प्रधानमन्त्री विरामी परेपछि गभर्नर नियुक्तीमा ढिलाई, दौडमा कोही हट्दै, कोही नयाँ इन्ट्री गर्दै « Arthapath.com
२ चैत्र २०७६, आईतवार

प्रधानमन्त्री विरामी परेपछि गभर्नर नियुक्तीमा ढिलाई, दौडमा कोही हट्दै, कोही नयाँ इन्ट्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तीमा ढिलाई हुने भएको छ । २०७१ साल चैत ८ गते पाँच वर्षको लागि नियुक्त गभर्नर डा.चिरञ्जीवी नेपालको कार्यकाल यहि चैत ७ गते सकिँदैछ । गभर्नर नियुक्तीको लागि मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिश समिति बनाउनुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलाी मिर्गौला प्रत्यारोपणको क्रममा फागुन १९ गतेदेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । समिति गठनपछि पनि गभर्नरको लागि तीनजना उम्मेदवार सिफारिशको लागि कम्तिमा एक साता लाग्नेछ ।

त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नरमा नियुक्त गरेपछि सर्वोच्च अदालतका प्रधानन्यायधीशले सपथ ग्रहण गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, प्रधानमन्त्री नै उपचारमा रहेको र सिफारिश समिति पनि नबनेको अवस्थामा चैत पहिलो साता नयाँ गभर्नर नियुक्त हुने सम्भावना टर्दै गएको छ । यस्तो अवस्था लम्बिएमा बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई नै केही समयसम्म कायम मुकायम गभर्नरको कार्यभार दिनुपर्ने हुन्छ । उता अर्थमन्त्री युवराज खतिवडा पनि आफूले चाहेको व्यक्ति गभर्नर नियुक्त हुने भएमा मात्रै बेलैमा प्रक्रिया शुरु गर्ने तर, अरु नै बन्ने अवस्था आएमा विभिन्न बहानामा केही समय लम्ब्याउने योजनामा देखिन्छन् ।

को को छन् दौडमा ?
गभर्नर बन्ने आकांक्षीको दौडमा पछिल्लो केही समयदेखि कोही चर्चाबाटै हराएका छन् भने कोही नयाँ अनुहार थपिएका छन् । अर्थसचिवको कुर्सीमा बसुन्जेल निवर्तमान अर्थसचिव राजन खनालको नाम चर्चामा आएपनि यतिखेर उनी गुमनाम भएका छन् । नयाँ इन्ट्रीको रूपमा बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् डा. गोविन्दबहादुर थापा देखिएका छन् । उनले हालै मात्र आफू गभर्नरको प्रमुख दाबेदार रहेको बताएका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका थापा एमालेको नौ महिने शासनकालमै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार समेत थिए । एशियाली विकास बैंक, मनिलामा दुई वर्ष आवासीय प्रतिनिधि भई काम समेत गरेका थापा तत्कालीन एमालेभित्र सबैभन्दा अब्बल अर्थशास्त्रीको रूपमा पनि परिचित थिए । एमालेको अल्पमतको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔं’ भन्ने नारा तय गर्दा पार्टी र सरकारमा रहेका सीमित अर्थशास्त्रीको समूहका सदस्यमध्ये थापा पनि एक रहेको स्रोतले बताएको छ । थापाको घोषणाले गभर्नर नियुक्तीको दौडमा नयाँ तर¨ ल्याएको छ ।

पश्चिमा दातृ निकाय र दातृ मुलुकको ग्रिन सिग्नलपछि अर्थमन्त्री र प्रधानमन्त्रीका प्रमुुख राजनीतिक सल्लाहकार विष्णु रिमालको आडमा पूर्व राजश्व सचिव लालशंकर घिमिरे पनि दौडमा देखिन थालेका छन् । तर, राजनीतिक रूपमा नेपाली काँग्रेससँग आवद्ध घिमिरे सिफारिशमै पर्ने संभावना भने कम छ । उता, पूर्व माओवादी समूहले डा. मीनबहादुर श्रेष्ठलाई अघि सार्ने सम्भावना देखिएको छ भने पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारी पनि आफूलाई गभर्नरमा नियुक्त गर्नेमा ढुक्क देखिएका छन् । तर, बैंक ऐन २०५८ बमोजिम गभर्नरको नियुक्तीको लागि अधिकारीको शैक्षिक योग्यता पुग्दैन । अधिकारीलाई लगानी बोर्डको सिईओमा नियुक्त गरेपछि पनि उनको शैक्षिक योग्यताको बिरुद्धमा अदालतमा मुद्दा परेको थियो ।
उता, बैंकमा कार्यरत दुबैजना डेपुटी गभर्नरले पनि आफूलाई नयाँ गभर्नरको सशक्त दाबेदारको रूपमा दाबी गर्दै आएका छन् । शिवाकोटी यसअघि आफूलाई डेपुटीमा नियुक्त गर्ने प्रधानमन्त्री नै यसपटकसमेत रहेको अवस्था र आफ्ना गुरु स्वयम् अर्थमन्त्री रहेकोले गभर्नरमा आफू नै नियुक्त हुनेमा ढुक्क देखिन्छन् । अर्का डेपुटी शिवराज श्रेष्ठले पनि आफूलाई विभिन्न नियत र रणनीतिबमोजिम लगाइएको गम्भीर आरोपबाट प्रधानमन्त्री स्वयम्ले सफाई दिएकाले पनि नयाँ गभर्नरमा आफूलाई नै नियुक्ती गर्ने सम्भावना रहेको बताउने गरेका छन् । गभर्नर पाए खानेमा आश गरेर बसेकाहरूमा मुख्य सचिव लोकदर्शन रेग्मी, धितोपत्र बोर्डका हालै नियुक्त अध्यक्ष भीष्मराज ढुंगाना र राष्ट्र बैंक सञ्चालक समितिका सदस्य सुवोधकुमार कर्ण देखिएका छन् ।

उता पार्टीभित्रको सन्तुलन मिलाउन र माधव नेपाललाई चित्त बुझाउन प्रधानमनत्री ओलीले कर्मचारी सञ्चय कोषका पुर्व प्रशासक एवम् एमाले पाल्पाका सांसद सोमप्रसाद पाण्डेमा ज्वाई कृष्ण आचार्य पनि गभर्नरको सुचिमा देखिएका छन । आचार्य हाल आइक्यानको अध्यक्ष छन । नेपाल एसविआई र नविल बैंकको संचालक तथा युनाइटेड इन्स्योरेन्सको सिईओ भैसकेका आचार्य अन्य प्रतिस्प्रधिको तुलनामा अगाडीनै देखिएका छन । वर्तमान अर्थमान्त्रीले मन पराउने आचार्यलाई गभर्नर बनाएन प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णु रिमालसमेत सकारात्मक देखिएका छन ।


प्रतिक्रिया दिनुहोस्