नबिल बैंकका सेयरधनी सधैँ मख्ख : हरेक वर्ष पाए उच्च प्रतिफल, यस्तो छ १८ वर्षे लाभांश इतिहाँस « Arthapath.com
२६ मंसिर २०७९, सोमबार

नबिल बैंकका सेयरधनी सधैँ मख्ख : हरेक वर्ष पाए उच्च प्रतिफल, यस्तो छ १८ वर्षे लाभांश इतिहाँस



काठमाडौं । नबिल बैंक ठुलो र अब्बल कहलिएको बैंकको रुपमा स्थापित भएको छ । संचालनमा रहेका मध्ये नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई आकर्षित लाभांश प्रदान गर्दै आएको छ ।

बैंक लगानीकर्ताको पनि सर्वाधिक रोजाई पर्नेमध्येको एक हो । बैंकले आफ्ना सेयरधनीलाई जति सक्दो उच्च प्रतिफल दिने गरेको छ । नेपाल बंगलदेश बैंकलाई प्राप्ति गरेपछि नबिल अझै बलियो बनेको छ । यति बेला बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

आइतबार बसेको बैंक संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
संचालनमा रहेका र हालसम्म लाभांश घोषणा गरेका बैंकमध्ये नबिल बैंकको सबैभन्दा धेरै हो । बैंकले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई अगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकको लाभांश इतिहाँस

बैंकको विगत १८ वर्षको इतिहाँस हेर्ने हो भने १४० प्रतिशतसम्म लाभांश दिएको छ । बैंकले आर्थिक वर्ष २०६३/६४ मा आफ्ना सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र १०० प्रतिशत नगद लाभांश दिएको थियो । त्यसपछि आव २०६४/६५ मा ४० प्रतिशत बोनस र ६० प्रतिशत नगद गरि कुल १०० प्रतिशत, आव २०६५/६६ मा ८५ प्रतिशत, आव २०६६/६७ मा ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आव २०६०/६१ मा ६५ प्रतिशत नगद, २०६१/६२ मा ७० प्रतिशत र आव २०६२/६३ मा ८५ प्रतिशत नगद लाभांश मात्रै नगद वितरण गरेको थियो ।

बैंकले आव २०६९/७० मा बोनस २५ र नगद ४० प्रतिशत दिएको थियो भने आव २०७०/७१ मा बोनस २० र नगद ४५ प्रतिशत दिएको थियो । आव २०६७/६८ मा नगद मात्रै ३० प्रतिशत दिएको बैंकले आव २०६८/६९ मा भने २० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरि कुल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आव २०७१/७२ मा २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांश, आव २०७२/७३ मा ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, आव २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत आव २०७४/७५ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरि आव २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत, आव २०७६/७७ मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले आव २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्