राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तका सञ्चालक निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति निलम्बन गरेको छ ।
बैंकले आइतवार सूचना जारी गर्दै उक्त सुपर लघुवित्तको सञ्चालक समितिलाई निलम्बन गरेको हो । लघुवित्तको सञ्चालक समितिका पदाधिकारीहरूले ऐन अनुसार संस्था सञ्चालन गर्न स्पष्ट आधार नदेखिएको भन्दै राष्ट्र बैंकले उक्त कम्पनीको सञ्चालक समिति निलम्बन गरेको हो ।
साथै संस्थाको व्यवस्थापन संचालनका लागि व्यवस्थापन समूह नियुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा लघुवित्तको संस्थापक तथा संचालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरेको लगायत अपराधजन्य कार्य गरेको पाइएको थियो ।
लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेको लगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ । साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ ।
