फिफा विश्वकप २०२६ लक्षित ‘टीभी प्याकेज’ नेपाल टेलिकमद्वारा उपलब्ध गराइने « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

फिफा विश्वकप २०२६ लक्षित ‘टीभी प्याकेज’ नेपाल टेलिकमद्वारा उपलब्ध गराइने



काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘टीभी प्याकेज’ उपलब्ध गराउने भएको छ।

विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै एफटीटीएच (एफटीटीएच) ग्राहकहरूका लागि उक्त ‘टीभी प्याकेज’ उपलब्ध गराउन लागिएको हो। यस अन्तर्गत सम्पूर्ण एफटीटीएच ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा छुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ ओटीपी प्राप्त हुनेछ। सो ओटीपी टिभी स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्तै सुचारु हुनेछ।साथै, नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिनेछ।

आगामी जेठ २६ गतेदेखि साउन ३ गतेसम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेटसहितको प्रिमियम एफटीटीएच प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएसभन्दा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति (अपग्रेड) हुने ग्राहकहरूले ‘फिफा विश्वकप २०२६ टीभी प्याकेज’ बोनसस्वरूप निःशुल्क प्राप्त गर्न सक्नेछन्।

उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन्।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि तथा खेलकुद मनोरञ्जन उपलब्ध गराउन सदैव प्रतिबद्ध रहेको जनाएको छ। थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्