निक्षेप सन्तुलनमा प्रभू र एनआईएमबी सजग, यी बैंकले पाउँछन् ज्यादा संस्थागत पैसा « Arthapath.com
१९ भाद्र २०८१, बुधबार

निक्षेप सन्तुलनमा प्रभू र एनआईएमबी सजग, यी बैंकले पाउँछन् ज्यादा संस्थागत पैसा



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका निम्ति सबैभन्दा सुरक्षित निक्षेप भनेको व्यक्तिगत निक्षेप हो । बैंकहरुले व्यक्ति र संस्था दुबैबाट निक्षेप स्वीकार गर्छन् । तर संस्थागत निक्षेपको आकार ठूलो हुने भए पनि त्यस्ता निक्षेपकहरु ब्याजदरमा हुने घटबढबाट ज्यादा तरंगित हुन्छन् ।

यसले बैंकलाई दिगो स्रोत व्यवस्थापनमा व्यक्तिगत निक्षेपको महत्व ज्यादा हुन्छ । संस्थागत निक्षेप बढी राख्ने बैंकहरुले तुलनात्मक रुपमा सस्तो ब्याजमा पैसा उठाएका हुन्छन् । नेपाल राष्ट्र बैंकले नै व्यक्तिगतभन्दा संस्थागत निक्षेपको ब्याजदर कम्तिमा १ प्रतिशत विन्दु कम हुनुपर्ने शर्त राखिदिएको छ ।

केही महिना अघिसम्म यस्तो ब्याजदर अन्तर २ प्रतिशत विन्दुसम्म थियो । त्यसले गर्दा संस्थागत निक्षेपकर्तालाई थोरै ब्याज दिए हुने भएकाले बैंकले सस्तो लागतमै निक्षेप जम्मा पारेका हुन्छन् । त्यसको असर कर्जाको ब्याजदर र स्प्रेड दर अर्थात् बैंकको मार्जिनमा पनि पर्छ ।

सुरुमा सस्तो लागतमै स्रोत जोहो गर्दा स्वाभाविक स्तरको मार्जिन राखेरै पनि अरु बैंकले भन्दा सस्तो ब्याजमा ऋण दिने सामथ्र्य ती बैंकले बनाएका हुन्छन्, जसले संस्थागत निक्षेप बढी राखेका छन् ।

यसरी हेर्दा वित्तीय प्रणालीमा तरलता बढी भएको र ब्याजदर घटाउने रफ्तार चलेका बेला संस्थागत निक्षेप बढी भएका बैंकलाई नाफा हुन्छ । तर वित्तीय प्रणालीमा तरलता कमी भएर ब्याजदर बढ्ने गतिमा अघि बढेको छ भने चाहीँ आफ्नो संस्थाको स्रोतमा स्थायित्व खोज्न व्यक्तिगत निक्षेपले बढी सहायता गर्छ ।

भलै अहिलेको समय संस्थागत निक्षेपमा बढी जोड दिने बैंकहरुको पक्षमा देखिन्छ । किनकी, राष्ट्र बैंककै आँकडा अनुसार सोमबार हाम्रो वित्तीय प्रणालीमा ९१ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ अधिक तरलता थियो । यो अघिल्लो दिनको तुलनामा २४ करोड १४ लाख बढी हो ।

निक्षेपमा आधिपत्य

अहिले २० वटा बाणिज्य बैंकहरुको निक्षेप केलाएर हेर्ने हो भने ग्लोबल आईएमई, नबिल, राष्ट्रिय बाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआईसी एसिया र कुमारी बैंक सबैभन्दा अगाडी छन् । त्यसपछि लक्ष्मी सनराइज, प्रभू, हिमालयन जस्ता मर्जरबाट आएका संस्था छन् भने सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंक पनि त्यस लगत्तै छन् ।

‘बीग मर्जर’बाट बाहिर रहेका सिद्धार्थ, एभरेष्ट, एनएमबी, प्राइम, सानिमा, सिटिजन्स, नेपाल एसबीआई, माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्डको श्रेणी अन्तिम सूचीमा आउँछ ।

तर यही तथ्यलाई संस्थागत निक्षेपको आधारमा हेर्ने हो भने नबिल बैंक सबैभन्दा अगाडी देखिएको छ । ऊसँग गत असार मसान्तमा १ खर्ब ८६ अर्ब ७२ करोड हाराहारी संस्थागत निक्षेप देखिएको छ । त्यसपछि एनआईसी एसियासँग १ खर्ब ६१ अर्ब र नेपाल इन्भेष्टमेन्ट मेगासँग १ खर्ब ५८ अर्बभन्दा बढी संस्थागत निक्षेप छ ।

सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईसँग १ खर्ब ५२ अर्ब र सरकारी स्वामित्वको सबैभन्दा ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकसँग पनि लगभग त्यति नै संस्थागत निक्षेप देखिन्छ । कुमारी, हिमालयन, प्रभू, लक्ष्मी सनराइज र प्राइम कमर्शियल बैंक पनि बढी मात्रामा संस्थागत निक्षेप राख्नेमा पर्छन् ।

संस्थागत निक्षेपकर्ताको सबैभन्दा कम रोजाइमा माछापुच्छ्रे परेको छ । ऊसँग करीब ४१ अर्ब ८१ करोड हाराहारी मात्रै संस्थागत निक्षेप छ । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक, सिटिजन्स, सानिमा र एभरेष्टजस्ता बैंकहरु संस्थागत निक्षेपकर्ताको कम रोजाइमा परेको देखिन्छ ।

यी सबै विवरणहरु निक्षेपको आकारका आधारमा हेरिएका हुन् । तर वास्तवमा तुलना गर्ने हो भने कुल निक्षेपमा व्यक्तिगत र संस्थागत निक्षेपको अनुपातलाई केलाएर हेर्नु आवस्यक हुन्छ ।

कुल निक्षेपमा हिस्सा

यसरी कुनै पनि बैंकको जम्माजम्मी निक्षेपमा संस्थागत निक्षेपको अनुपात हेर्ने हो भने अर्कै दृष्य देखिन्छ । यस्तो तथ्यांकले नेपाल एसबीआई बैंक सर्वाधिक संस्थागत निक्षेप परिचालन गरिरहेको देखिएको छ । उसले लगभग आधा व्यक्तिगत र आधा संस्थागत निक्षेप परिचालन गरिरहेको छ ।

त्यसपछि हिमालयन बैंक सर्वाधिक संस्थागत निक्षेप ‘होल्ड’ गर्ने बैंकमा पर्छ । प्राइम कमर्शियल र एनआईसी एसिया बैंकले पनि कुल निक्षेपको ४५ प्रतिशतभन्दा ज्यादा संस्थागत निक्षेप परिचालन गरिरहेको देखिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड, कुमारी र नबिल बैंक पनि ४० प्रतिशतभन्दा धेरै निक्षेप संस्थागत निक्षेपकर्ताबाट जुटाउने संस्थामा दरिएका छन् । प्रभू बैंकले ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत संस्थगत निक्षेप परिचालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको आँकडा पनि करीब उस्तै छ ।

तर व्यक्तिगत निक्षेपमा बढी प्राथमिकता दिने बैंकको सूचीमा भने सरकारी स्वामित्वको नेपाल बैंक शीर्ष स्थानमा छ । उसले करीब ८० प्रतिशत निक्षेप व्यक्तिगत तवरबाट जुटाएको छ । कुल २ खर्ब ८३ अर्ब निक्षेपमध्ये २ खर्ब २६ अर्ब व्यक्तिगत तर्फबाट जोहो गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

त्यसपछि माछापुच्छ्रे, सिटिजन्स, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सानिमा, राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट, सिद्धार्थ, एनएमबी र कृषि विकास बैंकले पनि आफ्नो कुल निक्षेपको ६१ प्रतिशतभन्दा बढी व्यक्तिगत निक्षेप स्रोतबाट बटुलेका छन् ।


प्रतिक्रिया दिनुहोस्