‘आरओई’मा स्ट्याण्डर्डले जित्यो: एभरेष्ट र प्राइम शीर्ष सूचीमा, बैंकहरुको प्रतिफल दिने सामर्थ्य कति ? « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

‘आरओई’मा स्ट्याण्डर्डले जित्यो: एभरेष्ट र प्राइम शीर्ष सूचीमा, बैंकहरुको प्रतिफल दिने सामर्थ्य कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले औसतमा साढे ८ प्रतिशत प्रतिफल दिन सक्ने गरि नाफा कमाएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकहरुको रिटर्न अन इक्विटी (आरओइ) औसत ८.५४ प्रतिशत रहेको छ । पछिल्लो केही वर्षदेखि बैंकहरुको आरओई घट्दै गएको छ ।

विशेषगरि कोरोना महामारी पछि नै बैंकहरु औसत आरओई घट्न थालेको हो । कारोना महामारी र आर्थिक मन्दी सुरु हुनभन्दा अघि भने बैंकहरुको औसत आरओई नै १५ देखि २० प्रतिशत हाराहारीमा रहेको थियो । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलता, बढ्दो खराब कर्जाले बैंकहरुको नाफामा प्रभावित भईरहेको छ । नाफामा असर परेपछि आरओईमा पनि क्रमश घटेको छ ।

आर्थिक मन्दी लगायतले बैङ्कहरूको व्यवसाय बढ्न सकिरहेको छैन । बैङ्कहरूको खराब कर्जा पनि बढ्दो छ । बैङ्कहरूले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुट्ट्याएका छन् । जसले नाफा प्रभावित बनेको छ । यसको असर आरओईमा पनि देखिएको हो । समिक्षा अवधिमा बैंकहरुको खुद नाफमा पनि साढे १३ प्रतिशत घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा २० वटा बैंकहरुसँग कुल ६ खर्ब ८२ अर्ब २९ करोड ६९ लाख रुपैयाँ खुद सम्पत्ति छ । समिक्षा अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सेयरमा प्रतिफलको दरले कम्पनीको वास्तविक लाभांशलाई प्रतिनिधित्व गर्दैन । तर यसले धेरै हदसम्म कम्पनीको वित्तीय स्वास्थ्य प्रस्ट्याउन सघाउँछ । सेयर लगानीकर्तालाई पनि यो अनुपातले कम्पनीको छनोट गर्न सघाउँछ । नेटवर्थको आधारमा तयार हुने भए पनि यो तथ्यांकले कुनै कम्पनीलाई बढी वा घटी मुनाफा बाँड्ने सहजता कति छ भनेर थाहा पाउन सकिन्छ ।

आरओईमा बैैंकहरुको उछिनपाछिन देखिएको छ । यसअघि शीर्ष सूचीमा पर्ने बैंकहरुको पोजिशन पनि विस्तारै तल झरेको देखिन्छ । यता, आरओईकै आधारमा कमजोर मानिने बैंकहरुको भने माथिल्लो सूचीमा पर्न थालेका छन् । उनीहरुले आफ्नो स्थान अघि बढाउँदै आएका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै आरओई स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । बैंकको आरओई १९.११ प्रतिशत छ । हाल बैंकसँग १९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ खुद सम्पत्ति छ भने कुल २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने बैंक दोस्रो स्थानमा रहेको थियो ।

यस्तै, गत वर्षको तेस्रो त्रैमासमा तेस्रो स्थानमा रहेको एभरेष्ट बैंक आफ्नो पोजिशन बढाएको छ । आरओईको आधारमा एभरेष्ट बैंक हाल दोस्रो सूचीमा छ । बैंकसँग २६ अर्ब ६८ करोड ७ लाख रुपैयाँ खुद सम्पत्ति छ । बैंकले खुद सम्पत्तिको १४.५९ प्रतिशत प्रतिफल दिन सक्ने सामार्थ्य बनाएको हो । तेस्रो त्रैमासमा बैंकले २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यता, गत वर्षको तेस्रो त्रैमासमा नवौं स्थानमा रहेको प्राइम बैंक भने हाल तेस्रो सूचीमा आइपुगेको छ । बैंकले खुद सम्पत्तिको १४.३० प्रतिशत प्रतिफल दिन सक्ने क्षमता छ । बैंकसँग २९ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ बराबरको खुद सम्पत्ति छ ।आरओईको आधारमा नबिल बैंक भने चौंथो स्थानमा छ । नाफामा नम्बर नबिलसँग नेटवर्थको १२.१६ प्रतिशत प्रतिफल दिन सक्ने सामार्थ्य बनाएको छ । हाल बैंकसँग ५६ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ खुद सम्पत्ति छ । तेस्रो त्रैमासमा बैंकले कुल ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

तर, गत वर्षको तेस्रो त्रैमासमा पहिलो स्थानमा रहेको एनआईसी एशिया बैंकको आरओई घटेको छ । चालु आवको सोही अवधिमा बैंक आठौं स्थानमा पुगेको छ । हाल बैंकसँग ३० अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद सम्पत्ति छ । बैंकले खुद सम्पत्तिको ८.९७ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत बनाएको हो । समिक्षा अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

आरओईको आधारमा पाँचौं स्थानमा भने एनएमबि बैंक छ । बैंकले खुद सम्पत्तिको कुल ११.३४ प्रतिशत प्रतिफल दिन सक्ने क्षमतामा छ । हाल बैंकसँग कुल २८ अर्ब ८६ करोड ४ लाख रुपैयाँ बराबरको खुद सम्पत्ति छ । यता, सानिमा बैंकको आरओई पनि १०.४५ प्रतिशत छ । आरओईको आधारमा अन्तिम सूचीमा भने नेपाल बैंक छ । हाल बैंकले खुद सम्पत्तिको ०.४९ प्रतिशत प्रतिफल दिन सक्ने मात्रै सामार्थ्य जुटाएको छ ।

यी बाहेका बैंकहरुको आरओई १० प्रतिशत भन्दा कम छ । समिक्षा अवधिमा सिद्धार्थ बैंक आरओई ९.२४ प्रतिशत, नेपाल एसबिआईको ८.९७ प्रतिशत कृषि विकास बैंकको ८.२३ प्रतिशत, सिटिजन्स बैंकको ८.१२, ग्लोबल आइएमईको ८.१२ प्रतिशत रहेको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई ७.९३ प्रतिशत, हिमालयनको ७.८१, प्रभुको ७.६९ प्रतिशत, माछापुच्छ्रेको ७.१८ प्रतिशत, राष्ट्रिय वाणिज्य ८.२८ प्रतिशत, लक्ष्मी सनराइजको ५.७० प्रतिशत र कुमारी बैंकको ४.०७ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्