गभर्नर अधिकारी आएपछि राष्ट्र बैंकका दुई दर्जन निर्देशकको व्यापक सरुवामा « Arthapath.com
२९ असार २०७७, सोमबार

गभर्नर अधिकारी आएपछि राष्ट्र बैंकका दुई दर्जन निर्देशकको व्यापक सरुवामा



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले पद बहालीको ९० औं दिनमा २५ जना निर्देशकको एकैचोटी सरुवा गरेका छन् । अर्थमन्त्रालयको दबाबमा कतिपय सरुवाप्रति अरुची राखेका गभर्नरले लकडाउन र अर्थ मन्त्रीको निरन्तरताको बारेमा धेरै समय कुरेपनि समय भिड्किन लागेपछि मात्रै सरुवा गरिएको एकथरी कर्मचारी बताउँछन् ।

बैंकको सञ्चालक समितिको सचिवमा अर्थ मन्त्रालयको घुमाउरो चाहना र दबाबमा बिराटनगर कार्यालयका रोशन कुमार सिग्देललाई ल्याइएको छ । अधिकारीलाई नजिकबाट चिन्नेहरू भन्छन् ‘वहाँको चाहनामा सिग्देललाई समितिको सचिव बनाइएको होइन । सिग्देल स्वयम् पनि त्यो ठाउँको लागि फिटेड छैनन् । तर, अर्थमन्त्री र ज्वाईं निर्देशक रामशरण खरेलले गभर्नरको कार्यालयको गतिबिधिमाथि निगरानी राख्न सजिलो हुने भएकाले मात्र रोशन उनीहरूको रोजाईमा परेका हुन् ।’

बिहीबारको सरुवामा विमलराज खनाललाई विकास बैंक सुपरीवेक्षणबाट सामान्य सेवा विभाग, रामप्रसाद गौतमलाई बैंकिङ्गबाट लघुवित्त, सत्येन्द्र तिमिल्सिनालाई गभर्नरको कार्यालयबाट बिराटनगर कार्यालय, डा. डिल्लीराम पोख्रेललाई पोखराबाट अनुसन्धान, निश्चल अधिकारीलाई धनगढीबाट भुक्तानी प्रणाली र दिपकराज लामिछानेलाई अनुसन्धानबाट नेपालगञ्ज कार्यालय पुर्याइएको छ ।

त्यसैगरी राजन विक्रम थापालाई वीरगञ्जबाट विकास बैंक सुपरीवेक्षण, राजेन्द्र भट्टराईलाई सिद्धार्थनगरबाट सामान्य सेवा विभाग, हिमप्रसाद न्यौपानेलाई जनकपुरबाट बैंक सुपरीवेक्षण, मुक्तिनाथ सापकोटालाई नेपालगञ्जबाट नियमन विभाग, सुष्मा रेग्मीलाई राष्ट्र ऋणबाट संस्थागत योजना, गोविन्द प्रसाद नागिलालाई गभर्नरको कार्यालयबाट टक्सार र सभाषचन्द्र घिमिरेलाई भुक्तानी प्रणालीबाट धनगढी सरुवा गरिएको छ ।

सरुवा भएका अन्य निर्देशकहरूमा सुदिप फुयाँललाई बैंक सुपरीवेक्षणबाट सिद्धार्थनगर, डिलाराम सुवेदीलाई सामान्य सेवाबाट बैंक सुपरीवेक्षण, लघुवित्तका शैलेन्द्र रेग्मीलाई राष्ट्र ऋण, नियमनका वीरेन्द्रदत्त अवस्थीलाई बैंकिङ्ग, ईश्वरीप्रसाद भट्टराईलाई अनुसन्धानबाट पोखरा, डा.राजनकृष्ण पन्तलाई संस्थागत योजनाबाट वीरगञ्ज, दुर्गेश गोपाल श्रेष्ठलाई जनशक्ति व्यवस्थापनबाट जनकपुर, इन्द्रा चम्लागाईंलाई जनशक्तिबाट विदेशी विनिमय र हाल अमेरिकामा रहेकी रञ्जना पौडेल पण्डितलाई अतिरिक्त दरबन्दीमा राखिएको छ ।

पछिल्लो सरुवामा कायम मुकायम निर्देशकहरू थानेश्वर आचार्यलाई टक्सारबाट कानुन, संस्थागत योजनाकी आर्या जोशीलाई अनुसन्धान विभाग र उपनिर्देशक नारायण प्रसाद पोखरेललाई कायम मुकायमको जिम्मेवारी सहित गभर्नरको कार्यालय लगिएको छ । उच्च स्रोतका अनुसार सरुवामा उपत्यका बाहिर सरुवा नहुनको लागि गोविन्द नागिलाले पीएचडीको भर्नालाई अघि सारेका थिए । गभर्नर नेपालको रोजाईमा बैंकमा चार्टर्ड एकाउण्टेण्ट पहिलो, दोस्रोमा कालो वा सेतो जस्तो भएपनि विगतमा आफू मातहत काम गरेका र तेस्रो पूर्वेली हुनुपर्ने देखिएका छन् । बैंक सुपरीवेक्षण विभागमा एकपक्षीय कर्मचारीको सरुवा भएको भन्दै कर्मचारी संघका केही पदाधिकारीले असन्तुष्टि समेत पोखेका छन् ।


प्रतिक्रिया दिनुहोस्