विजुली, विजुली गाडी र पर्यटनमा बढ्यो कर्जा, उपभोगमा खुम्चिँदै बजार
काठमाडौँ । गत वर्षको साउन मसान्तको तुलनामा यो साल बैंक तथा वित्तीय संस्थाले ६.३३ प्रतिशत कर्जा बढाएको देखिएको छ । यो असार मसान्तको आँकडा ५.९ प्रतिशतको तुलनामा बढी हो । तर गत असारको तुलनामा साउन मसान्तको विवरण हेर्ने हो भने एक महिनामा खासै कर्जा बढेको देखिँदैन ।
गत साउन महिनामा पुरै वित्तीय प्रणालीमा जम्मा २ अर्ब १२ करोड २६ लाख रुपैयाँमात्रै कर्जा बढेको छ । बरु भदौ र असो ८ गतेसम्म अर्थात् त्यस पछिका ५ हप्तामा ६४ अर्ब हाराहारी कर्जा थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तर पोहोर साउनदेखि यो साउनसम्मको निक्षेपक आँकडा हेर्ने हो भने करीब १५ प्रतिशत बढेको देखिन्छ । यसरी निक्षेप बढ्दै जाँदा समेत कर्जामा खासै बृद्धि हुन नसकेको अवस्थामा पनि केही क्षेत्रमा भने राम्रै अङ्कमा कर्जा विस्तार भएको देखिएको छ ।
राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको गत साउनको आर्थिक स्थितिबारे तथ्यांकले यस्तो देखाएको हो । उक्त तथ्यांक अनुसार विद्युत् क्षेत्रमा गत साउन एक महिनामा मात्रै ६ अर्ब ४० करोड ५० लाखभन्दा धेरै कर्जा थपिएको छ । यससँगै विद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा ३ खर्ब ७३ अर्ब ५१ लाख नाघेको छ ।
त्यस्तै, पछिल्लो समय चिनियाँ विद्युतीय गाडीहरुको आयात ह्वात्तै बढेको र नयाँनयाँ ब्राण्डका शोरुमहरु विस्तार भएका कारण अटोमोटिभ क्षेत्रमा पनि कर्जा बढेको देखिएको छ । नेपालमा दुईपांग्रे एसेम्बल गर्ने उद्योगहरु बढ्न थालेकाले पनि यस शीर्षकमा कर्जा बढेको देखिन्छ । साउनमा ४ अर्ब ४५ करोड बढेर यस क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ९४ अर्ब ९३ करोड हाराहारी पुगेको छ ।
गत असारको तुलनामा साउनमा सर्वाधिक कर्जा विस्तार भएका क्षेत्र :
ट्रेकिङ, पर्वतारोहण तथा रिसोर्टहरुमा पनि लगानी बढेको छ । पर्यटन शीर्षकको कर्जा एक महिनामै ३ अर्ब १३ करोड हाराहारी बढेर २७ अर्ब ९९ करोड पुगेको छ । होटेल क्षेत्रमा पनि कर्जा ब्यापक मात्रामा बढेको छ । एक महिनामा २ अर्ब २९ करोड कर्जा बृद्धि भई यस क्षेत्रमा १ खर्ब ९८ अर्ब हाराहारी ऋण प्रवाह भएको छ ।
संस्थागत लगानी कम्पनीहरुले पनि एक महिनामा २ अर्ब १२ करोड हाराहारी कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई सेयर खरीद गर्न दिएको २० अर्बको सीमा हटाउनुले पनि यस प्रकारको कर्जा विस्तारमा भूमिका खेलेको हुनसक्ने आँकलन गरिएको छ ।
साउनको तथ्यांकले ठूला घरजग्गा व्यवसायीको ऋण पनि बढेको देखिएको छ । कृषि सेवामा काम गर्ने संस्थाहरुको कर्जाको आकार पनि बढेको छ । धातुजन्य उद्योग, सुनचाँदीदेखि राजमार्ग तथा पुलजस्ता भारी निर्माण गर्ने क्षेत्रको कर्जा पनि बढेको छ । केन्द्रिय बैंकले निर्माण व्यवसायीलाई आगामी मंसिरसम्म ऋण तिर्ने भाखा बढाइदिएपछि यस क्षेत्रमा कर्जा विस्तार गर्न बाटो खुलेको देखिन्छ ।
गत असारको तुलनामा साउनमा कर्जा घटेका क्षेत्र :
तर लघुवित्त संस्थाहरुमा प्रवाह हुने कर्जा भने ब्यापक मात्रामा घटेको छ । यो शीर्षकको कर्जा असारको तुलनाम साउनमा सधैँ कमी हुने गर्छ । खुद्रा ब्यापारमा पनि कर्जाको आकार खुम्चिएको छ । सेवामुलक कम्पनीहरु र आवासीय घर कर्जाको आकार पनि खुम्चिएको छ ।
खाद्य वस्तुको उत्पादन, प्रशोधन र प्याकजिङमा प्रवाह हुने कर्जा पनि साउनमा घटेको देखिन्छ । कृषि तथा वनजन्य उत्पादन र आयात ब्यापारमा पनि कर्जा घटेको छ । मनोरञ्जन, फिल्मदेखि सिमेण्ट, काठ तथा फर्निचर, थोक ब्यापार, हस्तकला, घरायसी उपकरणहरु, पशुपालन सेवा, चिया, रबर, छाला, ग्रेफाइट इत्यादिको क्षेत्रमा प्रवाह भएको कर्जा खुम्चिएको छ ।
गत साउन मसान्तसम्म प्रवाह भएको शीर्षकगत कर्जाको हिस्सा :
यस आँकडाले सीमित क्षेत्र बाहेक अहिले पनि अर्थतन्त्रले गति लिन नसकेको देखिन्छ ।
गत साउन मसान्तसम्म प्रवाह भएको शीर्षकगत कर्जा :