गर्भनर विश्वनाथ पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नयाँ नोट आजदेखि चलचल्तीमा « Arthapath.com
३ असार २०८३, बुधबार

गर्भनर विश्वनाथ पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नयाँ नोट आजदेखि चलचल्तीमा



कठमाडाैं । आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट बजारमा अाएकाे छन् । नेपाल राष्ट्र बैंकले आजैदेखि यी नयाँ नोटहरू बजारमा चलचल्तीमा ल्याउँदै यसको संकेत तथा नम्बरहरू सार्वजनिक गरेको हो।

केन्द्रिय बैंकका अनुसार नयाँ नोट लिनका लागि बैंक तथा वित्तीय संस्थाहरू राष्ट्र बैंक पुगिसकेका छन् र आजैदेखि यो नोट सर्वसाधारणको हातमा पुग्नेछ। यस ५०० रुपैयाँको नयाँ नोटको अगाडि र पछाडि विभिन्न महत्त्वपूर्ण सुरक्षण विशेषताहरू राखिएका छन्।

नोटको अग्रभागको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ भने बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। यसैगरी, पानीछापको बायाँतर्फ दृष्टिबिहीनहरूले सजिलै स्पर्श गरेर नोट पहिचान गर्न सकून् भनेर दुईवटा काला थोप्लाहरू राखिएका छन्।

नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ उल्लेख गरिएको छ भने पछाडिपट्टि अंग्रेजीमा सन् २०२५ लेखिएको छ। सगरमाथाको दायाँतर्फ सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने अण्डाकार आकृतिभित्र कुबेरको चित्र समाविष्ट छ।

यो नयाँ नोटमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने नोटमा ३.५ मीमी चौडा भएको, सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो प्रयोग गरिएको छ।


प्रतिक्रिया दिनुहोस्