बिग मर्जर: थप दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको ताकेता, वाणिज्य बैंकहरुको संख्या १८ मा झर्दै !
काठमाडौं । नेपालमा वाणिज्य बैंकको संख्या घट्न थालेको छ । नेपाल राष्ट्रले बैंकको पुँजी वृद्धि गर्ने नीतिले बैंकहरुको संख्या घट्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले २०७४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको चुक्ता पुँजी वृद्धि गर्ने र संख्या घटाउने गरी नीति लिएको थियो । सोही नीति मार्फत २०७६ मा तत्कालीन ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्ज भएका थिए । त्यसपछि नै बीग मर्जरको सुरुवात भएको थियो ।
यस्तै, गत असारमा नै नबिल बैंकले नेपाल बंगलादेश बैंक प्राप्त गरि एकीकृत कारोबार गरेका थिए । पुस महिनामा मात्रै आठ वटा बैंक मर्जरमा जाने भएका छन् । जसमध्ये कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । यीमध्ये कुमारी र एनसीसी बैंकले गत सातादेखि नै एकीकृत कारोबार थालनी गरिसकेका छन् ।
यही पुस मसान्तभित्र अन्य ६ वटा बैंकले पनि एकीकृत कारोबार सुरु गर्दैछन् । पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने भएकाले पनि बैंकहरुले एकीकृत कारोबारको थालनी गर्न लागेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंकहरुलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिने केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था गरेको छ ।
सोही व्यवस्था बमोजिम नै भोलि अर्थात पुस २५ गतेदेखि ग्लोबल आइएमई र बैंकको अफ काठमाण्डूको एकीकृत कारोबार सुभारम्भ हुँदैछ । दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था ‘मर्ज’ गरिसकेको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार ‘ग्लोबल आईएमई बैंक लिमिटेड’को नामबाट हुने भएको हो । यी दुवै बैंक समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जाने निर्णय गरेका हुन् । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब बढी हुनेछ ।
यस्तै, पुस २६ गतेदेखि नै प्रभु बैंक र सेञ्चुरी बैंकले एकीकृत कारोबार थालनी गर्दैछन् । सेञ्चुरी बैंकलाई प्राप्तिपछि एकीकृत कारोबार भने प्रभु बैंक लिमिटेडबाट हुने भएको हो । यी दुवै बैंक १ः१ को अनुपातमा मर्ज भएका हुन् । मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ बढी हुनेछ ।
त्यसैगरि आगामी बुधवार (पुस २७ गतेदेखि) नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको पनि एकीकृत कारोबार हुँदैछ । मर्जपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट कारोबार सुरु हुने भएको हो । इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १०ः९० को अनुपातमा मर्ज भएका हुन् । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ बढी हुनेछ ।
यता, आगामी माघ महिनादेखि नै एकीकृत कारोबार गर्ने गरि हिमालयन बैंक र सिभिल बैंक पनि कसरत गरिरहेका छन् । यी दुवै बैंक १००ः८०.२८ को अनुपातमा मर्जरमा जाने भएका हुन् । यी दुवै बैंकहरु एक आपसमा गाभिएपछि बैंकको संख्या २१ मा झर्ने छ । राष्ट्र बैंकले नीतिगत व्यवस्थालाई निरन्तरता दिईरहेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली कार्यान्वयनमा आएपछि मर्जर कार्यले गति लिएको छ ।
पछिल्लो समय लक्ष्मी बैंक र सनराइज बैंक पनि मर्जरमा जाने भएका छन् । मर्जरमा जानका लागि दुवै बैंकले भोलि अर्थात पुस २५ गते सोमबार नै समझदारी पत्रमा हस्ताक्षर गर्दैछन् । यी दुवै बैंक १ः१ को अनुपात अर्थात समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपछि बैंकको २१ अर्ब रुपैयाँ बढी हुनेछ । यी दवै बैंक मर्जपछि नै वाणिज्य बैंकको संख्या २० मा झर्ने छ ।
राष्ट्र बैंकले पछिल्लो समय माछापुच्छ«े बैंक र सानिमा बैंकलाई पनि मर्जरमा जान ताकेता गर्दै आएको छ । यी दुवै बैंक पनि मर्जरमा गएको खण्डमा बैंकहरुको संख्या १९ मा झर्ने देखिएको छ ।
राष्ट्र बैंकले नेपालमा कति बैंक तथा वित्तीय संख्या आवश्यक छन् भनेर अध्ययन गरेको थियो । जति बेला नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा थिए । सो अध्ययन प्रतिवेदनमा नेपालमा अधिकतम १५ बैंकहरु भए पुग्ने उल्लेख थियो ।
नेपालमा सन् १९८० मा २ वटा, सन् १९९० मा ५, २००० मा १३, सन् २०१० मा २७ वटा रहेको थियो । नेपालमा सन् २०१२ मा ३२ वटासम्म वाणिज्य बैंक रहेका थिए । सन् २०२० बाट नै बैंकहरुको संख्या घट्न घटाउन सुरु भएको हो । सो अवधिको पछिल्लो साढे दुई वर्षमा नै १० वटा घटेका छन् । त्यसपछि नै बैंकहरुको संख्या घट्न थालेको हो ।















