बैंकबाट ऋण लिएर सेयर किन्नेहरु बढेको बढ्यै, किन सक्रिय देखिए ठुला लगानीकर्ता ?
काठमाडौं । नीतिगत लचकता र सस्तिँदो बैंक ब्याजदरका कारण ठुला लगानीकर्ता सक्रिय भएको पाइएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ताहरु निरन्तर बढी रहेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो एक महिनामा सवा अर्ब रुपैयाँ बैंकबाट ऋण लिएर लगानीकर्ताहरुले सेयर खरिद गरेका छन् । आर्थिक शिथिलतका कारण समग्रमा कर्जाको माग ज्यादै नै न्युन देखिएको छ । बैंकिङ्ग क्षेत्रको कर्जाको माग सुस्त रहेको छ । तर, पनि सेयर धितो कर्जा भने दोहोरो अंकमा बढेको हो ।
चालु आवको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा १० अर्ब ८० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत वर्षको असार मसान्तसम्ममा भने बैंकहरुले कुल ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने यस्तो कर्जा १४.१६ प्रतिशत बढेर ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।
लगानीकर्ताले जेठमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १६ करोड रुपैयाँ ऋण लिएर सेयर खरिद गरेका छन् । सेयर धितो कर्जामा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकबाट ऋण लिएर सेयर खरिद गर्न उनीहरु उत्साहित भएको तथ्याङ्कले पुष्टि गर्छ । नियामक निकायले लिएको नीतिगत लचकताका कारण पनि सेयर धितो कर्जा बढेको छ ।
चालु आवको भदौ सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह भएको देखिन्छ। राष्ट्र बैंकका अनुसार भदौमा ३ अर्ब ३३ करोड रुपैयाँ बैंकबाट ऋण लिएर लगानीकर्ताले सेयर किनेका छन् । यस्तै, गत पुसमा पनि ३ अर्ब १० करोड बराबरको सेयर धितो कर्जा प्रवाह भएको देखिन्छ । हाल औसतमा मासिक १ अर्ब हारहारीमा सेयर धितो कर्जा भएको तथ्याङकमा उल्लेख छ । चालु आवको महिलो महिनामा अर्थात् साउनमा १० करोड, कात्तिकमा १४ करोड, मंसिरमा ३ करोड, माघमा ८८ करोड, फागुनमा ५३ करोड, चैतमा ४८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । तर, गत बैशाखमा भने उल्टो २३ करोड रुपैयाँले घटेको देखिन्छ । त्यसपछि भने फेरि बढेको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो समय बैंक ब्याजदर निरन्तर घटी रहेको छ । कर्जाको ब्याजदर पनि एकल अंकमै आइपुगेको छ । यसले पनि बैंकबाट सस्तो ब्याजमा ऋण लिएर सेयर खरिद गर्न लगानीकर्तालाई टेवा पुगेको बताइन्छ। यता, बजारमा आएको उतारचढापका बीच अधिकांश कम्पनीहरुको सेयर मूल्यमा पनि गिरावट छ । मूल्य घटेको मौकामा ऋण लिएरै खरिद गर्ने लगानीकर्ता बढको जानकारवाला बताउँछन् ।
अर्को तर्फ राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले संस्थागत लगानीकर्तालाई २० करोड र व्यक्तिगत लगानीकर्तालाई १५ करोड सीमा तोकेको छ । यस्तै, जोखिम भार पनि घटाएर १२५ प्रतिशतमा झारेको छ। यस्तो नीतिगत लचकताले पनि सेयर धितो कर्जामा बढोत्तरी देखिएको हो ।
ठुला लगानीकर्ता सक्रिय, १ करोड भन्दा बढी ऋण लिने बढे
ठुलो रकमको सेयर धितो कर्जा ह्वात्तै बढेको छ । पछिल्लो समय अर्थतन्त्रका सूचकहरुमा सकरात्मक सुधार आएको लगानीकर्ता मनोबल बढेको देखिन्छ । ठुला लगानीकर्ताहरु ऋण लिएर सेयर खरिदमा सक्रिय भएको हुन् ।
१ करोड भन्दा माथिको सेयर धितो कर्जा लिने बढेका छन् । यस्तो सीमाको कर्जा २०.४२ प्रतिशत वृद्धि भएको देखिएको छ । जेठसम्म आइपुग्दा यस्तो सीमाको सेयर कर्जा ५३ अर्ब ८४ करोड ७० लाख बढी प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्ममा भने ४४ अर्ब ६१ करोड ६० लाख रहेको थियो । सो सीमामा एक महिनामै (जेठमा मात्रै) १ अर्ब ३ करोड बढी कर्जा प्रवाह भएको हो । गत बैशाखसम्म भने कुल ५२ अर्ब ८१ करोड ४० लाख बढी कर्जा प्रवाह भएको थियो ।
यस्तै, समिक्षा अवधिमा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सीमामा सेयर कर्जा प्रवाह पनि दोहोरो अंकमा बढेको छ। यस्तो सीमा प्रवाह हुने कर्जा १०.५९ प्रतिशत वृद्धि भई १४ अर्ब १३ करोड ४० लाख नाघेको छ । गत असारमसान्तसम्ममा भने यस्तो सीमाको कर्जा १२ अर्ब ७८ करोड बढी रहेको थियो । यस्तै, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ३.३१ प्रतिशत वृद्धि भई ७ अर्ब २६ करोड ८० लाख पुगेको छ । ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा प्रवाह भने सुस्त देखिएको छ । समिक्षा अवधिमा यस्तो सीमाको कर्जा ०.७५ प्रतिशत बढेर ११ अर्ब ८६ करोड कायम भएको छ ।
वर्तमान अवस्थामा अर्थतन्का विभिन्न सूचकहरु सकरात्मक रुपमा बलियो बन्दै गएका छन् । बाह्य तथा आन्तरिक क्षेत्रमा सुधारोन्मुख रहेकाले लगानीकर्ताको मनोबल पनि दरिलो बन्दै जाने बताइन्छ । यति बेला राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने अन्तिम अन्तिम कसरतमा छ । साउन पहिलो साता नै मौद्रिक नीति जारी गर्ने केन्द्रिय बैंकको तयारी छ । मौद्रिक नीति मार्फत सेयर कर्जाको जोखिम भार घटाउन लगानीकर्ताहरुले आवाज उठाउँदै आएका छन् । कर्जाको जोखिमभार १०० प्रतिशत कायम गर्न र सेयर कर्जाको विद्यमान १५ र २० करोडको सीमा हटाउनुपर्ने उनीहरुको माग छ । यसले आगामी दिनमा समग्र सेयर बजार र अर्थतन्त्र नै चलायमान हुने उनीहरुको अपेक्षा छ।