१४ बुँदे घोषणा पत्र पारित गर्दै सकियो प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन, के-के छन् घोषणापत्रमा ? « Arthapath.com
२ फाल्गुन २०७९, मंगलवार

१४ बुँदे घोषणा पत्र पारित गर्दै सकियो प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन, के-के छन् घोषणापत्रमा ?



काठमाडौं । प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै थप गरीब र विपन्न मैत्री बनाउने जीवनस्तर माथि उकास्ने अठोट सम्मेलन सम्पन्न भएको हो ।

प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न उक्त सम्मेलनले १४ बुँदे घोषणापत्र समेत पारित गरेको छ ।

घोषणा पत्रमा “घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य वनाऊ” भन्ने नाराका साथ अघि बढ्न हालका कमी कमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता वृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागु गर्ने उल्लेख छ ।

यस्तै, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने, सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने घोषणा पत्रमा उल्लेख छ ।

यसको साथै हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्यहरुसंग असल व्यवहार गर्ने, युवावर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यहरुलाई वित्तीय सेवाको अलावा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्ने लगायतका विषयहरु घोषणा पत्रमा समेटिएको छ ।

सम्मेलनलाई महिला, वालवालिका तथा जेष्ठ नागरीक मन्त्री भगवती चौधरीले सम्वोधन गरेका थिए । सो अवसरमा मन्त्री चौधरीले लघुवित्त गरिवी निवारणको लागि सेवा भावले शुरु भएको बताए । उनले लघुवित्त गरीबी निवारण विरुद्धको अभियान भएकोले यसवाट लक्षित बर्गका महिलाहरुले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्न सक्ने धारणा व्यक्त गरे ।

उनले लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि अतुलनीय भूमिका खेलेको र अझै यसलाई समाजिक रुपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

सोही अवसरमा संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको बताए । उनले लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राखेका थिए । लघुवित्त नै गरिबी निवारण र विपन्न बर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम रहेको उनको भनाई थियो ।

यस्तै, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरुले लघुवित्तको मुल्य मान्यता अनुरुप काम नगरी मुनाफा केन्द्रित भएको र सदस्यहरुको उन्नतीमा जोड नदिएको जानकारी गराएका थिए । नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा अहिले लघुवित्तमा विचलनहरु आएको उनको भनाई थियो ।

यता, नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले लघुवित्त संस्थाहरुमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताए । उनले भने,–‘पहिला लघुवित्तको संख्या आवश्यकता भन्दा वढी भएको कारण समस्या आएको थियो,आगामी दिनमा लघुवित्तलाई सही बाटोमा ल्याउन नीति निर्माण तहबाट कुनै कसर वाँकी राख्दैनौं ।’ लघुवित्तमा आवद्ध धेरै नै महिलाहरु उद्यमी बनेको उनको भनाई थियो । लघुवित्तले आफ्नो मर्म अनुसार लक्षित वर्ग समक्ष सेवा सुविधा प्रदान गर्दा सर्वसाधारणको जीवनमा परिवर्तन हुने उनको भनाई थियो ।

सम्मेलनमा तीन वटा विषयगत सत्र मार्फत लघुवित्तबाट महिला तथा विपन्न वर्गमा परेको प्रभाव, लघुवित्तको मर्म तथा वित्तीय साक्षारता एवं ग्राहक संरक्षण र नेपालमा लघुवित्तको महत्व र आवश्यकताबारे लगायतको विषयमा छलफल भएको थियो।
सम्मेलनमा लघुवित्त तथा वित्तीय क्षेत्रका विषयगत विज्ञ, अध्येता, महिला सदस्य र लघुवित्तकर्मीहरु सहभागी भएका थिए ।

सम्मेलनले १४ बुदे घोषणापत्र पारित गरेको हो । प्रदेश १ मा रहेका लघुवित्त वित्तीय संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाहरुको आयोजनामा सम्पन्न यस प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनमा करीब दुई दर्जन लघुवित्त तथा वित्तीय संस्थाका सदस्य, संञ्चालक तथा प्रमुख कार्यकारी, कर्मचारी, विज्ञ लगायत अन्य सरोकारवाला गरी ५ सय १५ जनाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्