१३ प्रतिशत बोनस शेयर पाउन कर तिर्नुपर्ने, कर नतिरे बोनस नपाईने « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

१३ प्रतिशत बोनस शेयर पाउन कर तिर्नुपर्ने, कर नतिरे बोनस नपाईने



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । लघुवित्तले बोनस शेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

लघुवित्तको गत पौष ३० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविकको जनसेवी लघुवित्त र कालिका लघुवित्तको मर्ज भएपश्चात बनेको कालिका लघुवित्तको २०७६ पौष २३ गते पश्चात् शेयर खरिद गरेका शेयरधनीहरुले सो शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस शेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

बोनसमा तिर्नुपर्ने करको रकमको जानकारी प्राप्त गर्न आफूले प्राप्त गर्ने बोनस सेयरमा लाग्ने करको विवरण संस्थाको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट www.nmbcl.com.np मा गई हेर्न सकिनेछ ।

त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा सेयर रोक्का रहेका शेयरधनीहरूको बोनस शेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ । हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्