बाहिरिँदै चार ‘भेट्रान’ सीईओ, ठूला बैंकहरुले यसरी गर्दै छन् नेतृत्व परिवर्तन « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

बाहिरिँदै चार ‘भेट्रान’ सीईओ, ठूला बैंकहरुले यसरी गर्दै छन् नेतृत्व परिवर्तन



काठमाडौं । आगामी तीन महिनाभित्र औपचारिक रुपमै चार जना भेट्रान सीईओहरुको बहिर्गमन हुने भएको छ । देशका प्रमुख बैंकहरुले यही चैतदेखि असारसम्ममा व्यवस्थापकीय नेतृत्वमा परिवर्तन गर्ने छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक, निजी क्षेत्रका ठूला दुई बाणिज्य बैंक र देशकै सबैभन्दा ठूलो विकास बैंकले पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन गर्ने भएका हुन् ।

सरकारी स्वामित्वको सबैभन्दा ठूलो राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण श्रेष्ठको कार्यकाल यही २८ चैतमा सकिँदै छ । सरकारी बैंकमा २ कार्यकाल बिताइसकेका उनी तेस्रो कार्यकालका लागि भने नियुक्त हुन नपाउने व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) ले गरेको छ ।

उक्त पदमा सरकारले नै नियुक्ति दिने छ । एमाले निकट रहेका श्रेष्ठ कानूनी अड्चन नहुँदो हो भने पुनः सीईओमा तेहेरिने संभावना पनि रहन्थ्यो । सत्ता साझेदारीमा एमाले पनि भएकाले उनको पुनः नियुक्तिको संभावना हुने भए पनि कानूनी अड्चनका कारण उनी बाहिरिने निश्चित भएको छ ।

उनको ठाउँमा अहिले बैंककै नायब प्रमुख कार्यकारी अधिकृत रहेका देवेन्द्ररमण खनाल नयाँ सीईओ बन्ने संभावना बढी छ । उनी नेकपा माओबादी निकट मानिन्छन् । अहिले अर्थमन्त्री र प्रधानमन्त्री दुबै जना माओबादीबाटै भएका कारण उनको संभावना बढी छ ।

तर यो पदमा नेपाल बैंकका पूर्व सीईओ कृष्णबहादुर अधिकारीकाे पनि संभावना रहेकाे देखिन्छ । हालैमात्र सरकारी स्वामित्वकै नेपाल बैंकमा माओबादी निकट सीईओ नियुक्त भएका कारण उनले आफ्नो संभावना देखेका हुन् ।

‘नेपाल बैंकमा माओबादी निकट सीईओ नियुक्त हुनु र राष्ट्रिय बाणिज्य बैंकमा यस अघिदेखि नै एमाले निकट सीईओ रहनुले त्यो पद एमालेको भागमा पर्नसक्ने संभावना बढी रहेको छ’, अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यसैले एमालेसम्बद्ध व्यक्तिहरु पनि चासोपूर्ण रुपमा हेरिरहेका छन् ।’

कृष्ण अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि पनि आवेदन दिएका छन् । त्यहाँ अहिले नै नियुक्ती प्रक्रियाले गति लिइनसकेको भए पनि सुरुआति आवेदन दिने १९ जनामध्ये उनी एक हुन् । उनी एमालेको भाग जहाँ आउँछ, त्यहीँ नियुक्ति लिने प्रयासमा छन् ।

यसअघि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री रहेका बेला राष्ट्रिय बाणिज्य बैंकको सीईओ बन्न भुपेन्द्र पाण्डेले पनि ठूलै मिहेनत गरेका थिए । यसअघि पनि साेही बैंककाे डिसिईओ छाडेर निफ्रा हुँदै नेपाल बंगलादेश बैंककाे डिसिईओ बनेका थिए । पाण्डे बंगदादेश बैंक नविलमा मर्जर भएपछि नविलकै डिसिईओ रहेका छन् ।

अहिले नबिल बैंकका डेपुटी सीईओ रहेका पाण्डेले त्यहाँ जाने तयारी गरेको भए पनि पछिल्लो समय सत्ता गठबन्धनमा आएको फेरबदलको कोपभाजनमा उनी परेका छन् ।

ग्लोबलमा अन्योल

कयौं सूचकहरुमा देशकै सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आईएमई र केही सूचकहरुमा अग्रणी रहेको नबिल बैंकमा पनि नेतृत्व परिवर्तत हुने भएको छ ।

ग्लोबल आईएमई बैंकलाई अहिले पुराना सीईओ रत्नराज (आरआर) बज्राचार्यले नेतृत्व गरिरहेका छन् । उनको कार्यकाल आगामी साउन २४ गते सकिँदै छ । बाफियाको उमेरहद सम्बन्धि व्यवस्थाका कारण अब उनी कुनै पनि बैंकको सीईओमा नियुक्त हुन पाउने छैनन् ।

बाफियाको नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले २०७६ साउनबाट उमेर हदको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । उक्त व्यवस्था अनुसार ६५ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंकको सीईओ नियुक्त हुन वा पुनरनियुक्त हुन पाउने छैन ।

६५ नाघ्नु अघि नै सीईओ भइसकको व्यक्ति भने ६९ वर्ष पुग्दासम्म सीईओ बन्न पाउने छ । ७० टेकेपछि जागिर छाड्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि प्राइम कमर्शियल बैंकका तत्कालिन सीईओ नारायणदास मानन्धरले उक्त व्यवस्था विरुद्ध अदालतबाट फैसला ल्याएर ८० वर्ष पार हुँदासम्म सीईओमा कायम रहेका थिए ।

ग्लोबल आईएमईमा अब नयाँ सीईओ को हुन्छ भन्ने सुनिश्चित छैन । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल यो बैंकको अध्यक्ष छन् । उनी केही महिनायता नयाँ सीईओको खोजिमा लागेको बैंकका अधिकारीहरु बताउँछन् ।

अहिले बैंकको बरिष्ठ डेपुटी सीईओ सुरेन्द्र रेग्मीलाई नयाँ सीईओ बनाउने संभावना पनि हुनसक्ने कतिपयको बुझाइ छ । ग्लोबलमा भित्रैका कर्मचारीलाई बढुवा गर्ने प्रबृत्ती निकै राम्रो छ । तर सीईओ बनेपछि त्यहाँ टिक्न भने मुस्किल रहेको पूर्व प्रमुख कार्यकारीहरु बताउँछन् ।

धेरै संस्थाहरु मर्जर गरेका कारण बैंकलाई एकरुपतामा ल्याउन कठीन हुनु, संस्थागत सुशासनमा तुलनात्मक रुपले कमजोर मानिनु र बैंकको आकार आफैंमा ज्यादै ठूलो हुनुले त्यहाँ हत्तपत्त मानिसहरु सीईओ बन्ने आँट गरिहाल्न सक्दैनन् ।

ढकालले अहिले नै अरु बैंकमा सीईओ रहेका, अवकाश लिएर बसेका र अन्य बैंकमा सीईओको दाबेदार रहेका व्यक्तिहरुलाई पनि आग्रह गर्दै आएका छन् । बाहिरबाट सीईओ लान नसक्ने रेग्मी पनि सीईओ नबन्ने अवस्थामा उनले आफ्ना विस्वासपात्र सुमन पोखरेललाई नयाँ सीईओ बनाउने संभावना छ ।

पोखरेल लामो समय आईएमईमा रेमिटेन्स व्यवसाय हेर्ने व्यक्ति भए पनि अहिले उनले ढकाल नेतृत्वको कर्पोरेट ग्रुपमा राम्रै लगानी पनि गरिसकेका छन् । आईएमई समूहमा ढकालका एक विस्वासपात्र र साझेदारका रुपमा रहेका पोखरेललाई हालैमात्र डेपुटी सीईओको रुपमा बैंकमा लगिएको छ ।

बैंकका कतिपय अधिकारीहरु भने पोखरेल अहिले पनि युवाअवस्थामै रहेको र उनी अन्य कम्पनीहरुमा समेत सक्रीय रहेका कारण तत्कालै सीईओ नबन्ने संभावना पनि रहेको बताउँछन् ।

आधा कार्यकालमै ढुंगाना बाहिरिँदै

देशकै अर्को ठूलो बैंक नबिलमा पनि नेतृत्व परिवर्तत हुने सुनिश्चित छ । त्यहाँ अहिले ज्ञानेन्द्र ढुंगाना सीईओ छन् । तत्कालिन नेपाल बंगलादेश बैंकको सीईओ रहेका उनले बंगलादेशी प्रबद्र्धकहरुको सेयर विनोद चौधरीलाई खरीद गर्न मद्दत गरेका थिए ।

विदेशमा भएको उक्त खरीद विक्रीपछि नेपालमा पनि ती दुई बैंकलाई गाभ्नमा ढुंगानाले भूमिका खेलेका थिए । सोही ‘गुन तिर्न’ र मर्जरपछि बैंकलाई एक हदसम्म व्यवस्थित गर्न भनेर उनलाई आधा कार्यकालको नियुक्ति दिइएको थियो ।

बाफियाले बैंकका सीईओको कार्यकाल ४ वर्षको हुने भने पनि उनलाई २ वर्षका लागिमात्रै नियुक्ति दिइएको हो । उनको यो छोटो कार्यकाल आउने असार २४ गते सकिँदै छ । ढुंगालाई निश्चित उद्देश्यले बैंकमा भित्र्याएका कारण उनलाई अझै सीईओमा कायम राख्ने मनस्थितिमा चौधरी परिवार देखिँदैन ।

नबिलमा धेरैले मनोज ज्ञवालीलाई सम्भावित नयाँ सीईओको रुपमा हेरेका छन् । उनी अहिले डेपुटी सीईओ छन् । ज्ञवालीभन्दा बरिष्ठ डेपुटी सीईओ सुजित शाक्य पनि त्यहाँ छन् ।

नबिलका केही अधिकारीहरु भने ‘बैंकिङमा जागिर खान्न’ भनेर छाडेका र ‘५० वर्षमा अवकाश’ लिनुपर्ने भनेर पुस्तक नै लेखिसकेका भुवन दाहाललाई नयाँ सीईओको संभाव्य उमेद्वारको रुपमा हेरिरहेका छन् ।

यी घटनाहरुले नबिलको भावि सीईओमा ज्ञवालीको संभावना निकै बलियो रहेको देखाएका छन् ।

१६ वर्षे सीईओको अवकाश

विकास बैंकहरुमा अग्रणी रहेको गरिमा विकास बैंकको सीईओ गोविन्द ढकाल पनि यही चैत मसान्तबाट बाहिरिँदै छन् । ढकाल उक्त बैंकको दोस्रो सीईओ हुन् । २०६४ मंसिरमा स्याङ्जाको वालिङमा एक जिल्ले विकास बैंकको रुपमा स्थापना भएको गरिमामा उनी २०६५ मंसिरबाट उनले बैंकको नेतृत्व गरेका थिए ।

गत मंसिरमा उनी यो बैंकको कार्यकारी प्रमुख बनेको १५ पुगेर १६ वर्ष लाग्यो । एक जिल्ले बैंकलाई राष्ट्रिय स्तरमा पुर्याउनमात्रै होइन, देशकै ‘नम्बर १’ संस्थाको रुपमा उभ्याउन उने जीवनको उर्वर १६ वर्ष खर्चिए ।

ढकाल बाहिरिने भएपछि उनको ठाउँमा माधवप्रसाद उपाध्यायलाई नयाँ सीईओ नियुक्त गरिएको छ । गत चैत १४ को सञ्चालक समितिले हालका डेपुटी सीईओ उपाध्यायलाई आगामी वैशाख १ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्