको विदेशी साझेदार बैंक हो । तर, स्थापनाको २६ वर्षपछि उसले आफ्नो लगानी फिर्ता लैजाने तयारी गरिरहेको छ । हबिब बैंकले आफ्नो सेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी)लाई बिक्री गरेर बाहिरिन खोजेको छ । बेलायती सरकारको पूर्ण लगानीको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड)को निजी क्षेत्रमा लगानी गर्ने संस्था नै सीडीसी हो । यसले दक्षिण एशिया र अफ्रिकी मुलुकहरूमा आफ्नो लगानी बढाउँदै लगेको छ । पाकिस्तानी बैंक हबिबको २० प्रतिशत सेयर किनेर सीडीसी नेपालको बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको थियो ।

प्रारम्भिक सबै प्रक्रिया पूरा भैसके पनि श्रेष्ठ दाजुभाइले नै मिलेर सीडीसीलाई रोकेका आरोपसमेत लाग्दैआएको छ । गत जेठमै हबिबको ठाउँमा सीडीसी आउने भन्दै दुवै बैंकका प्रतिनिधिले अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटेका थिए । उत्साहितरुपमा भेट्न पुगेका प्रतिनिधिहरूलाई अर्थमन्त्री र गभर्नर दुवैले शुभकामनासमेत दिइसकेका थिए । तर, अहिलेसम्म बैंक सञ्चालक समितिले हबिबलाई सेयर बिक्री गर्न स्वीकृति समेत दिएको छैन् ।

हिमालयन बैंकले बेलायतबाट विदेशी ऋणसमेत ल्याउन सुरु गरेको छ । यस्तोमा बेलायती बैंकलाई नै साझेदार बनाएमा हिमालयनलाई अन्तर्राष्ट्रिय बैंकिङका लागि पनि बाटो खुल्ला हुने विश्वास लिइएको थियो । तर, यो प्रक्रियामै लामो समय बितिसकेको छ । नेपालस्थित बेलायती दूताबासले पनि सीडीसीलाई ल्याउन पहल गरेको थियो । नेपाल–बेलायत दौत्य सम्बन्ध दुई शताब्दी पुरानो भए पनि प्रत्यक्ष लगानीका लागि संस्थाहरू बेलायतबाट भने आएका थिएनन् । त्यही भएर सीडीसीलाई ल्याउन उसले पहल गरेको हो । सबै प्रक्रिया अगाडि बढिरहेको बेला श्रेष्ठ समूहले बखेडा झिकेपछि सीडीसी सेयर किन्न हच्किएको स्रोत बताउँछ ।

हबिब र सीडीसीले समेत राष्ट्र बैंकमा गुनासो गरेपछि उसले बीचैमा चुनाव गर्न निर्देशन दिएको हो । जबकी अहिलेको सञ्चालक समितिको कार्यकाल अझै १ वर्ष बाँकी छ । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) लाई जसरी पनि हिमालयन बैंकमा भित्र्याउनकै लागि राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिको निर्वाचन हुने भएको हो । यही माघ २९ गते हुन लागेको वार्षिक साधारणसभामा पाँचजना संस्थापक सेयरधनी निर्वाचनबाट छानिने भएका छन् । चुनावको लागि खेतान समूहको दवाब र श्रेष्ठ समूह सीडीसी भित्र्याउन बाधक भएपछि राष्ट्र बैंकले निर्वाचन गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिनुअघि राखेका तीन प्रमुख शर्तमध्ये सञ्चालक समितिको निर्वाचन थियो । निर्वाचन हुँदा श्रेष्ठ दाजुभाइबाट एक जनामात्रै सञ्चालक समितिमा आउँछन् । श्रेष्ठ समूहबाट कुल तीनजनामात्रै सञ्चालक बन्दछन् । यसो हुँदा सात सदस्यीय सञ्चालक समितिले बहुमतका आधारमा निर्णय गरेर हबिबलाई ‘एक्जिट’ र सीडीसीलाई ‘इन्ट्री’ दिने निर्णय गर्नेछ ।

३१ करोड फिर्ता
यसैबीच हिमालयन बैंकले डुबेको ३१ करोड फिर्ता पाएको छ । मलेसियाली रेमिट कम्पनी मेक्सले हिमालयन बैंकलाई ३१ करोड रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले नेपाली कामदारहरूले पठाएको ४९ करोड रेमिटेन्स हिमालयन बैंकलाई भुक्तानी नदिई रोकेको थियो । सो रकम ब्याजसहित असुल गर्ने सहमति भएपछि बल्ल आंशिकरुपमा ३१ करोड रुपैयाँ फिर्ता गरेको हो । मेक्समार्फत पैसा पठाउने नेपाली कामदारहरूका आफन्तहरूलाई हिमालयन बैंकले भुक्तानी दिए पनि मेक्सले भने हिमालयन बैंकलाई भुक्तानी दिएको थिएन । नेपाल राष्ट्र बैंक र मलेसियन सेन्ट्रल बैकको रोहवरमा भएको सम्झौताअनुसार ३१ करोड रुपैयाँ राष्ट्र बैंकको खातामा आएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले जानकारी दिए । बाँकी रहेको १८ करोड रुपैयाँ भने विवादित रकम भएको हुनाले मासिक रूपमा ब्याजसहित भुक्तानी दिने भएको राष्ट्र बैंक स्रोतको भनाई छ ।

कम्पनीले लामो समयसम्म पनि उक्त पैसा नेपाल नपठाएपछि नेपाल राष्ट्र बैंकको पहलमा सो रकम फिर्ता ल्याउन सफल भएको हो । नेपालका आधा दर्जन बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरूसँग कारोबार गर्दैआएको मेक्सले रकम भुक्तानी नगरेपश्चात् केन्द्रीय बैंकले एक वर्षअघि मेक्स रेमिटसँग कारोबार गर्न रोक लगाएको छ । सहमतिपछि हिमालयन बैंकले पुनः मेक्ससग कारोवार सुचारु गरिसकेको छ । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्