बैङ्कमा धेरै निक्षेप राख्नेमा बीमा कम्पनीहरू दोस्रो नम्बरमा, पहिलोमा नेपाली नागरिकहरू

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेपमा सबै भन्दा धेरै हिस्सा आम नागरिकको देखिएको छ । गत मङ्सिरसम्म बैङ्क तथा वित्तीय संस्थामा ६० खर्ब १८ अर्ब ५७ करोड ४४ लाख निक्षेप छ, त्यसमा नेपाली जनता (व्यक्तिगत) निक्षेपको हिस्सा ६२.३ देखिएको हो ।
नेपाल राष्ट्र बैङ्कबाट प्राप्त एक तथ्याङ्कले यस्तो देखाएको हो । तथ्यांकअनुसार मङ्सिरसम्म बैङ्क तथा वित्तीय संस्थामा व्यक्तिगत माध्यमबाट ३७ खर्ब ४६ अर्ब ९८ करोड ४६ लाख निक्षेप छ ।
बैङ्कमा धेरै निक्षेप जम्मा गर्नेमा बीमा कम्पनीहरू दोस्रो स्थानमा देखिएका छन्, बैङ्क तथा वित्तीय संस्थामा बीमा कम्पनीहरूले ५ खर्ब ४५ अर्ब २३ करोड ६० लाख रुपैयाँ निक्षेप राखेका छन् । बीमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजीमा न्यूनतम ७० प्रतिशत रकम बैङ्कको निक्षेपमा राख्नुपर्छ, त्यसले गर्दा पनि बैङ्कमा बीमा कम्पनीहरूको पैसा धेरै देखिएको हो । हाल नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनी छन् ।
तेस्रो स्थानमा भने गैर सरकारी संस्थाहरू रहेका छन्, उनीहरूले ३ खर्ब ९९ अर्ब ५७ करोड १९ लाख निक्षेप सङ्कलन गरेका छन् । चौथा स्थानमा भने सरकारी कम्पनीहरू रहेका छन्, सरकारी संस्थाहरूले ३ खर्ब ४१ अर्ब ३६ करोड ४५ लाख निक्षेप राखेका छन् ।
यसै गरी गैर नाफा मुलुक संस्थाहरूबाट १ खर्ब ७८ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषबाट १ खर्ब ५९ अर्ब ६२ करोड, विदेशी मुद्रामा १ खर्ब १६ अर्ब १९ करोड र नागरिक लगानी कोषबाट ८८ अर्ब ९३ करोड ९२ लाख निक्षेप जम्मा भएको छ ।
यसै गरी स्थानीय तहको ६२ अर्ब ५१ करोड ४० लाख, अन्तर बैङ्कको ४४ अर्ब ८३ करोड ९५ लाख निक्षेप छ । यसै गरी अन्य शीर्षकमा २ खर्ब ४७ अर्ब ५ करोड ९२ लाख र विविध शीर्षकमा ८७ अर्ब ८३ करोड ४५ लाख निक्षेप छ ।