कोभिड बीमाको भुक्तानी एनआईसी एशियाको अनलाईन प्रणालीबाट « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

कोभिड बीमाको भुक्तानी एनआईसी एशियाको अनलाईन प्रणालीबाट



काठमाडौं । एन आई एशिया बैंक लिमिटेडले कोरोना भाइरस सम्बन्धी बीमालेख खरिदमा अनलाईन प्रणालीको प्रारम्भ गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षार्थ सरकारले गरेको लकडाउनका बेला विकास निर्माण देखि करकारखानाका कामहरु समेत ठप्प रहेको छ । यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको जनाएको छ ।

बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com/)मार्फत नवीनतम प्रयोग थालेको हो । जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एन आई सी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेका जनाएको छ ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख १ लाख र दोस्रो श्रेणीको बीमालेख ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः १००० र ५०० लाग्नेछ । त्यस्तै पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

एन आई सी एशिया बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । त्यस्तै २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्