महालक्ष्मी सोल्भेन्टको व्यापारमा १३९ प्रतिशतको उछाल, एकै वर्षमा बेच्याे ६ अर्ब बढीको खानेतेल « Arthapath.com
९ असार २०८३, मंगलबार

महालक्ष्मी सोल्भेन्टको व्यापारमा १३९ प्रतिशतको उछाल, एकै वर्षमा बेच्याे ६ अर्ब बढीको खानेतेल



काठमाडौं । पछिल्लो एक वर्षमा खानेतेल उत्पादन तथा प्रशोधन गर्ने कम्पनी महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालीको व्यापारमा ठूलो उछाल देखिएको छ। अघिल्लो वर्षको तुलनामा पछिल्लो एक वर्षमा कम्पनीको व्यापार १३९.३८ प्रतिशतले बढेको हो।

चालू आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले ६ अर्ब ९ करोड रुपैयाँको व्यापार गरेको छ। अघिल्लो आर्थिक वर्ष २०२३/२४ मा कम्पनीको व्यापार खुम्चिएर २ अर्ब ५४ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो। भारततर्फको निर्यातमा आएको सुधार र बजारको माग बढेका कारण कम्पनीको व्यापार पुरानै लयमा फर्किएको वित्तीय विवरणले देखाएको छ।

विगतका वर्षहरूमा महालक्ष्मी सोल्भेन्टको व्यापारमा निकै ठूलो उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०२०/२१ मा ५ अर्ब ७ करोड ६० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले आर्थिक वर्ष २०२१/२२ मा ६ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको उच्च कारोबार गरेको थियो।

तर, त्यसपछिका वर्षहरू कम्पनीका लागि निकै चुनौतीपूर्ण रहे। आर्थिक वर्ष २०२२/२३ मा व्यापार घटेर ३ अर्ब २५ करोड ७० लाख रुपैयाँमा झर्‍यो भने आर्थिक वर्ष २०२३/२४ मा सञ्चालन गतिविधि सुस्त हुँदा व्यापार थप ओरालो लागेर २ अर्ब ५४ करोड ४० लाख रुपैयाँमा सीमित हुन पुग्यो। लगातार दुई वर्षको गिरावटपछि आर्थिक वर्ष २०२४/२५ मा भने कम्पनीले १३९ प्रतिशत भन्दा बढीको फड्को मार्दै ६ अर्ब ९ करोडको व्यापारिक सफलता प्राप्त गरेको हो।

विगतका वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा आएको उतारचढाव, नीतिगत परिवर्तन तथा आयात-निर्यातमा आएको सुस्तीका कारण महालक्ष्मी सोल्भेन्ट लगायतका स्वदेशी उद्योगहरूको सञ्चालन गतिविधि कमजोर बन्दा व्यापार संकुचित भएको थियो। तर पछिल्लो समय भारततर्फ प्रशोधित भटमासको तेलको निर्यातमा आएको सुधार, मागमा वृद्धि तथा उत्पादनको राम्रो मूल्य प्राप्त भएका कारण कम्पनीको व्यापारमा ऐतिहासिक पुनरुत्थान देखिएको हो।

व्यापारसँगै कम्पनीको नाफा र ब्याज भुक्तानी गर्ने क्षमतामा पनि महत्वपूर्ण सुधार आएको छ। विगतका दुई आर्थिक वर्षहरूमा कम्पनी निरन्तर सञ्चालन नोक्सानीमा रहेका कारण ब्याज भुक्तानी गर्न सक्ने क्षमता ऋणात्मक अवस्थामा पुगेको थियो।

विशेष गरी आर्थिक वर्ष २०२३/२४ मा ६२ करोड ६० लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको कम्पनीले ब्याज भारका कारण ठूलो दबाब झेल्नुपरेको थियो। तर, आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले २५ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेपछि ब्याज भुक्तानी क्षमता १.४२ गुणाले सकारात्मक बनेको छ, जसले कम्पनीको ऋणको ब्याज तिर्न सक्ने क्षमतामा सुधार आएको संकेत गर्दछ।

नाफा सुधारिएसँगै कम्पनीले यस वर्ष ५ करोड ४० लाख रुपैयाँ खुद नाफा समेत कमाउन सफल भएको छ।

व्यवसायमा आएको यो सुधारसँगै रेटिङ एजेन्सी ‘इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल’ ले कम्पनीलाई दिइएको साख मूल्यांकनमा पनि परिमार्जन गरेको छ र यसअघिको ‘सहयोग नगरेको समूह’ बाट समेत हटाएको छ। एजेन्सीले कम्पनीको कुल ४ अर्ब ५५ करोड ३० लाख ६० हजार रुपैयाँ बराबरको बैंक कर्जा सुविधाहरूको रेटिङ अपग्रेड गरेको हो।

जसअन्तर्गत, कम्पनीको ४९ करोड ३० लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जा सुविधाको रेटिङ ‘आईआरएन बीबी माइनस’ बाट अपग्रेड गरी ‘आईआरएन बीबी’ प्रदान गरिएको छ। त्यसैगरी, कम्पनीले उपभोग गर्दै आएको ४ अर्ब ६ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जा सुविधाका लागि ‘आईआरएन ए४’ रेटिङ कायम गरिएको छ।

यद्यपि, व्यवसाय विस्तारका लागि लिइएको अल्पकालीन तथा दीर्घकालीन ऋणका कारण कम्पनीको पुँजीगत संरचना भने निकै ऋणमा आधारित र जोखिमपूर्ण देखिएको छ। आर्थिक वर्ष २०२३/२४ मा १ अर्ब ५३ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको कुल ऋण भार आर्थिक वर्ष २०२४/२५ मा बढेर ३ अर्ब ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ। कम्पनीको आफ्नो खुद सम्पत्तिको तुलनामा ऋणको अनुपात साढे ११ गुणा भन्दा बढी हुनुले वित्तीय जोखिम अझै पनि उच्च नै रहेको देखाउँछ।

ब्राजिल, अर्जेन्टिना र मलेसिया लगायतका देशबाट कच्चा पदार्थ आयात गरी नेपाल तथा भारतीय बजारमा ‘महालक्ष्मी’ र ‘साधगी’ ब्रान्डका प्रशोधित खानेतेल बिक्री वितरण गर्दै आएको यो कम्पनी बाराको लिपिनीमालमा अवस्थित छ। स्वदेशी औद्योगिक घराना त्रिवेणी र शिव शक्ति ग्रुपद्वारा संयुक्त रूपमा सञ्चालित यस उद्योगले आफ्नो कुल उत्पादनको करिब ८२ प्रतिशत हिस्सा भारतमा निर्यात गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्