‘मौद्रिक नीति उद्यमी, व्यवसायीको घट्दो आत्मविश्वासलाई बढाउनेगरी ल्याउन आवश्यक छ’
![](https://www.arthapath.com/wp-content/uploads/2024/07/Santosh-Koirala-photo-1536x1299-1.jpg)
काठमाडौँ । नेपाली अर्थतन्त्र र बैंकिङ्ग क्षेत्र अझै पनि विभिन्न चुनौती र समस्यामा छन् । बाह्य क्षेत्र सुधारात्मक देखिएता पनि आन्तरिक अर्थतन्त्र भने समस्यामा नै छ । आर्थिक शिथिलताबाट बाहिर आउन नसकेको अवस्था छ ।
उद्यमी व्यवसायीहरुको आत्मविश्वास पनि घट्दो छ, जुन बैंकिङ क्षेत्र र अर्थतन्त्रको प्रमुख चुनौतीकै रुपमा देखिएको छ । कर्जा प्रवाह करिव ठप्पजस्तै छ । कर्जा प्रवाहमा आएको सङ्कुचनले बजार पनि चलायमान हुन सकिरहेको छैन । यस्तो अवस्थामा सरकारले अर्थतन्त्र चलायमान हुने नीति अवलम्बन गर्न आवश्यक छ ।
यतिबेला नियामक निकाय नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी गर्ने अन्तिम तयारीमा छ ।
मौद्रिक नीतिले सर्वसाधारण, उद्यमी व्यवसायीको घट्दो आत्मविश्वासलाई बढाउने गरी नीति ल्याउन आवश्यक छ । आर्थिक गतिविधि बढाइ अर्थतन्त्र चलायमान बनाउन अग्रसर हुन आवश्यक छ ।
सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले घरजग्गा कारोबार र सेयर बजारलाई खुकुलो नीति लिएमा केही सहजता आउने देखिन्छ । अबको मौद्रिक नीतिले घरजग्गा र सेयर बजारको नीतिलाई खुकुलो बनाएर बजार सुधारकाे संकेत गर्नुपर्छ ।
वर्तमान अवस्थामा यी दुई क्षेत्रको नीति खुकुलो हुने वित्तिकै बजार चलायमान हुन्छ । आम मानिस, उद्यमी व्यवसायी र समग्र निजी क्षेत्रको खस्किदो मनोबल पनि दरिलो बन्दै जान्छ । अहिले बजारमा घरजग्गा क्षेत्र नै आर्थिक सुधारको बलियो क्षेत्र जस्ताे देखिन्छ ।
यति बेला ठूलो रकम घरजग्गामा अड्किएको अवस्था छ । अधिकांशले सहकारीबाट पैसा लिएर घरजग्गा र सेयरमा लगानी गरेका छन् । सहकारीबाट ऋण लिएर गरेको लगानी घरजग्गामा फसेको छ । घरजग्गा कारोबारमा देखिएको सुस्तातले नै मुलुकको अर्थतन्त्र गतिशिल हुन सकिरहेको छैन ।
आर्थिक शिथिलताकै कारण घरजग्गा खरिद–बिक्री सहज रुपमा हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा सहकारीको ऋण तिर्न पनि गाह्रो भएको छ । भनेको समयमा घरजग्गा बिक्री नहुँदा सहकारीको ऋण चुक्ता हुन सकेको छैन ।
अर्कोतर्फ सेयरमा लगानी गरेको पैसामा उठ्ने अवस्था छैन । सहकारीबाट ऋण लिएर किनेको सेयरको भाउ घटेको छ । ३०० रुपैयाँमा किनेको सेयरको भाउ झन्डै १०० रुपैयाँमा झरेको छ ।
यस्ता कारण सहरकारीहरु समस्या परे । त्यसको असर बैंकमा पनि परेको छ । देशको अर्थतन्त्र नै सङ्कुचित अवस्थामा रहेकाले केन्द्रिय बैंकले व्यवहारिक रुपमा कार्यान्वयन हुने गरी मौद्रिक नीति लिन आवश्यक छ ।
अबको मौद्रिक नीतिले बैंकहरुको कर्जा दिन सक्ने क्षमता वृद्धि गराउन आवश्यक छ । बैंक ब्याजदर घट्दो प्रबृत्तिमा छ । तर पनि कर्जा विस्तार न्यून छ । कर्जा प्रवाह नबढ्दा पनि बजार चलायमान हुन सकिरहेको छैन ।
सरकारी नीतिले यस्ता विषयलाई समेट्न अत्यावश्क छ । बैंकहरुको ऋण दिन सक्ने क्षमतालाई बढाइयो भने स्वतः कन्फिडेन्स बढ्छ । अब विस्तारै घरजग्गाको सिलिङलाई पनि बढाउन आवश्यक छ ।
पर्यटन क्षेत्रलाई पनि डाइरेक्टेड क्षेत्रको लेन्डिङमा पाल्नुपर्छ । बैंकहरुलाई पनि खोजी खोजी ऋण दिने वातावरण तयार गरिदिन आवश्यक छ । यसले कर्जाको माग पनि बढाउँछ । अर्थतन्त्र पनि गतिशिल हुन्छ ।
घरजग्गा कर्जाको जोखिम भारलाई पनि घटाएर १०० प्रतिशत कायम गर्नुपर्छ । अहिले यस्तो भार १२५ प्रतिशत छ । यता, सेयर कर्जाको जोखिम भार पनि १०० प्रतिशत नै कायम गरिनुपर्छ । मौद्रिक नीतिले घरजग्गा कारोबार सहित कर्जाको पुनर्संरचना र पुनःतालिकिकरण गर्ने व्यवस्था गर्न आवश्यक छ ।
मौद्रिक नीति मार्फत कर्जाको पुनर्संरचना गर्ने सुविधा पनि दिनुपर्छ । हामीले कर्जाको पुनर्संरचना अवधि बढाउन पनि माग गरेका छौँ । अहिले ऋणीलाई एकदमै गाह्रो परिरहेको अवस्था छ । चैत मसान्तसम्म दिईको कर्जा पुनर्संरचना र पुनःतालिकीकरण सुविधा असारसम्म दिन माग गरेका छौँ ।
यस्तै, मौद्रिक नीति मार्फत प्रोभिजनिङमा पनि लचकता अपनाउन आवश्यक छ । अहिले असल कर्जाको निम्ति पनि १.२ प्रतिशत प्रोभिजन राख्नु परेको छ । यो दर कोभीडभन्दा पहिले १ प्रतिशत थियो । यसलाई पुनः १ प्रतिशत कायम गर्न माग गरेका छौँ । बरु निष्कृय कर्जामा प्रोभिजन थपे भइहाल्छ ।
अर्को समस्या बैंकहरुको पूँजी अभाव हो । निष्कृय कर्जा बढेसँगै जोखिम भार चुलिँदा सबैजसो बैंकहरु समस्यामा छन् । यसलाई खुकुलो बनाई दिनुपर्छ भनेका छौँ ।
बैंकहरुले पनि लगानी गर्न पाउनुपर्छ । अहिले त पूँजी अभावका कारण १० वटा बैंकले ऋण दिनै सक्दैनन् । उनीहरुले अग्राधिकार सेयर त ल्याएका छन्, तर त्यो बिक्री नै हुँदैन । संस्थागत लगानीकर्तालाई मात्रै बेच्ने भनेपछि त्यो कसले किनिदिने ?
त्यसमाथि वितरणयोग्य नाफा ऋणात्मक छ, लाभांश बाँड्न सक्ने अवस्था नै छैन । यस्तो अवस्थामा सेयर किन्न सक्दैनन् । घाटामा जाने सेयरमा लगानी कसैले पनि गर्न सक्दैन । त्यो पनि इक्विटीमा कन्भर्ट हुने होइन, सँधै भरि राखिरहनु पर्ने भएकाले लाभांशको लागि मात्र कसले गर्ने ?
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जा लिने मान्छे नै छैन । ३ प्रतिशत ब्याजमा राष्ट्र बैंकमा पैसा राखेर के गर्नु ? अहिले बैंकहरुको ८०० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्ने अवस्थामा छन् ।
१४ महिनासम्मको आयात धान्न सक्ने विदेशी मुद्रा छ । यो बैंकिङ्ग प्रणालीमा राखेर मात्र हुँदैन । परिचालन गर्न सकिने वातावरण बनाउन पर्यो । समग्र देशभर नै कर्जाको माग बढ्नु पर्यो । कर्जाको माग बढेपछि मात्रै बजार चलायमान हुन्छ ।
अर्थतन्त्र अहिले समस्यामा छ, आर्थिक पुनरुत्थानका लागि आत्मविश्वास बढाउन आवश्यक छ । स–साना उद्योगीदेखि निजी क्षेत्रको मनोबल खस्किएको छ । अहिलेको अवस्थामा उनीहरुको मनोबल बढाउने गरी नीति अवलम्बन गर्न आवश्यक छ ।
(लेखक माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत काेइराला हुन् ।)