अन्तर बैंक ब्याजदर १ प्रतिशत तल: एकैदिन २३ अर्बले बढ्यो निक्षेप, उल्टै ७ अर्बले घट्यो कर्जा लगानी « Arthapath.com
२८ असार २०८०, बिहीबार

अन्तर बैंक ब्याजदर १ प्रतिशत तल: एकैदिन २३ अर्बले बढ्यो निक्षेप, उल्टै ७ अर्बले घट्यो कर्जा लगानी



काठमाडौं । अन्तर बैंक कारोबारको ब्याजदर १ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबारको ब्याजदर पनि झन् झन् घट्दै गएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर शून्य दशमलव ९० प्रतिशतको बिन्दुमा झरेको छ । यो मंगलबारसम्मको तथ्याङ्क हो । विशेषगरि बैंकहरुमा तरलता सहज हुँदै गएपछि नै यस्तो ब्याजदर घट्न पुगेको हो ।

पछिल्लो समय बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । मंगलबारसम्मको तथ्याङ्कअनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । एकैदिन बैंकिङ्ग प्रणालीमा २३ अर्ब रुपैयाँ निक्षेप भित्रिएको हो ।

वाणिज्य बैंकहरुको निक्षेप मात्रै एकैदिन १९ अर्ब रुपैयाँले वृद्धि भई ५० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । यतिबेला असार मसान्तको अन्तिम चटारो छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि कर्जा असुलीमा सक्रियता देखिाएका छन् । जसले निक्षेप बढी रहेको बैंकरहरु बताउछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा लागेका नै निक्षेप बढेको हो । उनले भने,–‘यति बेला चालु आर्थिक वर्ष सकिन लागेकको छ । आर्थिक वर्ष सकिन केही बाँकी हुँदा बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा केन्द्रित छन् । जसले निरन्तर निक्षेप बढेको छ ।’

बैंकिङ्ग प्रणालीमा निरन्तर निक्षेप थपिए पनि कर्जा लगानी भने उल्टै घटेको छ । राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ४८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको थियो । तर, त्यसको भोलिपल्टै अर्थात मंगलबारसम्म आईपुग्दा भने ७ अर्ब रुपैयाँले घटेको छ । बैंकहरुमा लगानीयोग्य पुँजी बढेता पनि कर्जा माग हुन नसकेको बैंकरहरु बताउछन् । ‘बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने ठप्प नै कम रहेको छ ’–एक बैंकरले भने ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी एकैदिन ६ अर्बले घटेको छ । गत सोमबारसम्ममा बैंकहरुले ४३ खर्ब १ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । तर, मंगलबारसम्म आईपुग्दा भने बैंकहरुको कर्जा प्रवाह घटेर ४२ खर्ब ९५ अर्ब रुपैयाँ कायम भएको छ ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग नभएको हो । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैंकहरुमा कर्जाको माग नभएको बैंकरहरुको भनाई छ ।

निरन्तर निक्षेप बढ्दै जाँदा कर्जाको माग कम छ । जसले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै आएको छ ।

हाल सीडी रेसयो ८१.६९ प्रतिशतको बिन्दुमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् । गत वर्षहरु बैंकहरु सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्