हिमालयन–सिभिल बैंक मर्जरमा जाने निष्चित, होटल याक एण्ड यतीमा भयो एमओयू

काठमाडौं । अन्तत हिमालयन बैंक र सिभिल बैंकविच मर्जर गर्न तयार भएका छन् । बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हिजो मध्यराती भएको सहमति अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्रतिकित्ता ८१ रुपैयाँमा अक्वायर गर्ने भएको छ । मर्जर सम्झौतामा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
झण्डै डेढ वर्षको प्रयासपछि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने भएको छ । गत शुक्रबार दुई बैंकको एमओयूको तयारी भएपनि कर्मचारी समायोजनमा कुरा नमिलेपछि स्थगित भएको थियो । हिमालयन बैंकले सिभिल बैंकका सीईओ शुनिल पोखरेललाई मर्जरप्रश्चात डेपुटी सीईओ बनाउन इन्कार गरेपछि मर्जरमा खटपट सुरु भएको थियो ।

अहिले कर्मचारीको सम्मानजनक समायोजन र डिडिएमा पनि लिखित सम्झौता गर्न हिमालयन बैंक तयार भएपछि दुबै बैंक सहमत भएका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ । हाल हिमालयन बैंकको चुक्ता पुंजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुंजी ९ अर्ब ७ करोड रहेको छ । त्यसै गरी जगेडा कोषमा हिमालयन बैंकको रु ८ अर्ब ३ करोड र सिभिल बैंक लिमिटेडको रु २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानी तर्फ हिमालयन बैंकको रु १ खर्ब ५८ अर्ब तथा सिभिल बैंकको रु ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेप तर्फ हिमालयन बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको रु ९३ अर्ब ३३ करोड रहेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल शाखा संख्या १८९ पुग्ने छन् । यस कदमले सस्थाको पुंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुनेछ । साथै मुलुकको सवल एवं सक्षम बैंकको रुपमा यस सस्था वित्तिय बजारमा स्थापित हुने, ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्ने र लगानी कर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुनेछ ।
कार्यक्रममा दुवै बैंकका संचालक समिति, मर्जर समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।