नयाँ आर्थिक वर्षमा नयाँ ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नयाँ आर्थिक वर्षमा नयाँ ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ ?



काठमाडौं । आज अर्थात् साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८२–८३ सुरु भएके छ । चालु आवको पहिलो महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन् ।

गत असारको तुलनामा बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर केही घटाएको देखिन्छ ।
व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा औसत अधिकतम ब्याजदर ५.९०२ प्रतिशत रहेको थियो । तर, साउनमा भने घटेर ५.६९७५ प्रतिशत कायम भएको छ।

यता, संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने ४.३७३ प्रतिशतबाट घटेर ४.११३ प्रतिशतमा झरेको छ ।

नयाँ आवको पहिलो महिनाका लागि १४ बैंकले ब्याजदर घटाएका छन् भने ४ वटाले यथावत राखेका छन् । त्यस बाहेकका बैंकले भने गत असारको तुलनामा केही वृद्धि गरेका छन् ।

साउनका लागि प्रभू, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, एनआइसी एशिया, लक्ष्मी सनराइज, प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, सानिमा, नेपाल एसबिआई, सिटिजन्स, ग्लोबल आइएमई, कृषि विकासले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

असारको तुलनमा प्रभू बैंकले सबैभन्दा धेरै कटौती गरेको देखिन्छ । बैंकले व्यक्तिगत निक्षेपमा ६.१ प्रतिशत दिएको थियो । तर, अब साउनका लागि भने यस्तो निक्षेपको ब्याजदर ४.२५ प्रतिशत तोकेको छ । यता, संस्थागत निक्षेपमा भने ५ प्रतिशतबाट ३.२५ प्रतिशतमा झारेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.५ प्रतिशत घटाएर ५.५ प्रतिशतमा ल्याएको छ । संस्थागत दर भने ४ प्रतिशतमै यथावत् राखेको छ ।

एभरेष्ट बैंकले पनि दुबै खालका निक्षेपमा ०.३ प्रतिशतले ब्याजदर घटाएको देखिन्छ । साउनका लागि व्यक्तिगत निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५.२५ ब्याज प्रदान गर्ने भएको छ ।

एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ६.२५ र ५.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगतमा ६ प्रतिशत र संस्थागतमा ३.१ प्रतिशत ब्याज दिने भएका छन् ।

यता, नबिल बैंकले पनि व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत निक्षेपमा ५.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगतमा ५.५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत, सिटिजन्सले व्यक्तिगतमा ५.५ प्रतिशत र संस्थागतमा ३ प्रतिशत, सानिमा बैंकले व्यक्तिगतमा ६.१८ प्रतिशत र संस्थागतमा ४ प्रतिशत, नेपाल एसबीआईले व्यक्तिगतमा ५.३५ प्रतिशत र संस्थागतमा ४.३५ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यसैगरि साउनका महिनाका लागि कुमारी बैंकले व्यक्तिगत निक्षेपमा ५.६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशत, कृषि विकासले व्यक्तिगतमा ५.४प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत, ग्लोबल आईएमईले व्यक्तिगतमा ५.७५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

तर, नेपाल बैंकसहित चारवटाले भने गत असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

साउनका लागि नेपाल बैंकले ब्याजदर यथावत् राखेको छ । बैंकले व्यक्तिगत निक्षेपमा ५.४५ र संस्थागतमा ४.५ प्रतिशत ब्याज दिने भएको हो ।

यस्तै, एमबी बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत, सिद्धार्थले व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.७५ प्रतिशत ब्याज दिने भएका छन् ।

साउनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत निक्षेपमा ६.२६ प्रतिशत र संस्थागतमा ३.०१ प्रतिशत पुर्याएको छ । यता, हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत ब्याज दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्