१० महिना यताकै कम बिन्दुमा सिडी रेसियो, ५५ खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

१० महिना यताकै कम बिन्दुमा सिडी रेसियो, ५५ खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप



काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) १० महिनाकै कम बिन्दुमा झरेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुको सीडी रेसियो ८४.८८ प्रतिशतमा झरेको छ । जुन, चालु आवको १० महिनाकै तुलनामा कम पनि हो । चालु आवको पहिलो महिनामा भने सीडी रेसियो ८८.०७ प्रतिशत रहेको थियो । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै छ । जसले सिडी रेसियो पनि निरन्तर घट्दो क्रममा देखिएको छ ।

बैंकहरुमा लगानीयोग्य रकम थपिँदै गएको छ । बैंकहरु कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका छन् । राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।
चालु आवको पहिलो महिना ८८.०७ प्रतिशतबाट घटेर भदौमा ८८ प्रतिशत कायम भएको थियो । नेपाल बैंकर्स संघका अनुसार असोजदेखि पुस महिनासम्म आईपुग्दा बैंकहरुको सीडी रेसियो निरन्तर घटेको देखिएको छ ।

असोज ८७.२० प्रतिशत, कात्तिकमा ८७.१९ प्रशित रहेको थियो । त्यसपछि मंसिरमा भने ०.७९ प्रतिशतले घटेर ८६.४० प्रतिशतमा झरेको थियो । गत पुसमा भने ८६.१४ प्रतिशतमा झरेको थियो । तर, गत माघ महिनामा भने बैंकहरुको सिडी रेसियो बढेर ८६.३९ प्रतिशत पुगेको थियो ।

माघदेखि यता भने फेरि निरन्तर सिडी रेसियोमा सुधार आएको छ । गत फागुन ८५.७३ प्रतिशत, चैत ८५.१९ प्रतिशत कायम भएको थियो । यद्यपि, नेपाल राष्ट्र बैंकको जेठ महिनाको पछिल्लो अपटेड अनुसार बैंकहरुको सिडी रेसियो ८४.७४ प्रतिशतमा झरेको छ ।

५५ खर्ब नाघ्यो निक्षेप, साढे ४८ खर्ब कर्जा लगानी

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब पुगेको हो ।

गत शुक्रबारसम्म भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप ५५ खर्ब २ अर्ब पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

वाणिज्य बैंकहरुको निक्षेप मात्रै ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह भने ४८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्