टाटाको सबैभन्दा विलासी इलेक्ट्रिक एसयूभी अर्को वर्ष आउने, यस्ता छन् विशेषता
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड ‘अभिन्या’ अन्तर्गतको पहिलो विलासी इलेक्ट्रिक एसयूभी सन् २०२७ सम्ममा बजारमा ल्याउने तयारी गरेको छ।
काठमाडौँ । भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सले प्रविधि र विलासिताले भरिएको आफ्नो नयाँ विद्युतीय एसयूभी ‘एभिन्या एक्स’ (कोडनेम पि२) बजारमा ल्याउने घोषणा गरेको छ।
कम्पनीका अनुसार यो नयाँ मोडल सन् २०२६ को अन्त्यतिर विश्व बजारमा सार्वजनिक गरिनेछ भने सन् २०२७ देखि यसको बिक्री वितरण सुरु हुनेछ।
टाटाले यस गाडीलाई आफ्नो प्रिमियम सब-ब्रान्ड ‘एभिन्या’ अन्तर्गत उत्पादन गर्न लागेको हो। यो नयाँ कार चेरी-जेआरएल (सीजेलआर) प्लेटफर्ममा आधारित रहने बताइएको छ, जसमा फ्रिल्यान्डर एसयूभी अवधारणाको प्रविधि समेत प्रयोग गरिएको छ।
विशेषता र क्षमता
नयाँ एभिन्या एक्समा ६० किलोवाट आवरदेखि ८० किलोवाट आवर क्षमताको ब्याट्री प्याक हुने अनुमान गरिएको छ। एक पटकको पूर्ण चार्जमा यसले ५०० किलोमिटरभन्दा बढीको माइलेज दिने दाबी गरिएको छ। द्रुत चार्ज (फास्ट चार्जिङ) सुविधासहित आउने यस गाडीमा आधुनिक प्रविधिहरू समावेश गरिएका छन्।
यसमा ठूलो फ्लोटिङ सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम, चारजना बस्न मिल्ने लाउन्ज जस्तै सिट प्लान, प्यानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा र एडास (एडीएएस) जस्ता आधुनिक सुरक्षा प्रणाली रहनेछन्। यसका साथै गाडीबाट अन्य उपकरण वा अर्को गाडी चार्ज गर्न मिल्ने ‘भीटुभी’ र ‘भीटिएल’ प्रविधि समेत यसमा उपलब्ध हुनेछ।
उत्पादन योजना
टाटा मोटर्सले यस विलासी गाडीको उत्पादन तामिलनाडुको पनापाक्कममा रहेको नयाँ उत्पादन केन्द्रबाट गर्ने योजना बनाएको छ। टाटा मोटर्स प्यासेन्जर भेहिकल्स र जगुआर ल्यान्ड रोभर (टिएमपिभी-जेएलआर) को संयुक्त पहलमा स्थापना गरिएको उक्त प्लान्टको उत्पादन क्षमतालाई क्रमशः बढाउँदै वार्षिक दुई लाख ५० हजार युनिट पुर्याउने लक्ष्य राखिएको छ।
यो नयाँ उत्पादनसँगै टाटाले विश्वव्यापी डिजाइन र प्रविधिको स्तरमा आफ्नो बलियो उपस्थिति देखाउने प्रयास गरेको छ।
इलेक्ट्रिक गाडीको बढ्दो बजार
यो नयाँ गाडीको घोषणा यस्तो समयमा गरिएको हो, जब भारतीय बजारमा विद्युतीय सवारी साधनको माग निकै तीव्र गतिमा बढिरहेको छ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार सन् २०२६ को मे महिनामा मात्रै २६,२२१ युनिट विद्युतीय यात्री गाडीहरू बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशतको वृद्धि हो। सन् २०२५ को मे महिनामा जम्मा १४,५८० युनिट विद्युतीय गाडी बिक्री भएका थिए।
यस क्षेत्रमा टाटा मोटर्सको दबदबा कायमै देखिएको छ। कम्पनीले सन् २०२६ को मे महिनामा १०,२३१ युनिट इलेक्ट्रिक गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ५,०६८ युनिटको तुलनामा १०२ प्रतिशतले बढी हो।
बजारमा आफ्नो यही पकडलाई अझ बलियो बनाउन टाटाले विभिन्न मूल्य र खण्डहरूमा नयाँ इलेक्ट्रिक गाडीहरू भित्र्याउने रणनीति लिएको देखिन्छ।
















