थिग्रिँदै गभर्नरका उमेदवार, निलम र अशोकबीच प्रतिस्पर्धा हुने संभावना

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि उमेदवारहरु थिग्रिन थालेका छन् । सरकारले गभर्नरका लागि नाम सिफारिस समितिलाई पूर्णता दिउञ्जेलसम्ममा मूल रुपमा दुई नाम प्रतिस्पर्धामा देखिएका छन् ।
नेपाल राष्ट्र बैंककै बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिना र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अब मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।
यसअघि करीब दुई दर्जन उमेदवारहरुको भीड देखिएको थियो । तर समय निकट हुँदै जाँदा उमेदवारहरु पनि थिग्रिन थालेको देखिएको छ ।
डा. निलम नेकपा एमाले निकट छिन् । तर उनको माइतिको परिवार भने कांग्रेस निकट छ । त्यसैले उनलाई अहिलेको गठबन्धन सरकारको ‘साझा उमेदवार’का रुपमा हेरिन थालेको छ । त्यसमाथि केही व्यावसायिक समूहले पनि उनको पक्षमा ‘लबिङ’ गरिरहेको भनेर खबरहरु आएका छन् ।
उनी नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सकिन् भने सात दशकको केन्द्रिय बैंकको गभर्नर पदमा पहिलो पल्ट कुनै महिला आसिन हुने छिन् । अहिले संसारका १८५ केन्द्रिय बैंकमध्ये कम्तिमा २१ केन्द्रिय बैंकको गभर्नर महिला छन् ।
अर्का उमेदवार अशोक शेरचन भने २०७५ माघदेखि प्रभू बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । मूल रुपमा एमाले पार्टिसँग निकट भए पनि माओबादीसँग समेत उनको उस्तै राम्रो सम्बन्ध छ ।
अहिलेसम्म आउँदा यी दुई उमेदवारहरु मुख्य प्रतिस्पर्धामा देखिएका छन् । हामीले कुराकानी गरेका अनेकौँ समाचार सूत्रहरुले उनीहरुलाई अझै पनि प्रतिस्पर्धाको केन्द्रमा राखेको छ । तर आकांक्षिहरु यसबाहेक अरु पनि छन् ।
अहिले कृषि विकास बैंकको सीईओ गोविन्द गुरुङ पनि यो दौडमा लागिरहेका छन् । लमजुङका गुरुङ एमाले उपमहासचिव एवम् वर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग निकट छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष एवम् माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला पनि दौडमा देखिएका छन् । भोजपुरबाट झापा झरेका कोइराला ‘खानदानी कांग्रेस’ हुन् । उनी नेपाली कांग्रेस नेता विश्वप्रकाश शर्मासँग निकट छन् । उनका काका ससुरा ईश्वर पोखरेल एमालेका बरिष्ठ उपाध्यक्ष हुन् । त्यसैले उनी पनि ‘साझा उमेदवार’ बन्ने कोसिसमै छन् ।
बैंकर्स संघका पूर्व अध्यक्ष एवम् नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको पनि चर्चा त भएको थियो, तर अहिले प्रतिस्पर्धामा उनको नाम अलि कम सुनिन थालेको छ । उनलाई बजारले कांग्रेसको उमेदवार भन्दा पनि ‘विनोद चौधरीको उमेदवार’का रुपमा बढी हेरिएको समाचार स्रोतहरुले भनेका छन् ।
राष्ट्र बैंककै डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ तथा राष्ट्र बैंकका सञ्चालक एवम् पूर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्चालक गजेन्द्र बिष्ट, राष्ट्रिय बाणिज्य बैंकका पूर्व सीईओ किरणकुमार श्रेष्ठ लगायत पनि दौडमा देखिएका थिए ।
तर अहिले यी अधिकांश उमेदवारहरु छायाँमा परेका छन् ।