कर्मचारीका लागि स्ट्याण्डर्ड चार्टर्ड भयो वरदान, अत्यधिक बोनस दिनेमा प्राइम र एभरेस्ट पनि « Arthapath.com
३० श्रावण २०८१, बुधबार

कर्मचारीका लागि स्ट्याण्डर्ड चार्टर्ड भयो वरदान, अत्यधिक बोनस दिनेमा प्राइम र एभरेस्ट पनि



काठमाडौँ । नेपालमा बैंकको जागिरलाई अति आकर्षक मानिन्छ । तै पनि करीब २–३ वर्षयता बैंकको जागिर छाडेर मानिसहरु विदेशिन थालेको भन्दै यो देशको भविष्यमाथि ब्यापक चिन्ता व्यक्ति गरिँदै आएको छ ।

नेपाली युवामाझ विदेशिने लहर चलेका बेला कुन जागिर राम्रो हो भन्ने तर्क गौण हुन्छ । कुनै पनि हालतमा देश छाड्ने लहडलाई रोक्न सकिन्न । तर बैंकले कर्मचारीलाई के कति सेवा सुविधा दिएका छन् भन्ने चाहीँ हेर्न सकिन्छ ।

बैंकका कर्मचारीलाई लोभ्याउने एउटा कारण चाहीँ बैंकले दिने बोन पनि हो । नेपालमा केही बैंकले तलवको ६० प्रतिशत हाराहारीसम्म पनि बोनस दिँदै आएका छन् । भलै यो साल बोनस दर केही कम भएको देखिन्छ । गत आर्थिक वर्षको नाफाबाट बाणिज्य बैंकहरुले आफ्ना कर्मचारीलाई औसतमा १८.८१ प्रतिशत बोनस दिने सामथ्र्य बर्नाएको देखिन्छ ।

यस विवरणले नेपालका बैंकमा जागिर खानु ठीक कि विदेश जानु ठीक भन्ने प्रश्नको जवाफ त दिँदैन, तर नेपालमै बसेर बैंकमा काम गर्ने हो भने कुन बैंक कर्मचारीका निम्ति राम्रो छ भन्ने चाहीँ छुट्याउन मद्दत गर्छ ।

तर बोनसमात्रै सबै थोक भने होइन । कुनै बैंकले तलव मान नै कम राखेका हुन्छन् भने कुनै बैंकले बढी तलव दिइरहेका हुन्छन् । यसले पनि बैंकको नाफासँग सम्बन्ध राख्ने बोनसलाई प्रभावित पार्छ । समान स्तरका कर्मचारीलाई पनि बैंक अनुसार भिन्नभिन्न तलव मान तय गरिएका कारण बोनसका आधारमा मात्रै निर्णय गर्न सकिँदैन ।

उदाहरणका लागि यसअघि तत्कालिन नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक मर्ज गर्ने वातचितका बेला हिमालयन बैंकको तुलनामा इन्भेष्टमेण्ट बैंकको तलवमान निकै कम भएको भन्दै आगामी ४ वर्षमा दुबै बैंकका कर्मचारीको तलव स्केल समान बनाउने अवधारणा अघि सारिएको थियो । भलै उक्त मर्जर भाँडियो र अब त्यो समस्या पनि हट्यो । तर हिमालयनले सिभिलबाट आएका कर्मचारीको तलव बढाउँदै लगेको छ ।

तर हामीले बोनसलाई मात्रै हेरेर तुलना गर्ने हो भने चाहीँ विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंक कर्मचारीको सर्वोत्कृष्ट रोजाइमा पर्ने देखिन्छ । ज्यादै सानो सञ्जालमा कारोबार सञ्चालन गरिरहेको यो बैंकमा सबैभन्दा कम कर्मचारी छन् । त्यसैले उसको कर्मचारी खर्च पनि कम छ । तर त्यस अनुपातमा नाफा बढी कमाएको छ ।

सोही कारण चार्टर्डले कर्मचारी खर्चको झण्डै आधा अर्थात् ४९.४९ प्रतिशत बोनस क्षमता बनाएको छ । संसारका ५९ देशमा १ हजारभन्दा बढी शाखा र करीब ८५ हजार कर्मचारी रहेको स्ट्याण्डर्ड चार्टर्डको विश्वब्यापी बोनस दर १५ देखि २० प्रतिशत रहेको बताइन्छ । इङ्ल्याण्डको लण्डनमा मुख्यालय रहेको यो बैंकले नेपालमा भने कर्मचारीलाई खुब राम्रो बोनस दिँदै आएको छ ।

बाणिज्य बैंकहरुमा प्राइक कमर्शियल बैंक दोस्रो धेरै बोनस दिने संस्थामा पर्छ । कुनै बेला कुल कर्मचारी खर्चको ६० प्रतिशतभन्दा धेरै बोनस बाँड्ने प्राइम बैंकले गत आर्थिक वर्षको नाफाबाट भने ३९.५६ प्रतिशत बोनस क्षमता बनाएको छ । प्राइमलाई पच्छ्याइरहेको एभरेस्ट बैंकले ३७.४२ प्रतिशत बोनस क्षमता हासिल गरेको छ ।

३० प्रतिशतभन्दा कम बोनस दिने बैंकको सूचीमा नबिल सबैभन्दा अगाडी छ । उसले २९.५९ प्रतिशत र नेपाल इन्भेष्टमेण्ट मेगाले २६.६४ प्रतिशत बोनस क्षमता बनाएका छन् । ग्लोबल आईएमई र सानिमा त्यसपछि छन् ।

सिद्धार्थ, प्रभू, नेपाल एसबीआई, कृषि विकास, एनएमबी, हिमालयन, राष्ट्रिय बाणिज्य, सिटिजन्स, लक्ष्मी सनराइज, माछापुच्छ्रे र कुमारी बैंकले १० देखि २० प्रतिशतको बीचमा बोनस क्षमता बनाएका छन् । सरकारी स्वामित्वको नेपाल बैंक र एनआईसी एसिया भने १० प्रतिशतभन्दा कम बोनस क्षमता भएका बैंक हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्