शाखा प्रबन्धकको नेतृत्व विकासमा मेरो माइक्रो फाइनान्सको जोड « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शाखा प्रबन्धकको नेतृत्व विकासमा मेरो माइक्रो फाइनान्सको जोड



काठमाडौं। मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभर कार्यरत शाखा प्रबन्धकहरूको नेतृत्व, व्यवस्थापन तथा प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘शाखा उत्कृष्टता तथा भूमि प्रशासन’ विषयक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको हो।

नेपालगञ्ज, गोदावरी र लालगढमा तीन चरणमा सञ्चालन गरिएको उक्त तालिममा शाखा व्यवस्थापन, नेतृत्व विकास, भूमि प्रशासन, धितो मूल्याङ्कन तथा इन्जिनियरिङसम्बन्धी विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको दीर्घकालीन लक्ष्य, सेवा प्रवाहको प्रभावकारिता तथा कर्मचारीहरूको भूमिकाबारे प्रकाश पार्दै सहभागीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरित गरेका थिए।

तालिमका क्रममा बैंकिङ क्षेत्रका विज्ञ तथा बिफिनका प्रमुख कार्यकारी अधिकृत मुकुन्द सुवेदीले नेतृत्व सुदृढीकरण र व्यवस्थापकीय क्षमता विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। त्यसैगरी, सचिन भट्टराईले घरजग्गा तथा धितो मूल्याङ्कनसम्बन्धी विषयमा र इन्जिनियर सुबोध उपाध्यायले इन्जिनियरिङका प्राविधिक पक्षबारे प्रशिक्षण प्रदान गरेका थिए। संस्थाका सहायक प्रबन्धक उमेशमान डङ्गोलले कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रममा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्त, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ व्यवस्थापक राजु प्रसाद पुडासैनी, शेखर न्यौपानेलगायत व्यवस्थापन तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूले शाखा सञ्चालनलाई अझ प्रभावकारी, उत्तरदायी तथा परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। हाल मेरो माइक्रो फाइनान्सले देशका ६४ जिल्लामा रहेका १४९ शाखा कार्यालयमार्फत हजारौँ सेवाग्राहीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्