बैंकहरुले गाडी र विलासी सामग्रीको एलसी खोले कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

बैंकहरुले गाडी र विलासी सामग्रीको एलसी खोले कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी



काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडीलगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरूलाई निर्देशन दिएको छ ।

शोधनान्तर घाटा बढिरहेको र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र थप जोखिममा परेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई आकस्मिक रूपमा बोलाएर एलसी रोक्न निर्देशन दिएको हो ।

यदि ती वस्तु आयात गर्न एलसी खोलेको भेटिए कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी समेत दिएको छ । सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा आकस्मिक रूपमा बैंकका सीईओहरुलाई छलफलका लागि बोलाईएको थियो । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि समसामयिक विषयमा छलफल गर्न राष्ट्र बैंकले सोमबार २७ वटै बैंकका सीईओलाई बोलाएर छलफल गरेको थियो ।

सोमबारको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी भएका थिए । तर छलफलमा गभर्नर र डेपुटी गभर्नर भने उपस्थित भएका थिएनन् ।

बैठकमा सबै प्रकारका सवारी साधन र यसअघि निर्दिष्ट कम आवश्यक वस्तुको आयातका लागि मंगलबारदेखि नै एलसी बन्द गर्ने आग्रह गरिएको थियो । यसमा राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गर्ने पनि भनिएको स्रोतले बतायो ।

सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा माथि रहेकाले यसलाई सीमामा ल्याउन निर्देशन दिएको बैठकमा सहभागी एक सीईओले बताए । अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेकाले विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने अवस्थामा पुगेकाले गाडी आयातको एलसी रोक्न निर्देशन दिएको उनले बताए ।

सवारी साधनलगायत अत्यावश्यकबाहेकका आयातमुखी कर्जा कम गर्न पनि बैंकहरूलाई आग्रह गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले आफूहरूलाई आयातमुखी कर्जा प्रवाह कम गर्न निर्देशन दिएको बताइएको छ । अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेला अत्यावश्यकबाहेकका आयातमुखी कर्जा प्रवाह घटाउन आग्रह गर्ने विषयमा छलफल भएको एक सीईओ बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्