कति सस्तो सेयर ? अधिकांश बाणिज्य बैंकको सेयर मूल्य ‘ट्रिपल थ्री’ भन्दा तलै « Arthapath.com
११ पुष २०८१, बिहीबार

कति सस्तो सेयर ? अधिकांश बाणिज्य बैंकको सेयर मूल्य ‘ट्रिपल थ्री’ भन्दा तलै



काठमाडौँ । नेपालमा कुनै बेला ‘ब्लू चीप’ कम्पनीहरुमा गनिने बाणिज्य बैंक अहिले सेयरको दोस्रो बजारमा सबैभन्दा ‘हेपिएका’ संस्थाजस्तै बनेका छन् । अधिकांश बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न सकेको छैन ।

पछिल्ला वर्षमा आएका कतिपय ‘झुर’ कम्पनीहरुको आइपीओ समेत दोस्रो बजारमा कारोबार हुन थाल्दा बित्तिकै ३०० रुपैयाँभन्दा माथि मूल्य पुगिसक्ने गरेको देखिन्छ । सानो पूँजीका कम्पनीहरुको सेयर मूल्य त अझै त्योभन्दा पनि बढ्ने गरेको छ ।

तर सबैभन्दा बलियो नियमान भएको र मजबूत कानूनी संरक्षण समेत पाएका बाणिज्य बैंकहरुको सेयर मूल्य भने पटक्कै बढ्न सकेको छैन ।

अहिले पनि १९ मध्ये १४ बाणिज्य बैंकको सेयर मूल्य ‘ट्रिपल थ्री’ अर्थात् ३३३ रुपैयाँभन्दा सस्तो छ । नेपालमा कुल २० बाणिज्य बैंक भए पनि राष्ट्रिय बाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । लगभग पूर्ण सरकारी स्वामित्वको यो बैंकलाई छाड्ने हो भने बाँकी १९ बाणिज्य बैंकका सेयर दोस्रो बजारमा कारोबार भइरहेका छन् ।

तीमध्ये ३३३ देखि ६६६ रुपैयाँको करिडोरमा केवल ५ बैंकमात्रै परेका छन् । ‘ट्रिपल थ्री’ र ‘ट्रिपल सिक्स’बीच पर्ने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य सबै बाणिज्य बैंकमध्ये महँगो छ । त्यसपछि एभरेस्ट, नबिल र नेपाल एसबीआई गरी केवल ४ वटा बैंकका सेयरको भाउ ४०० रुपैयाँभन्दा माथि छन् । विगत लामो समयसम्म १००० रुपैयाँ हाराहारी पुग्ने गरेको एनआईसी एसियाको सेयर मूल्य अहिले ४०० रुपैयाँभन्दा तल झरेको छ ।

अधिक पूँजीकरण, न्यून लगानी क्षेत्र र कमजोर प्रतिफलका कारण बैंकहरुको सेयरमा लगानी गर्न मानिस तत्पर देखिँदैनन् । दोस्रो बजारमा यी आधारभूत पक्षभन्दा पनि बाणिज्य बैंकहरुको ज्यादै ठूलो सेयर संख्या मुख्य रुपमा बाधक बनिरहेको छ ।

अरबौँ रुपैयाँ पूँजी र कसैले लगानी गरेर मूल्यमा हेरफेर गर्नै नसक्ने गरी ज्यादा सेयर संख्या भएका कारण सट्टेबाजीमा रमाउने लगानीकर्ताले यी बैंकहरुको सेयरमा लगानी गरेर पूँजीगत लाभ आर्जन गर्नसक्ने संभावना नै देखेनन् । परिणाम स्वरुप अहिले धेरै बैंकको सेयर मूल्य २५० वा ३०० रुपैयाँभन्दा सस्तो भएको छ ।


प्रतिक्रिया दिनुहोस्