नविल बैंकले ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’, विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न प्रेरित
काठमाडौं । नबिल बैंकले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ ।
देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो ।
आज (बिहीबार) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको थियो । कार्यक्रममा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल लगायतका विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले बिदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले बिदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पु¥याउने मेरो विश्वास छ’ मन्त्री भण्डारीले भने ।
श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले मिडियामा बिदेसिएका नेपालीहरुको मात्र समाचार बन्ने र फर्केका नेपालीहरुको डाटामा कुरा नहुने बताउँदै नबिलले फर्केका नेपालीहरुको सिपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम अहिलेको आवश्यकता रहेको बताए ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए । ‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले यस्ता योजनामार्फत बैंकले दिगो यात्रालाई जोड दिएको बताए । बैंकले सार्वजनिक गरेको यस्तो स्किम दिगो बैंकिङ विकासको लागि कोशेढुंगा साबित हुने उनले उनको भनाइ छ ।
यस्ता छन् विशेषता
बैंकका अनुसार यो कर्जा विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने छ ।
बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइने छ । यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने जनाएकोे छ ।