बैंकमा पैसा थुप्रियो, ऋणको ब्याज ह्वात्तै घट्यो

काठमाडौं । बैंकहरुको ब्याजदर घट्दो ट्रेन्डमा छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर निरन्तर घटी रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर घट्दो क्रममा छ।
नेपाल राष्ट्र बैंकका अनुसार निक्षेपको औसत ब्याजदर साढे ४ प्रतिशतमा आइपुगेको छ । कर्जाको ब्याजदर पनि ८ प्रतिशत बिन्दु तल झरेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरुले निक्षेपमा प्रदान गर्ने ब्याजदर प्रतिशत बिन्दु घटेर ४.२९ प्रतिशत कायम भएको छ । गत वर्षको जेठमा बैंकहरुले निक्षेपमा ६.१७ प्रतिशत ब्याज दिएको थिए । तर, गत जेठमा आइपुग्दा भने घटेर ४.२९ प्रतिशत कायम भएको छ ।
यता, विकास बैंकहरुले प्रदान गर्ने निक्षेपको ब्याजदर पनि ७.०७ प्रतिशतबाट घटेर ५.०२ प्रतिशत कायम भएको छ । वित्त कम्पनीको पनि ६.०९ प्रतिशतमा झरेको छ ।
अहिले बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएता पनि कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागतमा पनि कमी आएको छ, जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ ।
एक वर्षको अवधिमा नै कर्जाको ब्याजदर पनि २.१६ प्रतिशत बिन्दुले घटेको छ । गत जेठमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । जबकि, गत वर्षको सोही महिनामा १०.१५ प्रतिशत रहेको थियो । हाल विकास बैंकहरुको कर्जाको ब्याजदर पनि २.२३ प्रतिशत बिन्दु घटेर ९.४० प्रतिशतमा झरेको छ ।
यता, वित्त कम्पनीको कर्जाको ब्याजदर १०.२२ प्रतिशत कायम भएको छ । जबकि, गत वर्षको जेठ महिनामा वित्त कम्पनीहरुको कर्जाको औसत ब्याजदर ११.६२ प्रतिशत थियो ।
बैंक तथा वित्त कम्पनीहरुको निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तिएको छ । लागत घट्दा आधार दर (बेस रेट) पनि घट्दै गएको छ ।
अहिले वाणिज्य बैंकहरुको औसत आधार दर ६.०९ प्रतिशत, विकास बैंकको ८.२९ प्रतिशत, वित्त कम्पनीको ९.०२ प्रतिशत कायम भएको छ । गत वर्षको जेठ महिनामा भने क्रमशः ८.१७ प्रतिशत, ९.९६ प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार जेठमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९९ प्रतिशत रहेको थियो । तर, जेठमा २.९४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.९९ प्रतिशत रहेको छ ।