‘अर्थतन्त्र सुधारको सङ्केत चैतसम्म तथ्याङ्कमै देखिने छ’ सीईओ किरणकुमार श्रेष्ठको विचार « Arthapath.com
१० माघ २०८०, बुधबार

‘अर्थतन्त्र सुधारको सङ्केत चैतसम्म तथ्याङ्कमै देखिने छ’ सीईओ किरणकुमार श्रेष्ठको विचार



वित्तीय क्षेत्रमा समस्याहरू आइरहन्छन् । तर समस्याको प्रकृतिहरू फरक फरक हुन्छ । हामीले एक वर्ष अगाडी देखेको समस्या भिन्न थियो । त्यस बेला सिडी रेसियो असाध्यै टाइट भएको, लगानीयोग्य रकमको अभाव भएको अवस्था थियो । त्यसले गर्दा निक्षेपको ब्याजदर बढेर उच्च अङ्कमा पुगेको थियो । यसले कर्जाको ब्याजदरलाई पनि भारी मात्रामा बढाएको थियो । त्यस बेला नयाँ ऋण लिन खोज्नेले पैसा पाउन सकेका थिएनन् ।

यो एक वर्षको छोटो अवधिमा पनि समय क्रम बदलिएको छ । अहिले पोहोरको जस्तो समस्या छैन, भिन्न खालको समस्या आइपरेको छ । अहिले हामीसँग सिडी रेसियो ८० प्रतिशतको हाराहारीमा आएको छ । तरलता अनुपात २० प्रतिशत हुनुपर्नेमा त्योभन्दा बढी नै छ । ऋण दिने पैसाको पनि अभाव छैन । तर पनि जुन ढङ्गले कर्जा विस्तार हुनु पर्ने थियो, त्यो रूपमा अर्थात् हामीले अपेक्षा गरे जसरी कर्जा वृद्धि भइरहेको छैन ।

निक्षेप बढिरहने, तर कर्जा विस्तार नहुने अवस्थाले बैङ्कहरूको मुनाफामा सीधा असर पर्छ । यससँगै अहिलेको अर्को समस्या भनेको निष्क्रिय कर्जाको वृद्धि हो । अहिले सबै बैङ्कहरूको खराब अर्थात् निष्क्रिय कर्जा बढिरहेको छ । यसमा पनि निर्माणसँग सम्बन्धित क्षेत्र, होटेल व्यवसायसँग सम्बन्धित क्षेत्र र हार्डवेयर व्यवसाय सम्बन्धी क्षेत्रमा बढी मात्रामा निष्क्रिय कर्जा थपिएको देखिन्छ ।

निजी क्षेत्रबाट समयमा कर्जाको ब्याज तथा किस्ता भुक्तानी नहुँदा अहिले निष्क्रिय कर्जा बढ्ने र त्यसले गर्दा बैङ्कहरूलाई बढी पुँजीको आवश्यकता पर्ने अवस्था बनेको छ । अहिले आएर बिस्तारै व्यक्तिगत आवासीय कर्जा र अन्य व्यक्तिगत कर्जाहरू बढ्न थालेको छ । कृषि क्षेत्रमा पनि कर्जाको वृद्धि हुन थालेको छ । जलविद्युतमा पनि कर्जाको माग बढ्न थालेको छ ।

नेपाल–भारत ऊर्जा व्यापार सम्झौता अघि बढेपछि अहिले जलविद्युतमा पुनः एक पटक लगानीकर्ताहरू उत्साहित हुन थालेको देखिएको छ । पछिल्ला केही महिना र हप्तामा देखिएका यी परिवर्तनले आउँदा दिनमा आर्थिक परिस्थिति बिस्तारै सुधारोन्मुख हुने सङ्केत गरेका छन् । अहिलेको प्रवृत्ति सुधार भएर अगाडी जाने सम्भावना बलियो बनेको छ । यो हाम्रा लागि सकारात्मक सन्देश पनि हो ।

लयमा फर्किँदै छ कर्जा माग

अहिले ब्याजदर निकै तल आइसक्दा पनि कर्जा बढेन भनेर ठुलो चर्चा सुनिन थालेको छ । कर्जाका विभिन्न कम्पोनेन्ट हुन्छन्, त्यसमध्ये एउटा कम्पोनेन्ट मात्रै ब्याजदर हो । ब्याजदर कहिल्यै पनि निर्णायक कम्पोनेन्ट होइन । व्यवसाय विस्तार हुन त्यसका लागि आवश्यक वातावरण तयार हुनु पर्छ । लगानीकर्ताको मनोबल बढ्नुपर्छ ।

अहिले बजारमा आर्थिक गतिविधिको तीव्रता बढ्न सकिरहेको छैन । यस्ता कुराहरूमा बदलाव नआई उच्च दरमा कर्जाको माग बढ्दैन । तर हामीले पछिल्ला २–३ महिनाका अल्पकालीन परिवेशलाई नियाल्ने हो भने थुप्रै सकारात्मक सङ्केतहरू देखिन थालेका छन् ।

अहिले पनि ठुला कर्पोरेट कर्जाको माग पनि बढ्न सकेको छैन र धेरै बैङ्कहरू त्यसतर्फ बढी उत्साही पनि देखिँदैनन् । तर वैयक्तिक खालका कर्जाको माग बिस्तारै बढ्न थालेको छ । व्यक्तिगत घर निर्माण, कृषि, जलविद्युतजस्ता क्षेत्रमा अहिले कर्जाको माग बढ्न थालेको छ । यी गतिविधिहरूले अर्थतन्त्रमा पार्ने प्रभाव केही समय पछि नै तथ्याङ्कका रूपमा प्रतिबिम्बित हुने छ ।

अहिले हामी पुस मसान्तका प्रतिवेदनहरू नियालिरहेका छौँ । मेरो विचारमा यो त्रैमासको अन्त्यसम्म पुग्दा अर्थात् चैतको तथ्याङ्कहरू आउँदा हाम्रो घरेलु अर्थतन्त्र चलायमान हुन थालेको कुरा तथ्याङ्कबाटै देखिन्छ भन्नेमा म विश्वस्त छु ।

युवा पलायनको प्रभाव

आर्थिक क्षेत्रका तथ्याङ्कहरू सुधारको सङ्घारमा छन् । बाह्य क्षेत्रलाई हामीले पहिले नै निकै बलियो हालतमा पुर्‍याइसकेका छौँ । आयातमा कमी आइरहेको छ । डलरकै भाउमा रेमिटेन्स बढिरहेको छ । यसले हाम्रो विदेशी विनिमय सञ्चिति, चालु खाता र भुक्तानी सन्तुलनजस्ता बाह्य क्षेत्रका सूचकहरू बलियो अवस्थामा फर्किएका छन् ।

भित्री पक्ष अर्थात् हाम्रो आन्तरिक अर्थतन्त्रमा पनि सुधारका चिंगारी देखिन थालेका छन् । सरकारले निर्माण क्षेत्रको सम्पूर्ण बक्यौता छिट्टै नै भुक्तानी गर्ने कुराहरू आइरहेका छन् । पुँजीगत खर्च बढाउने कुराहरू आइरहेका छन् । सरकारी खर्च बढाउन नयाँ तौरतरिकाले जोड दिइराखिएको छ । यी दुई कुरा मात्रै सफल भए भने यसले आन्तरिक अर्थतन्त्रमा राम्रै सकारात्मक प्रभाव ल्याउँछ ।

अहिले धेरै मानिसहरू बिदेसिए । त्यसले गर्दा समष्टिगत उपभोगमा सङ्कुचन आयो । बैङ्कहरूमा प्रतितपत्र  (एलसी) नै खुल्न छाड्यो भन्ने कुराहरू आइरहेका छन् । अहिले ठुलो सङ्ख्यामा युवाहरू बिदेसिएको सत्य हो । त्यो युवा समुदाय कुनै पनि अर्थतन्त्रमा सबैभन्दा धेरै उपभोग गर्ने उमेर समूहमा पर्छ ।

औद्योगिक उत्पादन र सेवाको बढी उपभोग गर्ने ठुलो जमान देश बाहिर जाँदा त्यसले समष्टिगत मागमा प्रभाव पार्नु स्वाभाविक हो । तर युवा पलायनलाई रोक्न हामीसँग अहिले नै कुनै ‘जादुको छडी’ छैन । किनकि, युवा पलायन कुनै एक समस्या वा कारणद्वारा भएको होइन ।

यहाँ पाइने रोजगारी, यहाँको शिक्षाको स्तर, यहाँ आफ्नो भविष्य सुनिश्चितता, वातावरणीय पक्ष जस्ता थुप्रै पक्षहरूले युवा पलायनमा भूमिका खेलेका छन् । हामीमध्ये धेरैले वातावरणीय पक्षले युवा पलायनमा खेलेको भूमिकाबारे नजरअन्दाज गरेका छौँ । अहिले हिमाली र पहाडी क्षेत्रमा यस्ता थुप्रै वातावरणीय कारणहरू देखिएका छन् ।

ती चाहे बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका विषय हुन् वा जङ्गली जनावरको अतिक्रमणसँग जुध्नुपर्ने बाध्यताहरू पनि हुन् । यस्ता कुराले धेरै प्रभाव पारेको छ । जैविक विविधताको संरक्षण गर्ने कयौँ कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा देखिएका असहजताले पनि युवाहरूलाई त्यस खालको सम्भाव्य व्यवसायमा जोड्न सकिरहेको छैन ।

। यहाँको जीविकोपार्जन लागत र कमाइको तादाम्याता कारण पनि मानिसहरू बिदेसिएको देखिन्छ । नेपालीहरू बिदेसिन थाल्नुमा धेरै लामो सिलसिला जोडिएको छ र यसका अत्यन्त धेरै कारणहरू पनि छन् । तर त्यसको अर्थ यो होइन की, युवा पलायनले नै अहिले अर्थतन्त्रलाई उठ्नै नसक्ने गरी प्रभाव परेको छ । युवा पलायनले प्रभाव पारेको छ, तर मेरो विचारमा यसको प्रभाव अहिले चर्चा भएजस्तो विशाल होइन । यसको प्रभाव सामान्य नै देखिन्छ ।

वित्तीय विवरणको सन्देश

फेरि वित्तीय क्षेत्रमै फकिऊँ । यो आर्थिक वर्षको ६ महिनाको विवरणहरू प्रकाशित भइसकेका छन् । बैङ्कहरूको वित्तीय विवरणले दुई वटा मुख्य कुरा दर्साएको देखिन्छ । सबै बैंकको मुनाफा घटेको छ । बैंकले कर्जा जोखिमका लागि छुट्याउनु पर्ने प्रोभिजन रकम बढेको छ । र दोस्रो कुरा चाहिँ स्वाभाविक रूपमा निष्क्रिय कर्जा बढेको छ ।

यी विवरणहरूले बैंकिङ क्षेत्र र यसको व्यवसाय अहिले पनि अलि चुनौतीपूर्ण अवस्थामै छ भन्ने देखाउँछ । अब हामी सबैले रिकभरीको पक्षमा, निष्क्रिय कर्जा व्यवस्थापनको पक्षमा र कर्जा वृद्धि गर्ने पक्षमा बढी नै जोड दिएर अघि बढ्नुपर्ने देखिएको छ ।

फेरि पनि म अत्यन्त आशावादी छु । अबका दिनमा बैङ्कहरूको हालत मात्रै होइन, हाम्रो समग्र अर्थतन्त्रको गतिशीलतामा पनि सुधार हुने छ र त्यो हुनै पर्छ ।

(सीईओ श्रेष्ठसँग कुराकारीमा आधारित)


प्रतिक्रिया दिनुहोस्