के विदेश घुम्न जानेले नेपालबाट पैसा बाहिर ओसारिरहेका छन् ? « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

के विदेश घुम्न जानेले नेपालबाट पैसा बाहिर ओसारिरहेका छन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीलाई जम्मा २०० अमेरिकी डलरभन्दा बढी पैसा नदिनू भनेर बैंकरहरुलाई ‘हुकुम’ दिएको छ । राष्ट्र बैंकमा सरकारी खाता व्यवस्थापन गर्ने बैंकिङ विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले सबैजसो बैंकका ट्रेजरी प्रमुखहरुलाई बोलाएर यस्तो निर्देशन दिएको एक बैंकरले बताएका छन् ।

बैंकरका अनुसार राष्ट्र बैंकका अधिकारीले बढी रकम सटही सुविधा दिएका कारण सम्पत्ती शुद्धिकरण र पूँजी पलायनमा सघाउ पुगिरहेको बताए । मानिसहरुले भ्रष्टाचार र करछलिबाट पैसा कमाएका छन् । नगदमा कारोबार हुने त्यस्तो पैसालाई विदेश जाने भन्दै बैंकमा लगेर साटेपछि त्यो धन बैध देखिने अवस्था आएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । वर्षमा १० वटक विदेश जानेले त १८–२० लाख रुपैयाँ यही बहानामा सम्पत्ती शुद्धिकरण गर्नसक्ने राष्ट्र बैंकको आशंका छ ।

अर्कातिर आफूलाई चाहिनेभन्दा बढी पैसा पनि साटेर लाने गरिएको अधिकारीहरु बताउँछन् । विदेशमा आफन्त भेट्न जाने नेपालीका लागि त्यति पैसा आवस्यक नै नपर्ने भए पनि उनीहरुले यहाँबाट पैसा लगिरहेका छन् । यसरी विदेश जान भनेर साटेको पैसा पुनः फर्किएर बैंकमा आउँदैन । विदेशमा खर्च गरिनसकेको पैसा छ भने पनि त्यो रकम या त विदेशमै छाडेर आउने, नभए नेपाल आएर कालोबजारीमा साट्ने गरिएको छ ।

आफूसँग डलर हुनेहरु काठमाडौंको सुनधारादेखि ठमेलसम्म विभिन्न ठाउँमा विदेशी मुद्रा साट्ने गरेका छन् । उनीहरुले बैंकको तुलनामा १–२ रुपैयाँ बढी पैसा दिन्छन् । यही लोभमा गैह्र बैंकिङ क्षेत्रमा डलर पुगेपछि त्यो पैसा पुनः तस्करीजस्ता अपराधिक कृयाकलापमा प्रयोग हुने गरेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् । यसरी विदेशी मुद्राको अपचलन हुन थालेको भन्दै केन्द्रिय बैंकले ८ माघ २०७५ मै वैदेशिक रोजगारीमा जाने कामदारका लागि सटही सुविधा ५०० डलरबाट घटाएर २०० डलर बनाइदिएको थियो ।

वैदेशिक रोजगारीमा जाने कामादारमार्फत् विदेशमा पूँजी पलायन भइरहेको आशंकामा यस्तो नीतिगत परिवर्तन गरिएको राष्ट्र बैंकका तत्कालिन अधिकृतहरुले बताएका थिए । यो व्यवस्था अहिले पनि कायमै छ । तर विदेश घुम्न जाने नेपालीका लागि भने पहिलेको २५ सय डलरको सटही सुविधा घटाएर १५ सय डलरमा झारिएको थियो । नीतिगत रुपमा उक्त व्यवस्था परिवर्तन नगरी अहिले राष्ट्र बैंकका अधिकारीले ‘मौखिक हुकुम’ दिएका हुन् ।

बैंकरहरुका अनुसार ‘राष्ट्र बैंकले यस्तो निर्देशन दिएको’ भन्ने सूचना बाहिर नदिन पनि अधिकारीहरुले निर्देशन दिएका छन् । ‘राष्ट्र बैंकले नै यसो भनेको छ भनेर नभन्नू,’ राष्ट्र बैंकका अधिकारीलाई उद्धृतगर्दै एक बैंकरले भने, ‘डलर कम भएकाले थोरै लैजानुस् भन्नुस् ।’ अधिकारीहरुले विदेश जाने नेपालीलाई नगद डलरको साटो डलर कार्ड बोकेर जान बैंकहरुले अभिप्रेरित गर्नुपर्ने बताए ।

यसअघि पनि पटक पटक नेपालमा विदेशी मुद्राको अभाव हुँदै आएको थियो । यसअघि पनि २०७१ सालतिर यसरी नै डलरको अभाव भएपछि बैंकहरुले नगद डलरको सटहीमा कडाई गरेका थिए । तर २०७२ को सुरुमै गोरखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर आएको भूकम्पले डलरको समस्या हल गरिदियो ।

त्येसबेला नेपालमा ठूलो मात्रामा विदेशी सहयोग प्राप्त भयो । देशभित्रै भएका संस्थाहरुले पनि ठूलो मात्रामा सहयोग संकलन गरेर विदेशी मुद्रा भित्र्याउन मद्दत गरे । त्यसबखत नेपालमा विदेशी विनिमय सञ्चिति यहाँको कुल गार्हस्थ उत्पादनको ०.४६ प्रतिशत पुगेको थियो, जुन इतिहासकै उच्च हो । तर विस्तारै डलरको ठुकुटि रित्तिँदै गयो । अहिले कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि पर्यटक आगमन असाध्यै कम भएको छ ।

नेपालमा नगद डलर भित्र्याउने सबैभन्दा ठूलो स्रोत भनेको पर्यटन नै हो । नेपाल आउने पर्यटकको संख्या कम भएसँगै डलर अभाव भएपछि बैंकहरु पनि अहिले अप्ठेरोमा थिए । राष्ट्र बैंकले नगद डलर किनेर ल्याउन त सक्छ, तर यसको प्रक्रिया निकै अप्ठेरो र कठीन हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् । तर नीतिगत रुपमा गर्नुपर्ने निर्णयलाई मौखिक आदेशको भरमा चलाउन खोज्ने केन्द्रिय बैंकको कदमले सही परिणाम नदिने बैंकर बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्