ऋणी खोज्न बैंकरलाई तनाव, अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

ऋणी खोज्न बैंकरलाई तनाव, अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिन थालेपछि बैंकरहरुलाई ‘ऋणी खोज्ने’ तनाव सुरु भएको छ । सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरु अहिले अर्को संस्थामा भएको ‘राम्रो ऋण’ खोस्ने र नयाँ ऋणी खोज्ने दबावमा देखिएका छन् ।

अप्ठेरो समयमा पनि नियमित ब्याज तथा किस्ता भुक्तानी गरिरहेका ऋणीलाई अहिले घटेको ब्याजको लोभ देखाएर आफ्नो संस्थामा तान्ने होडबाजी नै चलेको छ । ‘नयाँ ऋण लिने मान्छे पाउनै मुस्किल भएको छ । यस्तो बेला पुराना र राम्रा ऋणलाई तानातान भइरहेको छ’, एक बैंकर भन्छन्, ‘कर्जा लिने मान्छे खोज्न पुरै प्रयास गर्दा पनि परिणाम निकाल्न सकिएको छैन ।’

बैंकहरूलाई लगानी गर्न हम्मेहम्मे परेपछि विस्तारै अस्वस्थ प्रतिस्पर्धा बढ्ने दिशातर्फ वित्तीय बजार अग्रसर हुन थालेको बैंकरहरु नै बताउँछन् । कुनैबेला लगानीयोग्य रकम नभएर तनावमा रहेका बैंकहरूले अहिले ब्याजदर एकल अंकमा झर्दा पनि ऋणी पाउन सकिरहेका छैनन् ।

पछिल्ला २ वर्ष वित्तीय क्षेत्रले चरम तरलता अभाव खेप्नु परेको थियो । बैंकहरू सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउन बाध्य थिए । ब्याज चर्को हुँदा पनि ऋणीलाई ऋण दिन नसक्ने अवस्थामा थिए ।

तर अहिले अवस्था ठीक उल्टो बनेको छ । बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि अधिक तरलता थुप्रिएको छ । तर कर्जाको माग बढ्न सकेको छैन । त्यसो हुँदा बैंकहरूले सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य बनिरहेका छन् ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल त्यस्तो कर्जा निक्षेपको अन’पात ७८.८५ प्रतिशतमा झरेको छ ।
मंगलबारसम्म कुल निक्षेप ६४ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ भने कर्जा प्रवाह ५२ खर्ब १ अर्ब रूपैयाँ छ । बैंकहरूको कर्जा निक्षेप अुनपात (सीडि रेसियो) प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ अधिक तरलता छ ।

अधिक तरलताको सामना गरिरहेका बैंकहरू ऋण परिचालनका लागि दबाब दिन थालेका छन् । बैंकका कर्मचारीहरू व्यवसायीहरूलाई ऋणी खोजिदिन अनुनयविनय गर्न थालेका छन् ।
बैंकले कर्मचारीलाई ऋणी खोज्न टार्गेट दिइरहेको बैंकका कर्मचारीहरू बताउँछन् । बजारमा ऋणको माग हुन छाडेपछि बैंकरहरू तनावमा देखिएका हुन् ।

‘अहिले ऋणी पाउनै मुस्किल छ । एकातिर लगानी योग्य रकम थुप्रिएको छ । अर्कोतिर बजारमा ऋणको माग नै छैन । यसले तनाव थपिएको छ’ एक बैंकरले अर्थपथसँग भने । राष्ट्र बैंकले कर्जा प्रवाहमा सहजिकरण ल्याउने गरी नियम संशोधन नगरिदिएका कारण पनि यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्