प्राइम बैंकका लगानीकर्तालाई मालामाल, १० हजार लगानीको १४ वर्षमा ६ लाख ३४ हजार नाघ्यो

काठमाडौं । आगामी ११ असोजमा प्राइम कमर्शियल बैंकले आफ्नो स्थापनाको १५ औं वर्षगाँठ मनाउँदै छ । वितेको १४ वर्षे अवधिमा बैंकका लगानीकर्ताले करीब २८ गुणा प्रतिफल पाउने देखिएको छ । २०६४ लाखमा स्थापना भएको यो बैंकमा सुरुमा १० हजार रुपैयाँ लगानी गर्नेको सम्पत्ती अहिले ६ लाख ३४ हजार नाघेको छ ।
शुरूमा १०० कित्ता सेयर किनेर बसेका लगानीकर्ताले यसबीचमा दुई पटक गरी थप २३ हजार ४ सय रुपैयाँ हकप्रद शेयर किन्नमा थप लगानी गरेका छन् । तर यहीबीचमा बैंकले १० हजार ४ सय रुपैयाँ नगद लाभांशमार्फत् लगानीकर्ताको गोजिमै फिर्ता गरिसकेको छ । यो हिसाबमा सुरुआति लगानीकर्ताले हालसम्म २२ हजार ९३८ रुपैयाँ खुद लगानी गरेको देखिन्छ ।
जम्मा १०० कित्ता आईपीओ पाउनेले अहिलेसम्म हकप्रद २३४ कित्ता शेयर प्राप्त गरिसकेको छ । उता बोनश शेयरमा भने तीनै लगानीकर्तासँग थप ९३४ कित्ता शेयर थपिएको छ । यसरी शुरुआति दिनमा १०० कित्ता शेयर किनेको बैंकको लगानीकर्तासँग अहिले १२६८ कित्ता शेयर जम्मा भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार हिजो विहीबार यो बैंकको शेयर मूल्य ५०० रुपैयाँमा बन्द भएको छ । अर्थात् १२६८ कित्ता शेयरको मूल्य ६ लाख ३४ हजार नाघेको छ । यो रकम लगानीकर्ताको खुद लगानी (२२ हजार ९३८) रुपैयाँको २७.६४ गुणा हो ।
