ऋणीको मूल्याङ्कन गर्ने साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षणका लागि आईएफसीसँग राष्ट्र बैंकको सम्झौता « Arthapath.com
१८ माघ २०७८, मंगलवार

ऋणीको मूल्याङ्कन गर्ने साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षणका लागि आईएफसीसँग राष्ट्र बैंकको सम्झौता



काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङलेप्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि आज गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी र आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो । समझदारीबमोजिम यस विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ ।

यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको छ ।

यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुनेविश्वास लिइएको छ । कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघुकर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे ।

यसैगरी, आईएफसीका आवासीय प्रतिनिधि फायेले नयाँ सहकार्य गर्ने अवसर दिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिँदै उक्त समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के र देवकुमार ढकाललगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्