मुक्तिनाथले कमायो सर्वाधिक नाफा: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्ग, तीन विकास बैंकबीच प्रतिस्पर्धा « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

मुक्तिनाथले कमायो सर्वाधिक नाफा: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्ग, तीन विकास बैंकबीच प्रतिस्पर्धा



काठमाडौं । विकास बैंकहरुको नाफा सामान्य गिरावट आएको छ । हाल संचालनमा रहेका मध्ये राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे २ प्रतिशत घटेको छ ।

बैंकहरुले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल आठ वटा राष्ट्रिय स्तरका विकास बैंक संचालनमा छन् ।

चालु आवको ९ महिनामा ती बैंकहरुले ३ अर्ब ५१ करोड ६६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएका छन् । तर, यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने २.५० प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकहरुले ३ अर्ब ६० करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थिए ।

वित्तीय रिपोर्टअनुसार ४ वटा बैंकहरुका नाफा बढेको छ भने बाँकी ४ वटा विकास बैंकको नाफामा भने गिरावट देखिएको छ ।
नाफामा मुक्तिनाथ बैंक नै अगाडि छ । बैंकले ९ महिनामा ८७ करोड १८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ८.१४ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा पनि बैंकले ८० करोड ६१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तर, सबैभन्दा धेरै नाफा बढाउनेमा भने सांग्रिला डेभलपमेन्ट बैंक देखिएको छ । बैंकको नाफा ९.४४ प्रतिशत बढेको छ । बैंकले ९ महिनामा २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको छ। तर, गत आवको सोही अवधिमा भने बैंकले २४ करोड ६१ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कामना सेवा विकास बैंकको नाफा पनि ८.४ प्रतिशत बढेर ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ पुगेको छ। यता, गरिमा विकास बैंकको नाफा २.४२ प्रतिशत बढेर ६६ करोड १२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक देखिएको छ । बैंकले ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने यो ७.१८ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा भने बैंकले ५५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख र ज्योति विकास बैंकले १५ करोड २४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ। तर, गत आवको तेस्रो त्रैमासको तुलनामा भने क्रमशः २६.९१ प्रतिशत र २४.३९ प्रतिशत कमी हो ।


प्रतिक्रिया दिनुहोस्