लगानीकर्तालाई राहत : आजदेखि सेयर धितोमा २५ करोडसम्म ऋण लिन पाइने
काठमाडौं । सेयर बजारमा लगानी गर्नेलाई अब आफ्ना सेयर धितो राखेर ठूलो परिमाणमा ऋण लिन सहज हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाउँदै अब २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकद्वारा जारी परिपत्रअनुसारन नयाँ व्यवस्था आज अर्थात् साउन १ गतेदेखि लागू भएको हो ।
तर, यो सीमा सबै प्रकारका सेयर धितो कर्जामा भने लागू हुने छैन । ‘मार्जिन प्रकृतिको कर्जा’ का लागि मात्रै २५ करोडको सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको परिपत्रमा भनिएको छ,‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको छ ।’
यसअघि आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत यो सीमा १० करोडबाट १५ करोड रुपैयाँ पुर्याइएको थियो । अब पुनः संशोधन गर्दै राष्ट्र बैंकले एकल ग्राहकका लागि १० करोड थप वृद्धि गरी २५ करोडमा पुर्याएको हो ।
नयाँ सीमा व्यक्तिगत ऋणीका लागि लागू हुनेछ । तर, संस्थागत ऋणीहरूका हकमा भने कर्जा सीमा खुला राखिएको छ ।


















