नाजुक बन्दै कर्णाली डेभलपमेन्ट बैंक, सबै कारोबार रोक
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको छ । बैंकको वित्तीय अवस्था नाजुक बनेको भन्दै नेपाल राष्ट्र बैंकले उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो ।
बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको पाइएको र यसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो ।
उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ ।