क्रिप्टोकरेन्सीको कारोबारले अर्थव्यवस्थामा चुनौतीःसचेत हुन राष्ट्र बैंकको आग्रह « Arthapath.com
२६ माघ २०७८, बुधबार

क्रिप्टोकरेन्सीको कारोबारले अर्थव्यवस्थामा चुनौतीःसचेत हुन राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारले राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको बताएको छ । क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले एक सामग्री सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थव्यवस्थामा चुनौती थपिएको बताएको हो ।

राष्ट्र बैंक भन्छ, ‘नेपालजस्तो सीमित पुँजी भएको र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको देखिन्छ’ नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहेको छ ।

नवीन प्रविधिको सहयोगमा क्रस बोर्डर रूपमा सञ्चालित नेटवर्क मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेसिने जोखिम रहेको राष्ट्र बैंक बताउँछ । एकातिर स्वदेशबाटै पुँजी पलायन हुन सक्ने र अर्कोतिर विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

आईएमएफले २०२१ अक्टोबरमा जारी गरेको ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिपोर्टमा समेत क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको राष्ट्र बैंक बताउँछ ।

‘क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङ आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिन्छ’ राष्ट्र बैंकले भनेको छ ।

कुनै वित्तीय संस्थाको मध्यस्थताविना नै रकमान्तर हुने, बेनामी कारोबार हुने र यसको लेखाङ्कन कुनै बैंक वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा ब्लकचेन प्रविधिमार्फत गरिने भएकाले कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन राष्ट्र बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्