जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्ष समीक्षा, बीमकसँग सुझाव संकलन « Arthapath.com
२४ असार २०८३, बुधबार

जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्ष समीक्षा, बीमकसँग सुझाव संकलन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी (रिस्क बेस्ड क्यापिटल–आरबीसी) कार्यान्वयनको दुई वर्ष पूरा भएको अवसरमा यसको समीक्षा, बीमकहरूको अनुभव आदान–प्रदान तथा प्रस्तावित परिमार्जनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी प्रणाली सफलतापूर्वक कार्यान्वयन भइरहेको बताए।

सुवेदीले दुई वर्षको कार्यान्वयन अवधिमा देखिएका सहज तथा चुनौतीपूर्ण पक्षबारे छलफल गरी आगामी दिनमा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन ठोस सुझाव दिन बीमा कम्पनीहरूलाई आग्रह गरे।

उनले बीमकहरूबाट प्राप्त सुझावका आधारमा जोखिममा आधारित पूँजीसम्बन्धी व्यवस्था समयानुकूल तथा व्यावहारिक रूपमा परिमार्जन गरिँदै जाने स्पष्ट पारे।

प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आरबीसी कार्यान्वयनमा प्राप्त सिकाइ, मूल्याङ्कन, समीक्षा तथा अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा आवश्यक सुधार र परिमार्जन गर्दै प्रणालीलाई थप प्रभावकारी बनाइने बताए।

कार्यक्रममा प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षको समीक्षा तथा प्रस्तावित संशोधनसम्बन्धी प्रस्तुति दिइन्। उनले तथ्याङ्कको गुणस्तर र प्रणाली सुधार, बीमाङ्की क्षमताको विकास, संस्थागत जोखिम संस्कृतिको प्रवर्द्धन, जोखिम व्यवस्थापन सुदृढीकरण तथा समयमै प्रतिवेदन पेस गर्न प्राधिकरणले बीमा कम्पनीहरूसँग अपेक्षा गरेको जानकारी दिइन्।

जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले आरबीसी कार्यान्वयनका सम्बन्धमा संघले दिएका सुझावलाई प्राधिकरणले समेटेको भन्दै आभार व्यक्त गरे।

अन्तरक्रियामा सहभागीहरूले आरबीसी कार्यान्वयनका क्रममा प्राप्त अनुभव साझा गर्नुका साथै जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकामा रहेका र प्रस्तावित व्यवस्थाबारे जिज्ञासा राखेका थिए।

सोही अवसरमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्तप्रसाद बोहराले यस वर्षदेखि बीमा क्षेत्रका सम्पूर्ण तथ्याङ्क समेटिएको वार्षिक प्रकाशन ‘इन्स्योरेन्स स्टाटिस्टिकल इयर बुक २०८१/८२’ प्रकाशन सुरु गरिएको जानकारी दिए।

कार्यक्रममा जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख तथा आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक करुणा थापाले गरिन्।


प्रतिक्रिया दिनुहोस्