थप घट्दै कर्जाको ब्याजदर, सस्तो ब्याजमा ऋण लिन ग्राहकले  कुन-कुन बैङ्क रोज्न सक्छन् ? « Arthapath.com
४ माघ २०८०, बिहीबार

थप घट्दै कर्जाको ब्याजदर, सस्तो ब्याजमा ऋण लिन ग्राहकले  कुन-कुन बैङ्क रोज्न सक्छन् ?



काठमाडौँ । पछिल्लो तीन महिनादेखि बैङ्कहरूको ब्याजदर घट्दो क्रममा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घट्दै आएको हो । 

गत कात्तिक महिनादेखि नै बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निरन्तर ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर (बेस रेट) पनि घट्न थालेको हो, जसले कर्जाको ब्याजदर समेत सस्तिन थालेको छ । 

हाल बैङ्कहरूको औसत आधार दर एकल अङ्कमा (सिङ्गल डिजिट) झरेको छ । अहिले बैङ्कहरूको औसत आधार दर १० प्रतिशतभन्दा कम अर्थात् ९.६९१ प्रतिशतमा आइपुगेको छ । 

आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ, आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तो हुन्छ । यसरी आधार दर घटेपछि ऋणीले सस्तो ब्याजदरमा नै कर्जा पाउँछन् । बेस रेटकै आधारमा हाल १२ वटा बैङ्कहरूबाट ऋण लिँदा सस्तो ब्याज पर्ने देखिएको छ ।

हाल स्ट्यान्डर्ड चार्टर्ड , राष्ट्रिय वाणिज्य बैङ्क, एभरेष्ट, नेपाल, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, सानिमा, ग्लोबल, नेपाल एसबिआई र कृषि विकास बैङ्कको आधार दर एकल अङ्कमा छ । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ ।

बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यसका आधारमा अहिले १२ बैङ्कले सस्तो ब्याजमा ग्राहकलाई ऋण उपलब्ध गराउन सक्ने अवस्थामा देखिएका हुन् । हाल बैङ्कबाट ऋण लिँदा १५.७७ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । यद्यपि, बैङ्कको आधार दर अनुसार फरक फरक हुन सक्छ । 

बेस रेटको आधारमा अहिले सबैभन्दा महँगो ब्याज हिमालयन, कुमारी र लक्ष्मी सनराइजको देखिएको छ । हाल हिमालय बैङ्कको आधार दर १०.७७ प्रतिशत, कुमारीको १०.६६ प्रतिशत र लक्ष्मी सनराइजको १०.६२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्