‘पहिले नै कमाएर जोगाएकाहरूले अहिले बढी लाभांश बाँडे’ « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

‘पहिले नै कमाएर जोगाएकाहरूले अहिले बढी लाभांश बाँडे’



रत्नराज बज्राचार्य, सीईओ, ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमईले पुँजी त धेरै बढायो, तर त्यस अनुसारको व्यवसाय विस्तार गर्न भने सकेन । यो बैंक अधिक पुँजीको बोझले आफैँ थिचियो भन्छन् नि ? 

त्यसो भन्नलाई आधार र कारण  हुन पर्‍यो नि । हामीले ठुलो संस्था बनाउन धेरै संस्था मर्जर गरेर मात्र यो स्थानमा आएका हौँ । ग्लोबल आईएमई बैंक थला परेको वा थिचिएको छैन ? यो बैंक स्थापना भएदेखि विगत १०–११ वर्षमा पुँजी बढ्दा पनि २०० प्रतिशत लाभांश दिइसकेका छ । सुरुमा लगानी गर्ने सेयर धनीहरूले ४०० प्रतिशत लाभांश पाइसक्नु भएको छ । हरेक वर्ष लाभांश दिएका छौँ । बोनस सेयर दिएर बढेको पुँजीमा २ सय प्रतिशत लाभांश दिएका छौँ । अबको ३–४ वर्षपछि बढी लाभांश दिने बैंक हामी नै हुन्छौँ ।  अनि यो बैंक कहाँ टाट पल्टियो, कहाँ गाह्रो भयो ? यस बैंकको काम गर्ने आफ्नै तरिका र शैली छन् । इष्र्याको भरमा यो बैंक डुब्छ भनेर बजारमा कसैले पनि कुरा गर्दैनन् होला । त्यो भनेको चाहिँ एक किसिमले आफूले आफैँलाई अवमूल्यन गर्ने हो नि । 

के नेपालमा यति ठुलो पुँजी भएको बैंक चाहिने हो र ?

आजभन्दा ६–७ वर्ष अगाडि बैंकको पुँजी २ अर्बबाट ८ अर्ब पुर्‍याएको हो । त्यस बेला पनि पुँजी बढी भयो भनिएकै हो । अहिले १० अर्ब भन्दा घटीको बैंक नै छैनन् । त्यस बेला पुँजी बढी हुन्छ भन्ने सोचाई थियो, त्यो सोच त ३–४ वर्ष पनि टिकेन । नेपालको लागि बैंकिङ् भनेकै पुँजीको आधारमा जाने हो । जति बिजनेस छ, पुँजीको आधार पनि त्यति नै बलियो हुनु पर्छ । व्यवसाय बढाउन पुँजी बढाउनै पर्छ । पुँजी बढ्दा बिजनेस पनि बढेकै छ । बैङ्कहरूको व्यावसायिक आकारलाई मूल्याङ्कन गर्ने हो भने पुँजी नबढेर बिजनेस नबढेको भन्ने त प्रमाणित नै भयो । चुक्ता पुँजी १४ अर्बमा बिजनेस ४ सय अर्ब पुग्छ । भनेको पुँजीसँगै बिजनेस पनि बढेकै छ । यसले बैंकको पुँजी आधार अझै बढाउनु पर्छ भन्ने देखिन्छ ।

बैंक अफ काठमान्डुलाई गाभेपछि ग्लोबल आइएमई बैंक कर्मचारी र ग्राहकको व्यवस्थापन गर्न नसकेर लथालिङ्ग हुन्छ भनिन्छ नि ?

त्यो भन्ने कुरा मात्र हो । अब त्यसरी सोचेर, भनेर मात्रै हुँदैन । आज हामीसँग ३ हजार कर्मचारी र ३ सय शाखा हुँदा पनि त लथालिङ्ग छैन । बैंक अफ काठमान्डु आफैँमा एउटा सुदृढ र बलियो बैंक हो । यी दुवै संस्था गाभेर अझ बलियो ढङ्गले सञ्चालन गर्ने सामर्थ्य हामीसँग छ । मर्जरले लथालिङ्ग हुन्छ भन्ने सोच नै गलत हो ।

बैङ्कहरूको प्रतिस्पर्धी बजारमा ग्लोबल आईएमईले धेरै संस्था गाभ्न त सफल भयो । तर व्यवसायमा तालमेल ल्याउन र त्यसै अनुसारको आक्रामक विस्तार गर्न त सफल देखिएन नि ?

किन भएन ? मैले तपाईँलाई भन्दछु त, १० वर्षमा २०० प्रतिशत  त लाभांश दिएका छौँ ।  अहिलेसम्म ग्लोबलको बजारमा जुन किसिमको छवि छ, ब्रान्डिङ छ, त्यसमा कमी आएको छैन । बरु यो बढ्दै छ । तालमेल (सिनर्जी) भएरै त यो सम्भव भएको हो ।  

सेयर धनीले पाउने लाभांश र ग्राहकले पाउने सुविधामा केही फरक छ ? 

मैले बारम्बार त्यही कुरा भनिरहेको छु । १०  वर्षमा त २ सय प्रतिशत लाभांश पाए भन्नुको मतलब वार्षिक औसत १८ देखि २० प्रतिशत प्रतिफल दिइरहेका छौँ । त्यो भनेको कुनै पनि बैंकले दिएको भन्दा बढी छ । कुनै बैंकले ३०–३५ प्रतिशत पनि दिएको होला । चुक्ता पुँजी बढी भएका कारण लाभांश दर घटिरहेको हो । त्यस बखत बढी लाभांश दिन सक्ने अवस्थामा पनि हामीले लाभांश धेरै नदिएर ‘रिटेन्ड अर्निङ’ बढाएको भए अहिले हामी झन्डै ३० प्रतिशतको प्रतिफल दिने अवस्थामा हुन्थ्यौँ । पहिले जसले रिटेन्ड अर्निङमा पैसा राखे, तिनै बैंकले अहिले त्यही पुरानो पैसा बाँडिरहेका हुन् । 

ग्लोबल आइएमई बैंकमा सञ्चालक समिति अध्यक्षको हस्तक्षेप बढी हुन्छ भन्छन्, प्रशासनिक नेतृत्व गर्दै गर्दा तपाईँको अनुभव कस्तो छ ?

सञ्चालक समितिमा अध्यक्ष मात्र नभनौँ, सञ्चालक समितिको कुरा गरौँ । बैंकको लागि नीति निर्देशन दिने काम सञ्चालक समितिको हो । निर्देशन दिँदा वा ‘यसरी जाऊँ’ भनेर बोर्डमा छलफल गर्दा कसरी हस्तक्षेप हुन्छ ? अध्यक्ष वा सञ्चालक समितिले यो यो तरिकाले गरौँ, यस्तो योजना बनाऔँ भन्दा त्यसलाई हस्तक्षेप भन्न मिल्दैन । तपाई आफैँले बिजनेस गरेर, २–४ करोड पैसा लगानी गरेर, मान्छे भर्ना गरेर चलाएको संस्थामा तपाईँ आफैँ इन्भेष्टरको नाताले कम्पनीले यसरी चलाउनुपर्छ भनेर सोच राख्नु हुन्न ? त्यही सोच हाम्रो बोर्डमा भएका लगानीकर्ताले राख्ने हो, अध्यक्षको काम पनि त्यही नै हो । 

यस बैंकमा प्रमुख कार्यकारी अधिकृतहरू ६–७ जना फेरिइसके । तर स्थापनादेखि नै सञ्चालक समितिको अध्यक्ष एउटै व्यक्ति कायम रहनु उचित हो ? 

त्यो उचित र अनुचितको कुरा होइन । उहाँको जुन किसिमको लगानी छ, अहिलेसम्म त्यही आत्मविश्वासका साथ बैंकलाई अगाडि बढाउन सक्षम भइरहनु भएको छ । त्यसमा उहाँले भन्दा पनि अरू सबै सञ्चालकले अध्यक्षमा निरन्तरता दिऊँ भन्ने गरेजस्तो लाग्छ मलाई । 

यति धेरै पुँजी र संयन्त्र भएको ग्लोबल आईएमई बैंक र सानो भनिएको सेन्चुरी बैंकको सेवामा ग्राहकले पाउने सेवामा खासै अन्तर छैन भने यति ठुलो बैंक किन चाहियो ? 

ठुलो बैंक भनेको ठुलो नेटवर्कमा जाने हो, ठुलो पुँजीमा जाने हो । कसैलाई सानो र कसैलाई ठुलो भनेर म भन्दिन । अहिले त सबै बैंक ठुलो भइसके । अब हामी ४ खर्बको बैंक हुन्छौँ । हामीसँग इन्डस्ट्रीलाई चाहिने सबै हिसाबले लगानी गर्न सक्ने क्षमता हुन्छ । 

पहिले बैंकको पुँजी आधार कम हुँदा ५० करोड लगानी गर्नु पर्‍यो भने पनि अर्को बैंकको साझेदारी खोज्नु पर्थ्यो । आज त हामी ६–७ अर्ब, १० अर्ब पनि एक्लै लगानी गर्न सक्ने भएका छौँ । ठुलो बैंक भइसकेपछि त्यही अनुसारको क्षमता विकास हुन्छ । हरेक बैंकको पुँजी अनुसार नै बिजनेस बढ्ने हुनाले बिजनेस बढाउन भन्दा पहिले पुँजी बढाउनु जरुरी हुन्छ । 

अब पुँजी बढाएर जाँदा हाम्रो प्रतिफल पनि बढ्दै जान्छ । सेन्चुरी बैंक वा हामी भन्दा साना बैंकले भनौँ, कति लाभांश दिन सक्छन् ? मानौँ, सेन्चुरी बैंकले कुनै शीर्षकमा ५ रुपैयाँले शुल्क लिएको छ, भने हामीले बढी लिन सक्छौ त ? राष्ट्र बैंकको नीति, निर्देशन अनुसार जाने हो । हामीले जति सेवा दिएका छौँ, हामीले लिने सेवाको शुल्क वा दर र अरू बैंकले लिने दर पनि त्यही हो । अझ हामी त ठुलो बैंक भएपछि झन् कम लिन्छौं । थोरै मार्जिन लिएर, ठुलो परिणाममा सेवा गरेर, दुई पैसा कमाएर अगाडि कसरी बढ्न सकिन्छ भन्ने कुरामा जाने हो । 

तपाई त एउटा बैंकमा एक पटक भन्दा बढी सीईओ नबन्ने मान्छे, ग्लोबल आइएमईमा चाहिँ दोहोर्‍याएर आउनुको कारण के हो ? 

बस्न त एकै पटक बसेको हो । तर, जनता बैंकसँग मर्जर भएको ६–७ महिनामै पूर्व सीईओ परशुराम जीले एक्कासि बैंक छोड्नुभयो । बैंकको प्रमुख कार्यकारी पद रिक्त भयो । त्यस बेलासम्म बैंक पनि ठुलो भइसकेको थियो । पहिले पनि चार वर्ष काम गरेको अनुभव मसँग थियो । यो बैंकको काम गर्ने शैली र बोर्डसँगको उठबस कायमै थियो । व्यवस्थापनलाई राम्रोसँग अघि बढाउन सक्छ भन्ने विश्वास गरेर नै सञ्चालक समितिले मलाई यो जिम्मेवारीमा आउनुस् भनेको होला । म आउँदा चार वर्ष सकेर आएको हो । दोहोर्‍याएर चार वर्षलाई आठ वर्ष बनाएको त होइन नि । 

हरेक वर्ष बैंकहरुमा तरलताको समस्या छ भनिन्छ, यस्तो समस्या सधैँ किन भइरहन्छ ? उद्यमीले कहिलेसम्म सहज रुपमा कर्जा पाउँछन् ?

३ करोड जनसङ्ख्या भएको नेपालको कुल गार्हस्थ्य उत्पादन अहिले पनि ४० अर्ब डलर भन्दा बढेकै छैन । ३ करोड जनसङ्ख्यामा ४० अर्ब डलरको इकोनोमी साइज भनेको सामान्य भन्दा पनि सामान्य हो । त्यसले के देखाउँछ भने, यहाँ इन्भेस्टमेन्टको कमी छ। लगानीको ठाउँ जति पनि छन् । लगानी हामीले जति बढाउन सकिन्छ, त्यसको आधारमा रोजगारी सिर्जना मात्रै हुँदैन व्यावसायिक विस्तार पनि हुन्छ । त्यसै आधारमा जनताको हातमा पुग्ने आय पनि बढ्ने हो । 

अहिले ग्लोबलले पनि एक किसिमको तरलता समस्या भोगिरहेको छ । अहिले २०–५० लाख रुपैयाँ एउटा शाखा कार्यालयमार्फत व्यवसाय गर्न दिएका छौँ । स्थानीय उद्यम व्यवसायलाई फस्टाउनका लागि पनि हामीले कर्जा रोकेका छैनौँ । ग्लोबल आइएमई बैंकले तरलताको समस्याकै बिचमा पनि सानोतिनो रकम दिएकै छ । 

अहिले वास्तवमा बैंकहरुमा तरलता समस्या भएको होइन, यो त ऋण लगानी गर्न व्यवस्थापन मिलाउन नसकिएको मात्रै हो । हामीले अहिले पनि २०–२२ प्रतिशतसम्म तरल सम्पत्ति राखेर दिएकै छौँ । राष्ट्र बैंकले २० प्रतिशतको तरलता राख्ने भन्दा पनि कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने भनेपछि बैङ्कहरू थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् । 

९० प्रतिशत कर्जा निक्षेप अनुपात राख्नु भनेको कम चाहिँ होइन । तर, जुन किसिमले स्रोत अर्थात् निक्षेप बढ्नुपर्ने थियो, त्यसरी वृद्धि हुन नसकेकाले समस्या भयो । अब राज्यले निक्षेप बढाउने विकल्पहरूको खोजी गर्नुपर्छ । राष्ट्र बैंकले विदेशी मुद्राको स्रोत पनि ल्याऊ भनेको छ । कतिपय बैंकले विदेशी मुद्रामा ऋण लिइरहेका छन् । हामीले पनि लिएका छौँ । तर, यस्तो ऋण लिनमा थुप्रै सीमितता र जोखिम छन् । 

अहिले लिएको ऋण ३–४ वर्षपछि विदेशी मुद्रामै फिर्ता गर्नुपर्ने हुन्छ । ब्याज पनि विदेशी मुद्रामै तिर्नुपर्ने हुन्छ । यसबिचमा नेपाली मुद्राको अवमूल्यन हुन्छ । विनियम दरमा भएको भिन्नताले बैंकहरुलाई विदेशी मुद्राको लिने ऋण महँगो पर्न सक्छ । यस्तो विनिमय जोखिम बहन गर्न हेजिङ जस्ता सुविधा नेपालमा छैन । विदेशी मुद्रामा ऋण दिँदा पनि धितो मूल्याङ्कनका व्यवस्थाहरू निकै कडा छन् । 

सरकारले अब ४० अर्ब डलरको जिडिपीलाई १५० अर्ब डलरको आकारमा कसरी पुर्‍याउने भनेर सोच्नुपर्छ र त्यही आधारमा लगानी परिचालन गर्नुपर्छ । यसका लागि प्रतिव्यक्ति आय र लगानीका क्षेत्र बढाउनु पर्छ । यसका लागि आवश्यक स्रोत कहाँबाट लिने भनेर गुरु योजना बनाएर गयो भने सजिलो हुन्छ । 

१५ देखि १८ प्रतिशतसम्म ब्याजको ऋणले व्यवसाय गरेर नाफा कमाउन सम्भव छ ? किन महँगो भयो कर्जाको ब्याज ? 

अहिले १२–१३ प्रतिशत त बैंकको लागत नै छ । ११ प्रतिशतमा मुद्दती निक्षेप लिएर त्यसको ९० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ । बाँकी १० प्रतिशत भार जोड्दा यसै पनि १२ प्रतिशत पुग्छ ।  त्यसमा सञ्चालन लागत २ प्रतिशत राख्दा १४ प्रतिशत भयो । १ प्रतिशत मात्रै नाफा जोड्ने हो भने कर्जाको ब्याज १५ प्रतिशत त पुगिहाल्यो । अहिले १८–१९ प्रतिशत कुनै पनि बैंकले लिएको जस्तो लाग्दैन । 

जहाँसम्म व्यवसाय फस्टाउँछ कि फस्टाउँदैन भन्ने कुरामा मेरो अलि भिन्न धारणा छ । जस्तै, ब्याजदर बढी भयो भनेर कुनै पनि ब्यवासय डुबेको छैन । व्यवसायीले ब्याज ब्याजदर जति बढी भए पनि ग्राहकहरूमा पास गरेका हुन्छन् । एकाध व्यवसायीले अचाक्ली प्रतिस्पर्धाका कारण अप्ठ्यारो भोगेका होलान् । नेपालका उपभोत्ताहरु प्रायः सेन्सेटिभ छैनन् । व्यापारीले हिजो १ सय रुपैयाँमा बेचेको सामान भोलि ११० बनाउँदा पनि कसैले त्यो सामान नकिन्ने भन्ने हुँदैन । ब्याज कम भएको अवस्थामा उनीहरूले सामानको भाउ उठाएर उपभत्तालाई राहत दिएको तपाई देख्नुभएको छ ? एक पटक मूल्य बढाई सकेपछि उसले घटाउँदै घटाउँदैन ।  त्यसमा कसैले पनि वास्ता गरिरहेको छैन । एक पटक ब्याज बढेर घट्यो भने व्यवसायीको नाफा झन् बढ्छ ।  

ग्लोबल बैंकले सेयर कर्जाको रूपमा दिएको ठुलो रकम अझै सीमा भित्र ल्याउन किन नसकेको हो ?

सबै कर्जा सीमाभित्र आइसक्यो । होइन भने त राष्ट्र बैंकले असार मसान्तमा शतप्रतिशत प्रोभिजन गर भनिहाल्थ्यो नि । 

व्यापारी दुर्गा प्रसाईँले ग्लोबल आइएमई बैंकबाट लिएको अरबौँ कर्जाको ब्याज नै तिर्दैनन् भन्ने छ । उनलाई विशेष छुट दिनुपर्ने कारण के हो ?

कसले भनेको तिर्दैनन् भनेर ? तिरिरहेका छन् । पुसदेखि तिरिरहेका छन् । 

राष्ट्र बैंकले ल्याएको कडा मौद्रिक नीतिले बैंकहरुको व्यवसायमा असर गरेको हो ?

कर्जा लगानी बढी नगर, त्यसमा पनि घरजग्गामा बढी नजाऊ भनेको हो । सेयर कर्जामा बढी कर्जा नदेऊ भनेको हो ।  राष्ट्र बैंकले दिएको दुई चार वटा नीति, निर्देशन सबै बैंकहरुले पालना गर्दै आएकै छ । अप्ठ्यारो पनि छैन । पहिले धेरै ऋण लिएर सेयरमा लगानी गरेका ऋणीलाई एकै पटक तिर्नुपर्दा गाह्रो भएको कुरा बेग्लै हो । 

हामीले जुन हिसाबले तरलता व्यवस्थापन गरिरहेका छौँ, त्यसमा बैङ्कहरू सक्षम छन् । आज कुनै पनि बैंकसंग  २०–२२ प्रतिशत भन्दा कम तरलता छैन । राष्ट्र बैंकले नयाँ नियमले थप कर्जा दिन र कर्जालाई कार्यदिशा दिनमा अलिकति नियन्त्रण गरेको छ । यस बाहेक बैकहरुलाई खासै ठुलो प्रभाव पार्दैन ।

ग्लोबल आइएमई बैंकको नम्बर १ बैंक बन्ने दौडमा हो ?

अहिले नै १ नम्बरमा छौँ त । नाफाले मात्रै ‘को अगाडि र को पछाडि’ भन्ने हुँदैन । बैंक अफ काठमान्डु कै कुरा गरौँ, १ अर्ब नाफा देखिएको छ । चीनबाट आउने पैसा आइसक्यो । यसले झनै नाफा बढ्छ । राष्ट्र बैंककै नीतिले गर्दा कुनै बैंकले कुनै समय पुराना ऋण उठाउँछन्, त्यसले नाफा ह्वात्तै बढ्छ । कसैले उठाउन सक्दैन, नाफा घट्छ । त्यस कारण हरेक वर्षको खुद नाफालाई मात्रै तुलना गरेर कुन ठुलो भन्ने छुट्याइनु हुन्न । कुन बैंक कति सबल छ, प्रोभिजन कति छ, सञ्चालन नाफा कुन ढङ्गले भइरहेको छ भनेर हेर्नुपर्छ । सबैभन्दा ठुलो कुरा, उसको वितरणयोग्य नाफा पनि देखाउन पर्‍यो । 

पक्कै पनि हामी भन्दा राष्ट्रिय वाणिज्य बैंक राम्रो हो । ऊ सरकारी बैंक भयो, सस्तो ब्याजमा निक्षेप पाइरहेका हुन्छ । ऋण दिँदा हामीसँग प्रतिस्पर्धी दरमा दिने, निक्षेप लिँदा सस्तो ब्याजमा पाउने अवस्था छ । यसले बैंकलाई बलियो पार्छ ।

तपाईँ त अब अवकाश जीवन जिउने हो, जागिर खान्न भनेको मान्छे । फेरि फर्केर यति ठुलो बैंक हाँकिरहनु भएको छ । गाह्रो लाग्दैन ? 

गाह्रो भएको भए त छोडेर जान्थे होला नि त । त्यस्तो किसिमको अनुभव छैन । मेरो क्षमतामा विश्वास गरेर आग्रह गरेपछि म स्वीकारेर आएको हुँ । आफ्नो काममा जिम्मेवारी लिएर बसेको छु । कुनै बेला गाह्रो भयो भन्ने लाग्यो भने अर्को कुनै सक्षम मान्छेलाई छोडेर जाने हो । अहिले जुन हिसाबमा बोर्डले विश्वास गरेर यो जिम्मेवारी दिएको छ, यसले मलाई कुनै अप्ठ्यारो छैन । यहाँ कार्यकारी टिम ‘एक–सय–एक’ राम्रा छन् । स्पष्ट निर्देशनका काम गर्न मलाई कुनै गाह्रो छैन । 

अब यही कार्यकालमा बिदा हुने सोच छ की अर्को कार्यकाल पनि बैंक हाँक्नु हुन्छ ?

अर्को कार्यकाल चाहिँ गर्दिन होला । 


प्रतिक्रिया दिनुहोस्