बैंकिङ्ग प्रणालीमा एकै दिन थपियो ९ अर्ब निक्षेप: बढ्दै कर्जा लगानी, घट्यो अन्तर बैङ्क ब्याजदर र सीडी रेसियो « Arthapath.com
२५ भाद्र २०८०, सोमबार

बैंकिङ्ग प्रणालीमा एकै दिन थपियो ९ अर्ब निक्षेप: बढ्दै कर्जा लगानी, घट्यो अन्तर बैङ्क ब्याजदर र सीडी रेसियो



काठमाडौं । बैङ्किङ प्रणालीमा एकै दिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । 

बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन ९ अर्बले बढेर ५६ खर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यो शनिवार सम्मको तथ्याङ्क हो । अघिल्लो दिन अर्थात् भदौ २२ गते शुक्रवारसम्म बैङ्क तथा वित्तीय संस्थासँग कुल ५६ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । 

सो अवधिमा वाणिज्य बैङ्कमा मात्रै एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत शुक्रबारसमम वाणिज्य बैङ्कहरूसँग ४९ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, त्यसको भोलिपल्टै ८ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेप वृद्धि भएता पनि कर्जा लगानी भने सुस्त देखिएको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा लगानी १ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ । हाल बैङ्क तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

वाणिज्य बैङ्कहरूको कर्जा लगानी भने एकै दिन २ अर्बले बढेको छ । हाल वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । 

बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसङै अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घटेको छ । हाल अन्तर बैङ्क कारोबारको ब्याजदर ६.१० प्रतिशत रहेको छ । यस्तो ब्याजदर एक दिनमै ०.१५ प्रतिशतले घटेको हो । 

निक्षेप बढ्दै जाँदा कर्जाको माग भने कम छ । जसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै आएको छ ।

हाल सीडी रेसियो ८३.५५ प्रतिशतको बिन्दुमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् । गत वर्षहरू बैङ्कहरू सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्