एउटै बैंकलाई ११ वर्षसम्म लुटिरहने ‘घरजग्गा कारोबारी’लाई मृत्युदण्ड « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

एउटै बैंकलाई ११ वर्षसम्म लुटिरहने ‘घरजग्गा कारोबारी’लाई मृत्युदण्ड



काठमाडौं । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ।

हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवनमा अहिले अदालत छ। अदालतको पहेँलो प्रवेशद्वारभित्र भियतनामको एउटा ठूलो ब्याङ्कलाई ११ वर्षभन्दा बढी समय ‘लुटेको’ अभियोग खेपेकी एक ६७ वर्षीया महिलालाई कठघरामा उभ्याइयो। ती महिला घरजग्गा कारोबारी हुन्।

अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो।

यो मुद्दामा प्रस्तुत आँकडा अत्यास लाग्ने खालका छन्। ट्रूङ मी लानले साइगन कमर्शल ब्याङ्क ९एससीबी० बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको थियो।

अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर अभियोजनकर्ताहरूले त्यो रकमध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशङ्का व्यक्त गरेका छन्। केही व्यक्तिले हराइरहेको रकम फेला पार्न उनलाई दबाव दिने उद्देश्यले उनलाई मृत्युदण्डको सजाय सुनाइएको अनुमान गरेका छन्।

यो मुद्दा किन अभूतपूर्व

प्रायः गोप्यता राख्न रुचाउने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन्। यो मुद्दामा २,७०० जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न थिए।

प्रमाणहरू १०४ वटा बाकसमा राखिएका छन्। तिनको तौल छ टन छ। ट्रूङ मी लानसहित ८५ जनालाई प्रतिवादी बनाइएको थियो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन्। उनीसहित १४ जनालाई मृत्युदण्ड माग गरिएको थियो।

“यसरी कम्युनिस्ट शासनकालमा सार्वजनिक रूपमा यो स्तरमा प्रचार गरेर विगतमा कहिल्यै पनि सुनुवाइ भएको थिएन,” अमेरिकी विदेश मन्त्रालयका अवकाशप्राप्त अधिकारी डेभिड ब्राउन भन्छन्।

यसलाई कम्युनिस्ट पार्टीका महासचिव नुइन फू चानको नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानको सबैभन्दा नाटकीय अध्याय मानिएको छ।

कम्युनिस्ट पार्टीले किन यो बाटो रोज्यो ?

मार्क्सवादका सिद्धान्तप्रति प्रतिबद्ध परम्परावादी विचारक नुइन फू चान अनियन्त्रित भ्रष्टाचारप्रतिको मानिसहरूको आक्रोशले कम्युनिस्ट पार्टीको शक्तिमाथिको एकाधिकारप्रति गम्भीर खतरा उत्पन्न गराउने ठान्छन्।

सन् २०१६ मा व्यापार पक्षधर नीतिहरूको पैरवी गर्ने तात्कालिक प्रधानमन्त्रीलाई पाखा लगाउँदै पार्टीको मुख्य जिम्मेवारीमा उनले आफ्नो निरन्तरता कायम राखे।

उनको अभियानले दुई राष्ट्रपति र दुई उपप्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको छ र सयौँ अधिकारीहरूलाई कारबाही गरिएको छ वा जेलमा हालिएको छ। अहिले देशकै एक सर्वाधिक धनी महिला पनि त्यो सूचीमा परेकी छन्।

ट्रूङ मी लान हो ची मिन्ह सहरमा बसोबास गर्ने चिनियाँ मूलको भियतनामी परिवारबाट आएकी हुन्। पहिला साइगन भनिने उक्त सहरमा चिनियाँ मूलका मानिसहरूको ठूलो उपस्थिति छ। कम्युनिस्टविरोधी दक्षिण भियतनामको राजधानी भएको समयदेखि नै उक्त सहर देशको अर्थतन्त्रको मुख्य इन्जिन हो।

उनले आफ्नी आमासँगै बजारमा शृङ्गारका सामान बेचिन्। कम्युनिस्ट पार्टीले ुदोई मोईु नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मै उनी घरजग्गा किन्न थालिन्। सन् १९९० को दशकमा धेरै होटल र रेस्टुराँहरू उनको स्वामित्वमा थिए।

भियतनाममा तीव्र गतिमा उत्पादनशील क्षेत्र विस्तार भइरहेको छ। आपूर्तिकर्ताका रूपमा भियतनामलाई चीनको विकल्पका रूपमा हेर्न थालिएको छ। अधिकांश धनाढ्य भियतनामीहरूले घरजग्गाजस्ता सम्पत्तिबाटै प्रशस्त आम्दानी गरेका छन्।

त्यहाँ सबै जमिन राज्यको स्वामित्वमा हुन्छ। तर त्यसमा पहुँच पाउन सरकारी अधिकारीहरूसँगको सम्बन्धले भूमिका खेल्छ। अर्थतन्त्र विस्तार भइरहँदा भ्रष्टाचार बढ्यो र त्यसले एउटा विकराल समस्याको रूप लियो।

ट्रूङ मी लान को हुन् ?

ट्रुङ मी लान सन् २०११ सम्म हो ची मिन्ह सिटीमा चर्चित व्यापारीका रूपमा स्थापित भइसकेकी थिइन्। उनले आर्थिक सङ्कट खेपेका तीनवटा साना ब्याङ्क गाभेर एउटा ठूलो ुसाइगन कमर्शल ब्याङ्कु बनाउने अनुमति पाएकी थिइन्।

भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि ब्याङ्कमा पाँच प्रतिशतभन्दा बढी शेअर राख्न प्रतिबन्ध लगाउँछ। तर अभियोजकहरूका अनुसार सयौँ ुशेल कम्पनीु खडा गरेर र नक्कली मानिसहरू उभ्याएर उनले साइगन कमर्शल ब्याङ्कको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन्।

अभियोजकहरूले उनलाई आफ्नो शक्तिको प्रयोग गरेर आफू निकटका व्यक्तिहरूलाई व्यवस्थापक नियुक्त गरेको आरोप लगाएका छन्। त्यसबाहेक आफ्नो नियन्त्रणमा रहेका शेल कम्पनीहरूबाट सयौँ ऋण स्वीकृत गराउन भूमिका खेलेको आरोप पनि उनलाई लागेको छ।

ऋण लिएर घरमा थुपारेको आरोप

लिइएको ऋणको परिमाण पनि छक्क पार्ने खालको छ। सो ब्याङ्कले प्रवाह गरेको ऋणको ९३ प्रतिशत उनले लिएको देखिन्छ।

अभियोजकहरूका अनुसार सन् २०१९ को फेब्रुअरीदेखि तीन वर्षको अवधिमा उनले आफ्ना चालकलाई चार अर्ब डलरभन्दा बढी रकम ब्याङ्कबाट निकाल्न लगाएकी थिइन्। त्यो रकम उनको घरको भुइँतलामा थुपारिएको थियो।

भियतनामको सबैभन्दा ठूलो ब्याङ्क नोटबाट त्यति रकम निकाल्दा पनि त्यसको कुल तौल दुई टन हुने बताइन्छ। आफ्नो ऋणमाथि कहिल्यै पनि अनुसन्धान नगरियोस् भन्ने सुनिश्चित गर्न घुस खुवाएको आरोप पनि उनीमाथि छ।

केन्द्रीय ब्याङ्कका एक प्रमुख निरिक्षणकर्तालाई पनि उनीसँग मिलेमतो गरेको अभियोग लागेको छ। उनले ५० लाख डलर घुस लिएको भन्दै आजीवन कारावासको सजाय माग गरिएको छ।

यो प्रकरण अहिले किन बाहिर आयो ?

विगतमा देखा पर्ने गरेका भड्किला तस्बिरहरूको सट्टा अदालतमा उपस्थित हुँदा खिचिएको उनको तस्बिर सार्वजनिक भए पनि मानिसहरूको भ्रष्टाचारप्रतिको आक्रोश उनीमार्फत् पोखिएको छ।

तर त्यत्ति लामो समयसम्म यो स्तरको ठगीबाट उनी कसरी जोगिन सफल भइन् भन्नेबारे पनि प्रश्न उठेको छ। ‘म तीनछक्क परेको छु,’ सिङ्गापुरस्थित युसुफ इशक इन्स्टिट्यूटको भियतनाम अध्ययन कार्यक्रमका सञ्चालक लि होङ हिपले भने।

“किनभने यो गोप्य थिएन। बजारमा ट्रूङ मी लान र उनको समूहले एससीबीलाई अधिकांश मुख्य केन्द्रहरूमा घरजग्गा हासिल गर्न आफ्नै सम्पत्ति जसरी प्रयोग गरेको कुरा छर्लङ्ङ थियो।”

उनले उक्त ब्याङ्क मात्रै यसरी प्रयोग नभएको भन्दै यस्तै खालका अन्य कैयौँ घटना पनि भएका हुनाले सरकारले राम्रोसँग निगरानी गर्न नसकेको हुन सक्ने बताए।

तर अमेरिकी विदेश मन्त्रालयका पूर्वअधिकारी डेभिड ब्राउन उनलाई हो ची मिन्ह सहरको व्यापार र राजनीतिमा दशकौँदेखि प्रभाव कायम राखेका शक्तिशाली व्यक्तिहरूले जोगाएको हुन सक्ने ठान्छन्। उनले सुनुवाइ अघि बढिरहेको पछिल्लो अवस्थाले ठूलो कुरातिर सङ्केत गरेको भन्दै कम्युनिस्ट पार्टीले दक्षिणको खुला व्यापार चक्रमाथि आफ्नो प्रभुत्व कायम गर्न प्रयास गरेको हुन सक्ने बताए।

“नुइन फू चान र दलभित्रका उनीहरूका साझेदारहरूले साइगनमा आफ्नो नियन्त्रण पुनः कायम गर्ने वा त्यसलाई आफ्नो नियन्त्रणबाट गुम्न नदिने प्रयास गरिरहेका छन्।”

“सन् २०१६ सम्म हनोई पार्टीले चिनियाँ मूलका भियतनामी माफियाहरूलाई यो चलाउन दियो। उनीहरूले स्थानीय कम्युनिस्ट नेताहरूले चाहे जस्तै स्वर निकाल्थे तर त्यही बेला उनीहरूले त्यहाँबाट आम्दानी भइरहेको रकमको ठूलो हिस्सामा भाग लिए।”

विकास, भ्रष्टाचार र विरोधाभास

उनान्सत्तरी वर्षीय नुइन फू चानको स्वास्थ्य कमजोर छ। सन् २०२६ मा हुने कम्युनिस्ट पार्टीको आगामी अधिवेशनबाट उनले अवकाश पाउने लगभग निश्चित छ।

उनी सबैभन्दा लामो समय पदमा बहाल हुने महासचिव हुन् र उनले सन् १९८० को सुधारयता पार्टीको परम्परावादी तप्कामा आफ्नो अभूतपूर्व प्रभाव कायम गरेका छन्।

उनले राजनीतिक सत्तामा पार्टीको प्रभाव कमजोर हुने गरी पर्याप्त खुलापन अङ्गीकार गर्ने जोखिम उठाउन नचाहेको देखिन्छ।

तर उनी पनि विरोधाभासको भुमरीमा परेको देखिन्छ। उनको नेतृत्वमा सो दलले भियतनामलाई सन् २०४५ भित्र प्रविधि र ज्ञानमा आधारित धनी देश बनाउने लक्ष्य राखेको छ। यसले अमेरिकासँगको साझेदारीलाई अझ निकट बनाइरहेको छ।

तर भियतनाममा उत्पन्न द्रुत वृद्धिले त्यहाँ भ्रष्टाचार पनि अझ धेरै भइरहेको सङ्केत गर्छ। भ्रष्टाचार नियन्त्रणका लागि धेरै कठोर भएर जाँदा त्यसले आर्थिक गतिविधिलाई सङ्कुचित गर्ने जोखिम रहन्छ। त्यहाँ भ्रष्टाचारमा आफू दोषी ठहर हुन सक्ने भयका कारण प्रशासन संयन्त्र सुस्त हुन थालेको गुनासो पनि सुनिन थालेको छ।

“त्यो एउटा विरोधाभास हो। उनीहरूको वृद्धिको ढाँचा लामो समयदेखि भ्रष्ट आचरणमा निर्भर छ। भ्रष्टाचारले नै त्यो संयन्त्रलाई काम गर्ने बनाइरहेको छ। यदि उनीहरूले त्यसलाई बन्द गरिदिए भने त्यसले काम नगर्न पनि सक्छ।”

-बीबीसी नेपाली सेवाबाट ।


प्रतिक्रिया दिनुहोस्