११.०३ प्रतिशत ब्याज दिँदा पनि बैंकको निक्षेप बढेन्, सातामा ६ अर्ब कर्जा लगानी गर्दा १ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलन बढाउन ब्याज बढाएपनि निक्षेप संकलन खासै बढेको छैन् । फागुन महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपनि निक्षेप संकलनमा बृद्धि भएको देखिदैन् ।
फागुन २ सातामा वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । यसअघि माघ मसान्तसम्ममा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संलन गरेका वाणिज्य बैंकहरुले फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका हुन् । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब बढेको छ । यसअघि फागुन ६ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो ।
यता वाणिज्य बैंकहरुले दुइ सातामा १० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसअघि माघ अन्तिम साता ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले फागुन १३ गतेसम्ममा ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको हो । फागुन ६ गते ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । एक सातामा भने ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।
निक्षेप बढाउनको लागि फागुनमा बैंकहरुले ब्याजदर बढाएका थिए । फागुनमा १ प्रतिशत ब्याज बढाएर मुद्दती निक्षेप खातामा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । तर पनि निक्षेप संकलनमा खासै बढोत्तरि भएको देखिदैन् ।
