९ अर्बको व्यापार गरेकाे अम्बे स्टिल्सको ऋण मात्रै सवा ६ अर्ब, नाफामा बढ्दाे दबाब « Arthapath.com
१४ असार २०८३, आइतबार

९ अर्बको व्यापार गरेकाे अम्बे स्टिल्सको ऋण मात्रै सवा ६ अर्ब, नाफामा बढ्दाे दबाब



काठमाडौं । नेपालको स्थापित औद्योगिक घराना अम्बे ग्रुपद्वारा प्रवर्द्धित अम्बे स्टिल्स लिमिटेडले पछिल्लो समय निर्माण क्षेत्रको सुस्त माग, आर्थिक शिथिलता तथा स्टिल उद्योगमा बढ्दो प्रतिस्पर्धाका बीच पनि आफ्नो व्यापारिक आकार कायम राख्न सफल भएको छ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीले ९ अर्ब १० करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ भन्दा करिब १३ प्रतिशत बढी हो। चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीले ६ अर्ब १८ करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ।

अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँ, २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ तथा २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो। आर्थिक वर्ष २०२५ मा व्यापारमा सुधार देखिए पनि चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरणले कम्पनी अझै चुनौतीपूर्ण बजार अवस्थासँग जुधिरहेको देखाएको छ।

यस्तै कम्पनीको सञ्चालन नाफा दरमा पनि दबाब परेको छ। आर्थिक वर्ष २०२४ मा ९.३ प्रतिशत रहेको सञ्चालन नाफा दर आर्थिक वर्ष २०२५ मा घटेर ८.४ प्रतिशत कायम भएको थियो। चालु आर्थिक वर्षको नौ महिनामा यो थप घटेर ६.८ प्रतिशत मा सीमित भएको छ। उच्च लागतमा खरिद गरिएको कच्चा पदार्थ तथा मौज्दात बिक्री गर्नुपर्नु र बजारमा बिक्री मूल्य घट्नुका कारण सञ्चालन नाफा दर खुम्चिएको हो। यही कारण कम्पनीले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा करिब १ करोड रुपैयाँ खुद नोक्सानी समेत व्यहोरेको छ।

कम्पनीको यही व्यापारिक अवस्था र बजार उपस्थितिलाई आधार मान्दै इन्फोमेरिक्स नेपालले ६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाको साख मूल्यांकनलाई निरन्तरता दिएको छ। एजेन्सीले १ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाका लागि ‘आईआरएन बीबीबी–’ तथा ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ‘आईआरएन ए–३’ रेटिङ यथावत् राखेको हो।

सञ्चालन आम्दानी बढे पनि कम्पनीको कार्यपुँजी व्यवस्थापन भने अझै चुनौतीपूर्ण बनेको छ। आर्थिक वर्ष २०२५ मा कार्यपुँजीको तीव्रता ३८ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको छ। मौज्दात लामो समयसम्म राख्नुपर्ने, ग्राहकबाट रकम उठाउन बढी समय लाग्ने तथा सञ्चालन चक्र २१७ दिनबाट बढेर २२३ दिन पुगेकाले कम्पनीको कार्यपुँजीमा थप दबाब परेको देखिन्छ।

कार्यपुँजी व्यवस्थापनका लागि बैंक ऋणमा बढ्दो निर्भरताका कारण कम्पनीका ऋण सम्बन्धी सूचकहरू पनि कमजोर बनेका छन्। आर्थिक वर्ष २०२५ मा कुल ऋण ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यससँगै ऋण–पुँजी अनुपात २.३० गुणाबाट बढेर ३.०२ गुणा पुगेको छ। ब्याज भुक्तानी क्षमता पनि कमजोर बन्दै गएको छ। आर्थिक वर्ष २०२५ मा २.१६ गुणा रहेको ब्याज भुक्तानी क्षमता चालु आर्थिक वर्षको नौ महिनामा घटेर १.४२ गुणा मा सीमित भएको छ।

कम्पनीको व्यवसायलाई आफ्नै बिलेट उत्पादन संयन्त्र र ‘अम्बे टीएमटी’ तथा ‘अम्बे जीआई’ जस्ता स्थापित ब्रान्डले बलियो आधार दिएका छन्। कम्पनीसँग वार्षिक ८० हजार मेट्रिक टन क्षमताको बिलेट उत्पादन प्लान्ट रहेको छ भने देशभर ६५५ वटा वितरक मार्फत उत्पादन बिक्री हुँदै आएको छ। सरकारले पूर्वाधार विकास तथा औद्योगिक प्रवर्द्धनलाई प्राथमिकता दिएकाले आगामी वर्षहरूमा स्टिलको माग बढ्ने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष लाभ कम्पनीले लिन सक्ने अनुमान गरिएको छ।

यद्यपि कच्चा पदार्थको मूल्यमा उतारचढाव, विदेशी विनिमय जोखिम, कार्यपुँजीमा बढ्दो दबाब, उच्च बैंक ऋण तथा स्टिल उद्योगमा बढ्दो प्रतिस्पर्धाका बीच नाफा दर सुधार गर्दै ऋण घटाउनु नै आगामी दिनमा अम्बे स्टिल्सको सबैभन्दा ठूलो चुनौती हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्